|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्‍न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार अबेरसम्म बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशनको मिति २०७७ फागुन ७ नै रहने गरी तल्लो तहको अधिवेशनको कार्यतालिका परिमार्जन गरेर तालिका सार्वजनिक गरेको हो।

गत असार १४ को पदाधिकारी बैठकले तयार पारेको अधिवेशनको कार्यतालिका संसोधन प्रस्तावलाई सोमबारको बैठकले अनुमोदन गरेसँगै नयाँ मिति तय भएको हो।  
 
बैठकले २०७७ फागुन ७, ८, ९ र १० गते पूर्वनिर्धारित चौधौं महाधिवेशन गर्ने निर्णय गरेको छ। ‘चौधौं महाधिवेशन फागुनको ७ गतेदेखि १० गतेसम्म हुने र समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन साउन १० गतेभित्र सक्ने निर्णय भएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले थाहाखबरसँग भने, ‘क्रियाशिल सदस्यता वितरण र नवीकरणको काम असार २५ गतेबाट सुरु गरेर साउन मसान्तमा सक्ने भन्ने निर्णय भएको छ।’ 

पौडेलले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी भदौ मसान्तभित्रमा केन्द्रमा पठाउने निर्णय भएको पनि जानकारी दिए। नयाँ क्रियाशील सदस्यता वितरणको सम्बन्धमा छानविन उजुरी समितिमा उजुरी र नवीकरणको विषयमा उजुरी असोज १५ गतेसम्म दिन सकिने कांग्रेसले जनाएको छ। 

त्यसरी परेको उजुरी उपर असोज मसान्तभित्र केन्द्रीय छानविन गरेर निर्णय सार्वजनिक गरिसक्नुपर्ने पौडेलले बताए। उक्त निर्णयमा पनि चित्त नबुझे कात्तिक मसान्तभित्र क्रियाशिल सदस्यता प्रारम्भिक छानविन समितिलाई निवेदन दिने र सदस्यता नवीकरणको साथै नयाँ क्रियाशिल सदस्यताको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले मंसिर २५ भित्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय कांग्रेसले गरेको छ। सभापति देउवाले सदस्यताको नामावली प्रमाणित मंसिर मसान्त भित्र गरिसक्नु पर्नेछ। देउवाले अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउने अवधि मंसिर मसान्त तोकिएको छ। 

यस्तो छ तल्लो तहको निर्वाचन तालिका 

साेमबार बसेकाे बैठकले​​ संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएको बिषयलाई बैठकले गम्भीरतापूर्वक लिएको जनाएकाे छ। 'संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएको बिषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ । संसदमा विभिन्न महत्वपूर्ण विधेयक र प्रस्तावहरू विचाराधीन रहेको तथ्यलाई नजरअन्दाज गरि, संसदको चालू बैठक आह्वान र अन्त्य गर्ने निश्चित पद्धति र परम्परा उल्लंघन गरेर अधिवेशन स्थगित गरिनु अत्यन्त आपत्तिजनक छ,' कांग्रेसको बैठककाे निर्णयमा भनिएकाे छ।

त्यस्तै नेकपाको विवादमा कांग्रेस निरपेक्ष रहेकाे पनि कांग्रेसले जनाएकाे छ। 'सत्तारूढ दल नेकपाको आन्तरिक जीवनमा उत्पन्न द्वन्द्वसँग नेपाली कांग्रेस निरपेक्ष रहेको छ । गत निर्वाचनमा नेपाली जनताले दिएको म्यान्डेट बमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध छ । सत्ता द्वन्द संग नेपाली कांग्रेसलाई जोडेर गरिएका प्रचारहरुलाई यो बैठक सम्पूर्ण रुपले खारेज गर्दछ' कांग्रेसको निर्णयमा उल्लेख छ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले किसानलाई तत्काल मल, बीउ उपलब्ध गराउन र कृषकलाई राहत प्याकेजको व्यवस्था गर्न पनि सरकारसँग माग गरेकाे छ। कांग्रेसले वर्षाको समयमा हरेक बर्ष झैँ यो बर्ष पनि बाढी पहिरोको घटना विकराल बन्न सक्ने स्थिति दृष्टिगत गर्दै   विपत व्यवस्थापनको उच्च स्तरीय तयारी प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराएको छ। 

कांग्रेसले राजधानी लगायत देशका विभिन्न ठाउँमा आन्दाेलनरत पत्रकार, नागरिकहरूको माग सम्बाेधन गर्न पनि सरकारलाई भनेकाे छ।  नेपाली कांग्रेसले बनाएको अनुगमन समितिले गरेको प्रारम्भिक अनुगमनबाट प्राप्त सूचना र अनुभवबाट पनि सरकार बढ्दो काेराेनाकाे समक्रमणप्रति संवेदनशील हुन नसकेको र आगामी दिनमा सरकारी प्रक्षेपणका आधारमा पनि संक्रमण भयावह हुन सक्ने स्थिति देखिएकाे भएपनि सरकार यो परिस्थिति सामना गर्न आवश्यक तयारीप्रति गम्भीर नभएकाे जनाएकाे छ। सरकारले व्यवसायी, विदेशमा रहेका नागरिक, मजदुरकाे समस्या सम्बाेधन गर्न नसकेकाे कांग्रेसको ठहर छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.