|

बैतडी : सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ —श्रीभावर—हाट—दार्चुला सडक निर्माण कार्य अझै सुरु हुन सकेको छैन। चालु आर्थिक वर्षमै निर्माण कार्य शुरु गर्ने गरेर बजेट विनियोजन भए पनि बल्ल निर्माण कम्पनीको छनोट भएको छ।

सतबाँझ श्रीभावर खण्डका ५ किलोमिटर र श्रीभावर हाट खण्डमा ८ किलोमिटर कालोपत्रेका लागि सम्झौताको तयारी भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए। उनले भने, 'तीन वर्षभित्र काम सक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता हुन लागेको हो।’

सतबाँझदेखि श्रीभावर खण्डमा १० करोडमा श्रीभावरदेखि हाट खण्डमा १४ करोडमा ठेक्का सम्झौता हुन लागेको हो। गत माघदेखि सो सडक कालोपत्रे गर्नका लागि प्रक्रिया शुरु भए पनि लकडाउन र अन्य कारणले काममा ढिलाइ भएको कार्यालय प्रमुख जोशीले बताए। उनले भने, ‘ठेक्का सम्झौता भएपछि यो महिनाको अन्तिमबाट काम शुरु हुन्छ।’

तत्कालीन जिल्ला विकास समितिले २०५५ सालमा ट्रयाक ओपन गरेको सतबाँझ श्रीभावर सडक दुई दशकपछि प्रदेश सरकारको गौरवको योजनामा परेको छ।

यो सडक निर्माण भएमा जिल्लाका तीन स्थानीय एकआपसमा सडक सञ्जालमा जोडिने छन् भने दार्चुलासँग पनि जोडिनेछ। अहिले सतबाँझदेखि सुर्नया गाउँपालिका-६ सम्म गाडी चल्ने गरेको छ भने श्रीभावरदेखि हाटसम्म पनि गाडी जान्‍छ।

यस्तै, पूर्वाधार विकास कार्यालय बैतडीमार्फत दार्चुलामा पनि प्रदेश गौरवको योजनाको रुपमा रहेको खलंगा—खार—पारीबगर—खण्डेश्वरी सडक निर्माण भइरहेको छ। त्यो सडकमा पनि अहिले १८ किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भइसकेको छ।

खलंगादेखि खार खण्डमा ९ किलोमिटर पारीबगरदेखि खण्डेश्वरी खण्डमा ९ किलोमिटर कालोपत्रेका लागि ठेक्का सम्झौता भएर काम अघि बढ्ने तयारी रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख जोशीको भनाइ छ । उनले भने, ‘यो सडकमा पनि ढिलो गरी नै काम शुरु भएको छ। गत माघदेखि मात्रै प्रदेशका गौरवका योजनामा प्रक्रियाको काम शुरु भएको हो।’ 

पाटन—पञ्चेश्वर सडकमा कालोपत्रे रोकियो

बैतडीको तल्लोसोराड जोड्ने मुख्य सडकको रुपमा रहेको पाटन —पञ्चेश्वर सडकमा कालोपत्रे गर्ने कार्य रोकिएको छ। कालोपत्रे गर्ने समयमा लकडाउन भएका कारण स्याडीगाडदेखि लामालेक सम्मको कालोपत्रे गर्ने कार्य रोकिएको निर्माण कम्पनीले जनाएको छ।

पाटन —पञ्चेश्वर सडक कालोपत्रे गरिरहेको सीएबी जेभी ग्वाल्लेकका प्रबन्ध निर्देशक सुरेश चन्दले कालोपत्रे गर्ने समयमा लकडाउन भएका कारण कालोपत्रेको काम अघि बढ्न नसकेको बताए। चैतदेखि जेठ महिना सम्म कालोपत्रेका लागि उपयुक्त समय भए पनि त्यो समयमा लकडाउनका कारण काम गर्न नपाएको हो। उनले भने, ‘लकडाउनकै कारण सडकमा काम गरिरहेका कामदारहरुलाई फिर्ता पठाउनुपर्‍यो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.