|

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले आज ७४औं जन्मदिन मनाउँदैछन्। शाहको जन्म वि.सं. २००४ असार २३ गते पूरानो नारायणहिटी राजदबारमा भएको थियो।

जन्मदिनका अवसरमा शाहलाई राजतन्त्र समर्थकदेखि सर्वसाधारणले बधाई एवम्‌ शुभकामना दिएका छन्‌।

दुईपटक राजा

नेपालको इतिहासमा शाहले दुईपटक राजगद्दी सम्हालेका थिए। राणाविरोधी आन्दोलनका क्रममा उनका हजुरबुवा त्रिभुवन, बुवा महेन्द्र र दाजु बिरेन्द्रलगायत परिवारका अधिकांश सदस्य भारतमा शरण लिएपछि वि.सं. २००७ कार्तिक २२ गतेदेखि पुस २३ गतेसम्म उनी पहिलोपटक राजा भएका थिए। 

माइला छोरा राजा हुने राजपरम्परा नभएपनि ज्योतिषहरुको ठहरका कारण उनी राजा बन्ने संयोग मिलेको थियो। राजपुरोहितहरुले पिता महेन्द्रलाई नवजात शिशुसँग रहँदा नराम्रो हुने भनेपछि उनी मामाघरमा हुर्किएका थिए। 

२०५८ जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्र फेरि राजा बनेका थिए।

शाही 'कु' र गणतन्त्र

माओवादी द्वन्द्व र राजनीतिक अस्थिरता थप जटिल हुँदै गएपछि शाहले २०६१ माघ १९ गते संसद भङ्ग गरी प्रत्यक्ष शासन लागु गरे। तर त्यसपछि पनि युद्ध र आन्दोलन रोकिएन।

दलीय असन्तुष्टि र माओवादी विद्रोहले जनआन्दोलनको रुप लिएपछि नेपालमा राजतन्त्र अन्त्य भएको थियो । २०६३ मै उनले राजकाज छाडेपनि २०६५ जेठ १५ गतेसम्म राजाकै हैसियतमा नारायणहिटी राजदरबारमा बसेका थिए।

संविधानसभाबाट गणतन्त्र घोषणा भएपछि उनी नारायणहिटी राजदरबार छाडेर नागार्जुन दरबारमा सरेका थिए। हाल उनी पत्नी कोमलसहित सोही दरबारमा बस्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.