नेताहरू भन्छन् : राजदूतले भेट्दैमा आकाश नै खस्दैन

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किरहेको छ। पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको टकरावले पार्टी विभाजनको अवस्थामा पुगेको छ। यस्तो अवस्थामा नेताहरूबीच निरन्तर संवाद पनि जारी छ। 

पार्टीभित्रको विवाद समाधान गर्नमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमतिका प्रयास भइरहेका छन्। तर, अझै गाँठो फुक्न सकेको छैन। नेकपाभित्रको विवादले पार्टी विभाजनको सँघारसम्म पुगेको अवस्थामा विवाद मिलाउनका लागि चिनियाँ राजदूत राजदूत होउ यान्छी यतिबेला सक्रिय भएकी छन्। यसअघि पनि नेकपाभित्रको विवाद मिलाउन राजदूत यान्छी सक्रिय भएर लागेकी थिइन्।

प्रधानमन्त्री ओलीको असार १४ गतेको नेपाल भारत सीमा समस्यालाई लिएर सरकार ढलाउने खेल भइरहेको छ भन्‍ने अभिव्यक्तिले नेकपाको विवाद चर्किएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि रुष्ट भइरहेका अध्यक्ष दाहालसहितका नेतासँग परामर्शबिना संसदको चालु अधिवेशन अन्त्य गरेपछि विवाद थप बढ्न पुग्यो।

यहीबीच प्रधानमन्त्री ओलीको अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायतका सचिवालय ६ सहित ३० स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा दिनुपर्ने अडानमा छन्। यही विवादलाई लिएर असार १० बाट सुरु भएको स्थायी कमिटीको बैठक समेत बस्न सकिरहेको छैन। 

दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेको भएपछि प्रधानमन्त्री ओली आफ्ना अडानबाट टसमस भएका छैनन्। प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल पक्षले आआफ्नो अडान नछोड्दा अझै सहमति जुट्न सकेको छैन।

विवादमा सक्रिय चिनियाँ राजदूत 

नेकपा भित्रको विवाद चर्किरहेको बेलामा चिनियाँ राजदुतले मंगलबार बिहान राजदूत यान्छीले वरिष्ठ नेता झलनाथ खनाललाई भेटवार्ता गरेकी छन्। 

तर, नेता खनालले राजदूत यान्छीसँग पार्टीभित्रको विवादको बिषयमा छलफल नभएको जिकिर गरे। ‘भेटवार्ताका क्रममा हामीले दुई देशको सम्बन्ध र अन्य समसामयिक बिषयमा छलफल गरेका हौँ’, उनले भने, ‘तर पार्टीभित्रको विवादको बिषयमा छलफल गरेका होइनौँ।’ पार्टीभित्रको विवाद राजदूत यान्छीसँग सम्बन्धित नभएको उनले तर्क गरे।

यस्तै, राजदूत यान्छीले आइतबार पनि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी थिइन्। स्रोतका अनुसार राजदूत यान्छीसँग नेताहरु नेकपाभित्रको विवादको बिषयमा छलफल गरे पनि नेताहरुले अस्वीकार गर्दै आएका छन्। 

नेताहरुको फरक धारणा

कुनै देशको राजदुतले नेताहरुलाई भेट्नासाथ आकाशै खस्‍न लागे झैँ प्रचार गर्नु आफ्नै कमजोरीको उपज भएको नेकपा विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन्। 

‘कुनै देशको राजदूतले नेताहरूलाई भेट्नासाथ आकाशै खस्न लागे जसरी प्रचारमा उत्रिनु आफैंमा कमजोर मानसिकताको उपज हो’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भेटमा के कुराकानी भयो भन्ने थाहा नपाएरै टिप्पणी गर्ने, कोट दिने र चर्चा गर्ने ‘विज्ञ’ हरूभन्दा मुलुक चलाउने नेताहरूलाई कूटनीति र राजनीतिका बारेमा राम्रोसँग थाहा छ । उपदेश नदिएकै राम्रो’

तर, नेकपा केन्द्रीय सदस्य तथा राष्टिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’  चिनियाँ राजदूतको सक्रियतालाई लिएर आन्तरिक मामलामा चासो नदिएकै जाति हुने तर्क गर्छन्।

‘भारतीय राजदुतले गर्ने नेताको घरदैलो जति मन पर्दैन उति नै चिनियाँ राजदुतले गर्ने घरदैलो पनि मन पर्दैन। हाम्रो आन्तरिक मामलामा चासो नदिएकै जाति’ उनले लेखेका छन्। 

यस्तै,  नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक मामिलामा हुने बाह्‍य शक्तिद्वारा षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएका थिए। उनले सोमबार दिउँसो एक ट्‍विट गर्दै उनले आन्तरिक विषयमा विदेशी हस्तक्षेप स्वीकार्य नहुने जिकिर गरेका थिए। 

‘नेपालको गतिशील आन्तरिक राजनीतिक र घटनाक्रममा वैदेशिक शक्तिद्वारा गरिएको हरेक षडयन्त्रको हामी खण्डन गर्दछौं, उनले भनेका थिए। 

राजदूतको सक्रियता अर्थपूर्ण

नेकपामा विवाद चुलिएका बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघिको बैशाख ८ गते प्रधानमन्त्री ओलीले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा राजदूतको सक्रियतामा विवाद समाधान भएको थियो।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको ओली विरोधी मोर्चा बनिरहेको बेलामा राजदूत यान्छीको सक्रियतामा नै समाधान भएको थियो। राजदूत यान्छीले त्यस बेला पनि प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र नेता नेपालसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी थिइन्। 

यद्यपि, राजदूत यान्छीको सक्रियतालाई लिएर राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समेत टिप्पणी गरेका छन्। ‘प्रम ओली भन्‍नुहुन्छ सरकार गिराउन भारतीय राजदूत सक्रिय भए। अर्कोतर्फ चिनिया राजदूत सरकार बचाउन नेताहरुको घर पुग्छिन्। के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ? राष्ट्रियता जोगाउन सक्छ?’ उनले भनेका छन्, ‘स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.