|

धनुषा : पैसा असुल्नका लागि जनकपुरस्थित धनुषा अस्पतालले बच्चाको मृत्यु भइसकेपछि पनि तीन दिनसम्म उपचारको नाटक गरेको खुलेको छ। जनकपुरस्थित रेल्वे स्टेशन प्रहरी चौकी अगाडी रहेको धनुषा अस्पतालले यस्तो चरम लापरबाही गरेको हो। 

धनुषाकै सबैला नगरपालिका ठिल्लकी चन्द्रकला साहले बुधवार साँझ सो अस्पतालमा भर्ना भई बच्चा (छोरा) जन्माएकी थिइन्‌। तर अस्पतालले बच्चाको अवस्था ठीक नरहेको भनेर आइसीयुमा राखेको थियो। आइसीयुमा लगिएको बच्चाको मृत्यु भएपनि जीवितै रहेको जानकारी अस्पतालले दिएको थियो।  तर चन्द्रकलालाई भने दुई दिनसम्म बच्चा हेर्न दिएको थिएन। 

चन्द्रकलाले ​विहिबार र शुक्रबार पटक-पटक बच्चा हेर्न खोजेकी थिइन्‌ तर अस्पताल प्रशासनले हेर्नै नदिएपछि उनले बलजफ्ती गरेरै भएपनि हेर्ने प्रयास गरेकी थिइन्‌। त्यसपछि अस्पतालले टाढैबाट बच्चा हेर्न दिएको थियो। 

तर शनिबार फेरि अस्पतालले चन्द्रकलालाई बच्चा हेर्न दिएको थिएन। आइतबार डिस्चार्ज गर्ने भनिएको बच्चालाई अघिल्लो दिनसमेत हेर्न नदिएपछि चन्द्रकलाले झ्यालबाट लुकेर हेरेकी थिइन्‌। त्यतिखेरै उनले बच्चाको निधन पहिले नै भइसकेको थाहा लागेको बताएकी छिन्‌।

बच्चाको मृत शरीर देखेपछि चन्द्रकला रुन-चिच्याउन थालेपछि उनका श्रीमान्‌ विजय शाहले पनि घटनाबारे जानकारी पाएका थिए। मृत्यु भइसकेको बच्चालाई उपचारका नाममा तीन दिनसम्म आइसीयुमा राखेको पत्ता लागेपछि अस्पतालले आफ्नो गल्ती ढाकछोप गर्न खोजेको छ। अस्पताल प्रशासनले उपचारका लागि बच्चालाई आइसीयुमा राखिएको, तर आइतबार मात्रै ती बच्चाको मृत्यु भएको दावी गरेको छ।

बच्चाको मृत्यू भइसक्दा पनि अस्पतालले औषधी खरिद गर्न लगाएको पीडित परिवारको दावी छ। पीडित परिवारले बच्चाको शव बुझ्न अस्वीकार गरेका छन्। बुवा विजय साहले अस्पतालमाथि कारबाही र क्षतिपुर्ति माग गरेका छन्। पीडित परिवारले माग पूरा नभएसम्म बच्चाको लाश नबुझ्ने अडान लिएका छन्‌। 

अस्पतालका सहायक प्रमुख प्रमोद पण्डितले घटना कसरी घटेको भन्नेबारे अझैसम्म जानकारी दिन चाहेका छैनन्‌ यसबारे जानकारी लिन खोज्दा उनी बच्चा विभागका डाक्टर अभय मण्डलसँग बुझ्न भन्दै पन्छिएका छन्‌।

डाक्टर मण्डललाई फोन गरी घटनाबारे बुझ्न खोज्दा उनले केहि बोल्न मानेका छैनन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.