|

  • रमेश रावल

कालीकोट : जिल्लाको पूर्वी क्षेत्रमा पर्ने दाहाँ गाविसलाई पर्यटकीय स्थल बनाउन यहाँका स्थानीय बासिन्दा लागिपरेका छन्। पर्यटनका पर्याप्त सम्भावना रहेर पनि
ओझेलमा परेको दाहाँ गाविसलाई पर्यटकीय गन्तव्य बनाउन यहाँका स्थानीय बासिन्दा लागेका छन् । 

पिलीमा युद्ध पर्यटन
२०६२ साउन २३ गते माओवादी र तत्कालीन शाही नेपाली सेनाको दोहोरो भिडन्तमा दाहाँस्थित पिली गाउँमा १ सय ३ जनाको मृत्यु भएको थियो। त्यही गाउँलाई युद्ध पर्यटनस्थल बनाउन सोच गाविस र यहाँका बासिन्दाले राखेका छन्।

कर्णाली राजमार्ग हुँदै जुम्ला र मुग घुम्न जाने पर्यटक पिलीमा गाडी रोकेर तत्कालीन समयमा माओवादी र शाही सेनाबीच भएको भिडन्तको सोधीखोजी गर्न थालेपछि स्थानीय बासिन्दाले पिलीलाई युद्ध पर्यटकीय स्थलको रूपमा विकास गर्न लागेका हुन्।

‘सशस्त्र द्वन्द्वताका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चामा रहेको पिलीलाई सबैमाझ चिनाउन पहल गर्दैछौं’, एमाले कालीकोट जिल्ला समितिका सह–सचिव कमलराज शाहीले भने, यहाँका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले पर्यटकीय गाउँको विकास गर्ने योजना बनेको छ।’ उनका अनुसार युद्धबाट बनेको भग्नावशेष र लडाइँमा प्रयोग भएका बंकरको संरक्षण गर्ने तयारी थालिएको छ।

पिलीस्थित कोपडाँडामा माओवादीद्वारा मारिएका १३ श्रमिक र ६२ सैनिक ७५ जनाको सम्झनामा सेनाले स्मारक समेत बनाएको छ। त्यतिबेला मारिएका माओवादीका २८ जनाको उल्लेख छैन। 

दुवै पक्षका कमाण्डरसहित युद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, प्रयोग भएका हतियार, उपकरण संकलन गरेर संग्रहालय बनाउने लगायतका योजना रहेको दाहाँ गाविसका सचिव शरणबहादुर बडुवालले बताए। उनले भने, ‘पिलीमा  मारिनेको तस्वीर, प्रयोग भएका हतियार र उपकरण संकलन गरेर संग्रहालय बनाउने लक्ष्य लिएका छौं।’
सपनाको गाउँ
दाहाँ–६, सेरालाई अहिले कर्णालीकै नमुना गाउँको रूपमा विकास गरेका छन्, यहाँका बासिन्दाले। भौलिक हिसाबले विकट रहे पनि अादर्श गाउँका रूपमा स्थापित हुने क्रममा छ। गाउँमा दलित समुदायको बाहुल्य छ। ७० घरधुरी रहेको सेरा गाउँलाई नमुनाका रूपमा चिनाउने विभिन्न आधार तय गरिएको छ।

‘गाउँले देखेको सुन्दर कल्पनाले हामीले सपनाको गाउँका रूपमा विकास गर्दैछौं', स्थानीय नरिमाने बिकले भने,‘हाम्रो यो सपनाको गाउँबाट अरुले पनि सिक्न सक्छन् ।’ सपनाको गाउँ बनाउन सबै जातजाति र समुदाय हातेमाले गरिरहेको उनले बताए।

गुमनाम तेसेली गुफा
दाहाँ र कालिका गाविसको सिमानामा तिला कर्णाली नदीको काखमा पर्ने तिसेली गुफा प्रचार–प्रसारको गुमनाममा परेको छ। 
जिल्लाकै ऐतिहासीक तथा पर्यटकीय हिसाबमा निकै महत्व बोकेको तीसेली गुफा जिल्ला सदमुकामबाट नजिकैको दुरीमा रहेर पनि सरकारी निकायहरुले चासो नदिँदा यो गुफाको प्रचार प्रसारका साथै विकास हुन सकेको छैन।

दाहाँ गाविसको मोल्फा बजारदेखि २० मिनेट पैदल हिडेपछि भेटिने तिला नदीको किनारमा रहेको यस गुफा स्थानीयका अनुसार यो गुफा ४५ मिटरभन्दा धेरै भित्रसम्म रहेको छ। पिलीमा भएको तत्कालिन माओवादी र शाही सेना बीचको लडाईको बेला केही माओवादी भागेर सुरक्षित स्थान खोज्दा त्यो गुफा फेला पारेको स्थानीय मनसिंह शाहीले बताए । 

गुफाभित्र भुइँमा शिवलिङ्गजस्तै आकार देखिन्छ। माथि गाईको जस्तै कल्चौडा र थुनबाट दूधको धारा जस्तै पानीका थोपा खसिरहेका हुन्छन्। यहाँ अन्य देवीवेवताका मूर्तिहरु रहेकाले यो गुफा धार्मिक आस्थाको केन्द्र बन्न सक्ने स्थानीय दमनराज शाहीले बताए। 

पर्यटक तान्न होमस्टे

दाहाँ गाबिस पिली–८ को सारुवाडा गाउँका सबै घरधुरीले होमस्टे सञ्चालनमा ल्याएका छन्। स्थानीय अन्नबालीका परिकार बनाइने यो होमस्टे सपना गाउँ र युद्ध पर्यटकीय स्थलका रूपमा विकास भएको पिलीलाई लक्षित गरी सञ्चालनमा ल्याएको स्थानीय राजबहादुर कार्कीले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.