काठमाडौं : चिनियाँ राजदूत होउ यान्छी र नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। आज विहान खनाललाई भेट्न राजदूत यान्छी डल्लुस्थित निवासमा पुगेकी थिइन्।
नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूतको सक्रियता बढेको छ। चिनियाँ राजदूत होउ याङ्छीले आइतबार मात्रै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी थिइन्।
त्यस्तै गत वैशाख तेस्रो हप्ता सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा पनि चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी थिइन्। त्यतिबेलै विभाजनको संघारमा पुगेको नेकपाभित्र मेलमिलाप भएको थियो।
राजदूत होउकै सक्रियताका कारण नेकपाको विभाजन टरेको त्यतिबेलै टिप्पणी भएको थियो । नेकपाका नेताहरुले यसलाई स्वीकारेका त छैनन् तर पार्टी फुटिसकेको थियो भनेर सार्वजनिक रुपमै बोलेका छन्।
अहिले नेकपा ठीक त्यस्तै अर्थात विभाजनको संघारमा रहेका बेला चिनियाँ राजदूत होउ सक्रिय भएकी हुन्। चिनियाँ राजदूत होउको सक्रियताका बारेमा आलोचना हुन थालेको छ।
राप्रपाका अध्यक्ष कमल थापाले रिमोटले चलेको गणतन्त्र भनेर ट्वीट गरेका छन्। यस्तै कांग्रेसका नेताले पनि विदेशी हस्तक्षेप बढेको भन्दै आलोचना गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।