कार्यकर्ता ओली र प्रचण्ड समूहमा विभाजित

|

काठमाडौं : यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा शक्ति संघर्ष चुलिएको छ। केही समययता पार्टीको समीकरणमै उथलपुथल आएको छ। पछिल्लो संकट एकता यताकै सबैभन्दा ठूलो मानिएको छ। 

सैद्धान्तिक भन्दा शक्तिका लागि भएको यो संघर्षले अझै पूर्णविराम लिने छाँट देखिएको छैन। विवाद समाधानकै लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक पटक वार्ता पनि भइरहेका छन्। त्यससँगै दोस्रो पुस्ताका नेताहरू पनि पार्टी फुट्न नदिन दौड धुपमा छन्। ठोस सहमति नभएसम्म नेकपा फुट्ने खतरा र मिल्ने सम्भावनाबारे चिया पसलदेखि चौतारोसम्ममा चर्चा भइरहेको छ।

नेकपाको मनमुटाव स्थानीय तहमा

नेकपाको नेतृत्वमा देखिएको मनमुटाव तल्लो तहमा पनि बढ्न थालेको छ। यसको पुष्टि गर्ने बलियो आधार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पक्षधरबीच कैलालीमा भएको झडप हो। 

ओली पक्षधरहरुले आज दिउँसो कैलालीको लम्किचुहा नगरपालिकाको लम्कीमा र्‍पालीसहित कोणसभा गरेका थिए। त्यसक्रममा सहभागी नेता कार्यकर्ताले एकले अर्को पक्षलाई दोषारोपण गर्दै भाषण गर्न थालेपछि दुई पक्षबीच विवाद हात हालाहालसम्म पुगेको हो। 

नेपालनिकट युवा संघकी केन्द्रीय सदस्य बबिता पाण्डेका अनुसार ओली पक्षले, ‘हामीलाई प्रचण्डको एकएक हर्कत थाहा छ’ भन्दै भाषण गरेपछि विवाद सुरु भएको थियो। 

त्यही बेला प्रचण्ड पक्षधरहरु एकाएक आएर आक्रमण गरेपछि स्थिति तनावग्रस्त भएको उनी बताउँछिन्। दुईतिहाइको सरकारलाई आफ्नै साथीहरुले ढलाउन खोजेको भन्दै आक्रोश पोखिरहेका बेला प्रचण्डनिकट केही युवाहरु खड्कामाथि खनिएका थिए। 

‘महामारीका बेला पनि सडकमा उत्रिएर नाराबाजी गर्ने, नानाथरी बोल्ने काम राम्रो नभएको बताउँदै ओली पक्षहरुले निहुँ खोजे’, उनले भनिन्, ‘शीर्ष नेताहरु सहमति जुटाउन लागेका छन्, स्थायी कमिटी बैठक पनि सारिएको छ। यो महामारीमा बिना काम सडकमा मान्छे लिएर अराजकता प्रदर्शन गर्नु राम्रो होइन।’

र्या‍ली कोणसभामा परिणत भएपछि कार्यक्रमका प्रमुख वक्ता सम थापाले बोलिसक्दा झडपको अवस्था बनेको हो। प्रदर्शनकारीहरूले नेकपा कैलालीकै सचिव लालबहादुर सोडारी दर्शन र लम्की चुहा नगरपालिकाका मेयर महादेव बजागइँको निर्देशनमा आक्रमण भएको आरोप लगाएका छन्। झडपमा नेकपा जिल्ला कमिटी सदस्य रतन सुनारसहित संलग्न रहेको प्रत्यक्षदर्शीले बताएका छन्। 

केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दबाब दिएपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ। 
सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा ओलीको फोटोसहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी युवाहरुको सहभागितामा लम्की चौराहामा प्रदर्शन गरेका थिए। 
यता ओली पक्षका नेताहरुले भने सुनियोजित रुपमा आफुहरुमाथि आक्रमण गरेको आरोप लगाएका छन्। ओली निकट युवा संघ नगर कमिटी अध्यक्ष सन्तोष ओलीले आफूहरुलाई पहिले नै कार्यक्रम नगर्न चेतावनी दिएको समूहले एकाएक कार्यक्रम आक्रमण गरेको बताए। 
उनले आफुहरु सरकारका पक्षमा उभिएपछि आक्रमणमा नै उत्रिएको बताए। यता प्रहरीले भने झडप नै नभएको बताएको छ। ईलाका प्रहरी कार्यलय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले सामान्य भनाभन भए पनि हात हालाहाल नभएको बताए। उनले भने, ‘केही युवाहरुले कार्यक्रम गरिरहेका थिए, त्यसमा भनाभन हँुदै गर्दा प्रहरी गएर छुटाएको हो झडप भएको होइन।

नेकपाको कार्यकर्ता हुँ भन्न लाज?

पार्टीको विवाद स्थानीयतहमा समेत परेपछि कार्यकर्ताले यतिबेला सहमति खोज्न र विवाद समाधान गर्न आग्रह गरिरहेका छन्। केहीले भने एक अर्कालाई कटाक्ष गर्दै विवाद गरिरहेका छन्। 

युवा संघ नेपालकी केन्द्रीय सदस्य तथा नेकपा लम्की चुहा नगर कमिटी सदस्य पाण्डेले आफूलाई नेकपाको कार्यकर्ता भन्न लाज लागेको बताइन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्,  ‘देश बनाउने र सत्ता चलाउने नेतादेखि कार्यकर्ता विभाजित भएपछि कसको के नै लाग्छ? आज लम्की चोकमा भएको भाडभैलो कत्तिको जायज छ? के हुँदै छ हाम्रो नेकपा र सत्ताभित्र? नेकपाको कार्यकर्ता हुँ भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो।’

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.