|

म्याग्दी  ः  अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन्।

गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको  बेनी–जोमसोम–कोरला सडक खण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ। साेमबार रातिदेखिको अविरल वर्षाका कारण उत्तरी म्याग्दी हुँदै मुस्ताङ जोड्ने सडक खण्डको अन्नपूर्ण गाउँपालिका २ तातोपानीको नागढुंगा, दानाको ढुवारी खोला, गुइँठे र हिस्तानको महभीरमा सडक अवरुद्ध भएको म्याग्दी प्रहरीले जनाएको छ।

लगातार वर्षा, भिरालो जमिन र कमजोर भूबनोटका कारण सडक माथिबाट ढुंगामाटो सहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए। सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ।

वर्षा नरोकिएसम्म अवरुद्ध सडक संचालन गर्न नसकिने शेरचन बताउँछन्। मुस्ताङलाई  राष्टिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्ड अन्तर्गत सवैभन्दा  जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्मको भागलाई मानिएको छ। वर्षाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नु  पर्ने बध्यता रहेको छ। 

बेनी–दरबाङ सडक बन्द

यसैबीच बेनी–दरबाङ सडक खण्ड अन्तर्गत एक दर्जन भन्दा बढि ठाउँमा हिलो,बाढि र ठाडो खोलाका कारण सडक अवरुद्ध हुँदा यातायातका साधनहरु विच बाटोमा नै अलपत्र परेका छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले वर्षासँगै सडक अवरुद्ध भएकाले पैदल र सवारीसाधन आवतजावतमा ठूलो जोखिम रहेकाले सर्तकता अपनाउन अनुरोध गरेका छन्। वर्षासँगै जिल्लाका अधिकांश ग्रामिण सडकहरु अवरुद्ध भएका छन्। 

 मालढुङ्गा–बेनी सडक अवरुद्ध : ट्रकमा क्षति 

म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक पनि मंगलवार रातिदेखि अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको अविरल वर्षका कारण पर्वतको जलजला गाउँपालिका ४ वारी वेनीमा झरेको ढुंगा सहितको लेदाेले मालबाहक ट्रकलाई क्षति पुर्या‍एको वारीवेनी प्रहरी चौकीले जनाएको छ।

सडक खण्ड अन्र्तगत जलजलादेखि मालढुंगासम्मका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको भए पनि वर्षा भैरहेकाले समस्या भएको प्रहरीको भनाइ छ । वर्षासँगै आएको बाढीले पर्वत बेनीको खानेपानीको पाइपमा समेत क्षति पुर्याएको छ।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधन पर्वत बेनीमा नै अलपत्र परेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.