|

म्याग्दी : जिल्लाको रघुगंगा गाउँपालिका–२, पखटोलमा विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर घर-आँगन र चौतारीमा  पठनपाठनको व्‍यवस्था मिलाइएको छ।

विद्यालय लामो समय बन्द भएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएकाले गाउँपालिकाले वैकल्पिक शिक्षाअन्तर्गगत स्थानीय शिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सघाउने स्वंयमसेवकसमेत खटिएका छन्। बाहिर जिल्लाबाट भने शिक्षकलाई गाउँमा प्रवेश दिइएको छैन।

गाउँपालिकाले सुरू गरेको घुम्ती शिक्षाले सदरमुकाम बेनी र गाउँकै निजी विद्यालयमा पढ्ने विद्यार्थीसमेत लाभान्वित भएको प्रधानाध्यापक तोरणबहादुर श्रेष्ठले बताए।

विद्यालयको सेवा क्षेत्रभित्र राममन्दिर, रानीचौतारी, खहरेखोला, सिरसिरे डाँडो, ढिकुरमुनी गरी पाँचवटा टोलमा शिक्षक खटाएको छ।

पायक पर्ने स्थानमा नियमित पठनपाठन

त्यस्तै, वडा नं ४ दग्नामको जनता माविका प्रधानाध्यापक गुन पुनले पायक पर्ने ठाउँमा नियमित पठनपाठन सुरू गरेको बताए। ‘टोल–टोलका पढाइ सुरु गरेपछि उत्साह थपिएको छ,‘कोरोनाको जोखिमका बारेसमेत विद्यार्थीलाई जानकारी गराउँछौँ’ प्रअ पुनले भने।

चैत महिनामा वार्षिक परीक्षा सकिएलगत्तै सरकारले गरेको लकडाउनका कारण समस्यामा रहेका विद्यार्थीलाई गाउँपालिकाले हरेक विद्यालयमार्फत समुदायमै पुगेर बैकल्पिक शिक्षा सञ्चालनको वातावरण बनाएको गाउँपालिकाका प्रमुख प्रशासाकीय अधिकृत अमृत सुबेदीले बताए।

टोल–टोलमा कक्षा

हरेक दिन विद्यालय समयमा विद्यार्थी टोलको घुम्ती कक्षामा पुग्छन्। नियमित हाजिर गरेलगत्तै पाठ्याक्रममा प्रवेश गर्छन्। लामो समय पठनपाठन बन्द हुँदा विद्यार्थीको पढ्ने रुचि घट्ने भन्दै विद्यालयले अभिभावकलाई समेत सहमतिमा ल्याएर टोल–टोलमा कक्षा सुरु गरिएको प्रधानाध्यापक दिवाकर सुबेदीले बताए।

 ‘विद्यार्थीको उत्साहजनक उपस्थिति छ, सेवा क्षेत्रमै हाजिर गछौं’ सुवेदीले भने।

विद्यार्थी उत्साहित

घर आसपासका क्षेत्रमै विद्यालयको कक्षा सञ्चालन हुन थालेपछि विद्यार्थीसमेत उत्साहित भएका छन्। ‘पढाईको चिन्ता थियो, सरहरूले नियमित कक्षा सञ्चालन गरेपछि सहज भएको छ’ कक्षा ९ मा अध्ययनरत निस्कोट छिसका जितेन्द्र पुनले भने।

नेपला सरकारले तयार गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका–२०७७ बमोजिम’ विद्यार्थीको निगरानी गरेर सदरमुकाम बेनीसहित ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयले विस्तारै कार्ययोजनासहित पठनपाठन सुरु गर्न थालेका छन्।

चौतारी, घर-आँगनमा गलेश्वर माविको कक्षा

बेनी नगरपालिका–९, स्यालीखेतको चौतारीमा लस्करै प्लाष्टिकको कुर्सीमा विद्यार्थी बसेका छन्। विद्यार्थीलाई शिक्षकले कोरोनाबाट जोगिने उपायहरूका बारेमा जानकारी गराएपछि किताब निकालेर नियमित पठनपाठन सुरू गर्छन्। नयाँ पुस्तक, कापी– कलम लिएर तोकिएको स्थानमा पुग्ने विद्यार्थीले कुर्सी, गुन्द्रीमा बसेर पढ्ने गरेका छन्।

‘हामीले टोल–टोलमा पुगेर विद्यार्थीलाई सिकाइमा प्रोत्साहन गरिरहेका छौँ,‘पायक गर्ने ठाउँलाई केन्द्र बनाएपछि सहज भएको छ’ विद्यालयका प्रधानाध्यापक गणेश बानियाँले भने। विशेष गरी गणित, विज्ञान र अंग्रेजी विषयमा टिभी, रेडियो हेरेर पढ्नसमेत अनुरोध गरिएको शिक्षक मुकुन्द रेग्मीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.