२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा थालेका थिए

|

काठमाडौं :  नेपाल प्रहरीका २८ औं प्रहरी महानिरीक्षक नियुक्त रुपमा शैलेस थापा क्षेत्री नियुक्त भएका छन्।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

महानिरीक्षक ठाकुर ज्ञवालीको बुधबार (असार २४) गते कार्यकाल सकिँदै छ। सोही कारण आजै सरकारले नयाँ आईजी नियुक्त गरेको हो। आईजीपी ज्ञवालीले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्।

नेपाल प्रहरीमा तारिणी लम्साल, शैलेस थापा क्षत्री र हरिबहादुर पाल अतिरिक्त महानिरीक्षक (एआईजी) थिए। तीनमध्ये लम्सालले पनि सेवा हदका कारण असार २४ मा अनिवार्य अवकाश पाउने भएपछि क्षेत्री र पालमध्येबाट एकजना महानिरीक्षक बन्ने बाटो खुलेको थियो। थापा पाल पन्छ्याउदै करिब ८० हजार प्रहरी संगठनको जिम्मेवारी बहन गर्न आइपुगेका हुन्।

को हुन् थापा

वि.स २०२५  मंसिर २३ मा भक्तपुरको कटुन्जेमा जन्मिएका थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा बोस्निया हर्जगोभिया, पूर्वी तमोर र डार्फर सुडानमा पनि काम गरेको अनुभव थापासँग रहेको छ। इन्स्पेक्टर हुँदा उनले सिन्धुपाल्चोक, सल्यान र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काम गरेका थिए।

उनी डीएसपीदेखि एआइजीसम्म नै एक नम्बरमा रहँदै आएका छन्। उनी प्रहरी नायव उपरिक्षक (डिएसपी) मा बढुवा भएपछि धादिङ र प्रहरी प्रशिक्षण  प्रतिष्ठानमा काम गरेका थिए। एसपी हुँदा उनी कास्की, झापा पुगेका थिए।

एसएसपी हुँदा महानगरीय  प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए भने नेपाल प्रहरीको प्रवक्ताको रुपमा कार्यरत थिए। २०७६ फागुन १५ गते क्रमशः  दोस्रो नम्बरमा एआइजी बढुवा भएका उनी प्रहरीको तालिम तथा नीति निर्माणको तहमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारीको रुपमा थापा मानिन्छन्।

 प्रहरी सेवाको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी) मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारीका रूपमा हेरिन्छन्।

 नीतिगत निर्णय गर्न रुचाउने थापा शिष्ट, शालीन प्रहरी अधिकारीको पहिचान बनाएका व्यक्तित्व हुन्। एआइजी बढुवामा एक नम्बर रहेका थापासँग फिल्डमा कम काम गरेको, कमाण्ड कन्ट्रोलमा कमजोर क्षमता नभएको जस्ता आरोप  भने उनले सामना गर्नुपरेको छ।

हाल मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व सम्हालेका थापामाथि पछिल्लो समय प्रहरी बढुवामा न्याय गर्न नसकेको आरोप समेत लाग्ने गरेको छ। प्रहरीको पछिल्लो बढुवामा रोल क्रम मिचेर कनिष्ठ तथा विवादास्पद प्रहरी अधिकारीको बढुवा निस्कनेसँगै आइजिपी ज्ञवाली र थापामाथि संगठनमा न्याय गर्न नसकेको पनि केहीको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.