|

बैतडी : बैतडीमा कोरोना संक्रमितमध्ये अधिकांशलाई डिस्चार्ज भएका छन्।  जिल्लामा  २ सय ८२ जनामा कोरोना पुष्टि हुँदा ७९ जना मात्रै स्थानीय तहले बनाएका क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका छन्।  

बाँकी २०३ जना संक्रमितलाई डिस्चार्ज गरिएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।  डिस्चार्ज गरिनेमा अधिकांश  कोरोनाको पुनः परीक्षण नगरिएका रहेका छन्।  

जिल्लाको पञ्चेश्वरमा सबैभन्दा बढी ५० जना संक्रमित रहेको पञ्चेश्वर गाउँपालिकामा ४२ जना आइसोलेसनमा रहेका बाँकी ८ जना घरमै रहेका छन्।  शिवनाथ गाउँपालिकाका ४८ जनामा कोरोना पुष्टि भएकोमा सबै घरमै रहेका स्वास्थ्य कार्यालयले जनाएको छ।  दोगडाकेदार गाउँपालिकामा पनि ४३ जनामा कोरोना पुष्टि हुँदा सबैलाई यसअघि नै होम आइसोलेसनमा पठाइसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए।  

उनले भने ‘कोरोना पुष्टि भएपनि भारतबाट फर्किएर १ महिनासम्म पनि क्वारेन्टाइनमा बस्दा समेत केही लक्षण नदेखिएपछि होम आइसोलेसनमा बस्ने सर्तसहित घरमा पठाईएको हो।’ 
यस्तै सिगास गाउँपालिकामा ३९ जनामा कोरोना पुष्टि भएकोमा २१ जना आइसोलेसनमा रहेका छन् भने १८ जना होम आइसोलेसनमा पठाईएको छ।  ३४ जनामा कोरोना देखिएको दशरथचन्द नगरपालिकामा १ जना मात्रै आइसोलेसनमा रहेका छन् भने अन्य ३३ जना होम आइसोलेसनमा रहेका जनाइएको छ।  

मेलौली नगरपालिकामा २७ जनामा कोरोना पुष्टि भएकोमा २४ जनालाई होम आइसोलेसनमा पठाईएको छ।  सुर्नया गाउँपालिकामा १४ जनामा संक्रमण देखिएकोमा सबैलाई घर पठाईएको जनाइएको छ।  पाटन नगरपालिकामा १२ जनामा कोरोना पुष्टि हुँदा ५ जना घरमा रहेका छन् भने ७ जना आइसोलेसनमा रहेका छन्।  यसका साथै पुर्चौडी नगरपालिकामा ८ संक्रमितमध्ये १ जना मात्रै आइसोलेसनमा रहेका छन्।  डिलाशैनी गाउँपालिका ७ जनामा कोरोना पुष्टि भएको उनीहरु पनि सबै होम आइसोलेसनमा रहेका जनाइएको छ।  लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रमुख भट्टको भनाइ छ। 

पुनः परिक्षण नगरिएका संक्रमितले होम आइसोलेसनमा नबसि गाउँघरमा डुल्ने सामूहिक कार्यमा सहभागी हुने भएकाले संक्रमणको जोखिम बढेको दोगडाकेदार गाउँपालिकाका नरेन्द्र विष्टले बताए। संक्रमितहरु गाउँघरमा जथाभावी गाउँमा डुल्ने गरेका छन् उहाँले भने‘गाउँमा सामूहिक कार्यमा समेत सहभागी हुने गरेकाले संक्रमणको जोखिम बढेको छ।  ’  
जिल्लामा कोरोना संक्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका छन्।  बैतडीमा हालसम्म ११ हजार २४५ जनाको आरडिटी परिक्षण गरिएको छ भने १ हजार ४ सय ९२ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ।  जसमध्ये आरडिटी पोजेटिभ आएका १ हजार ८ सय ६९ जनामध्ये १ हजार ४ सय ४९ जनाको मात्रै रिपोर्ट आएको छ भने बाँकीको रिपोर्ट आउँन बाँकी रहेको छ। 

जिल्लामा जेठ ९ गते  पहिलोपटक कोरोना संक्रमणको पुष्टि भएको  थियो। पहिलो संक्रमितले  जेठ २१ गते १३ औं दिनमा जिल्ला अस्पतालबाट कोरोना जितेर डिस्चार्ज भएका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.