२ सय गाई पाल्ने याेजना, लकडाउनमा पनि खासै समस्या भएन
२ सय गाई पाल्ने याेजना, लकडाउनमा पनि खासै समस्या भएन
सल्यान : नेपालमा पशुपालन व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका एक किसानले पुष्टि गरेका छन्। जिल्लाको कपुरकोट गाउँपालिका–३ कपुरकोटका केशव शर्माले पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आइरहेका छन्।
आठ वर्षअघि दुई वटा गाईबाट व्यवसाय सुरु गरेका शर्माको फर्ममा अहिले सानाठूला गरी २० वटा गाई छन्। २ सय वटा गाई पाल्ने योजनाका साथ व्यवसाय थालेका शर्माले अहिले मनग्गे आम्दानी गरिरहेका छन्।
हाल उनी दैनिक ७० लिटर दूध बेच्छन्। ५० रुपैयाँ लिटरका हिसाबले उनले सीधै डेरीलाई दिने गरेको बताए। ‘बजारको समस्या छैन, बजारमा डेरी छ, जति पनि दूध लैजान्छ,’ उनले भने। कोरोना भाइरस नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण केही समस्या भए पनि अहिले सहज भइसकेको उनी बताउँछन्।
‘बन्दाबन्दी हुनुअघि १ सय २० लिटर दूध बेचे पनि लकडाउनपछि दाना र बजार अभावले उत्पादन केही घटेको छ,’ उनले बताए। तीन लाखको लगानीबाट थालेको व्यवसायबाट अहिले मासिक एक लाख रुपैयाँ बताउदै केशवकी श्रीमती देवी शर्माले अहिले मासिक एक लाखसम्म आम्दानी हुने गरेको बताइन्। भनिन् ‘सबै गाईले सधैं दूध दिने कुरा भएन, कहिले ९÷१० वटा दुहुनु हुन्छन् कहिले ३/४ वटा मात्रै। तर राम्रो फाइदा भइरहेको छ।’
गाईको दाना, तीन जनाको परिवार खर्च, सन्तानको पढाइ खर्च सबै कटाएर वार्षिक ५ देखि ६ लाखसम्म बचत हुने गरेको उनको भनाइ छ। गाईलाई आवश्यक पर्ने घाँसका लागि नौ रोपनी जग्गामा विभिन्न जातका घाँस लगाइको देवीले बताइन्।
बारीमा नेपिएर, स्टाइलो जै घाँस र विभिन्न जातका डाले घाँस लगाएका छन् केशवले। प्रारम्भमा साविकको जिल्ला पशु सेवा कार्यालय सल्यानले सहयोग गरेको उनले बताए। केही वर्षयता जिल्लामा व्यावसायिक गाईपालन गर्ने कृषकको संख्या बढ्न थालेको छ।
यातायात सुविधा गाउँगाउँसम्म पुगेपछि गाईपालन गर्ने कृषकको संख्या बढ्न थालेको हो। स्थानीयस्तरमा दुग्ध सहकारी संस्था सञ्चालनमा आएपछि झनै किसानलाई राहत मिलेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।