|

काठमाडौं : काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेट सुझाव सहित सर्व सहमतिले पारित भएको छ। महानगरपालिकाको सातौँ नगर सभाको अधिवेशनले आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम, आर्थिक बर्ष बजेट तथा कार्यक्रम, बिनियोजन विधेयक, २०७७ र आर्थिक विधेयक, २०७७ सर्व सहमतिले पारित गरेको हो ।

नगर सभाले लेखा समिति, सुशासन समिति र न्यायिक समितिको प्रतिवेदनमाथि पनि छलफल गरी कार्यान्वयनका लागि आवश्यक निर्णयका लागि कार्यपालिका बैठकमा पठाउने निर्णय समेत गरेको छ।

असार ४ गते बसेको नगर सभा सातौँ अधिवेशनको पहिलो बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो। असार १० गतेको नगर सभा अधिवेशनको दोस्रो बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक विधेयक र उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगरपालिकाको आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम र बिनियोजन विधेयक सभा समक्ष पेस गरेका थिए।

असार १८ गते बसेको तेस्रो बैठकले आर्थिक विधेयक, २०७७ सर्वसम्मतिले पारित गरेको थियो। नगर सभा सातौँ अधिवेशनको चौथो तथा अन्तिम बैठकले आर्थिक बर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम र बिनियोजन विधेयक, २०७७ सुझावसहित सर्व सहमतिले पारित गरेको हो।

बजेट पारित गर्नु अघि २० जना नगर सभा सदस्यले आ–आफ्ना धारणा राखेका थिए। उनीहरुले वडास्तरीय योजनासहित काठमाडौंको समृद्धिका लागि पहिचान युक्त र कलात्मक योजना समावेश गनुपर्ने, विपद् व्यवस्थापन र वातावरणीय सुधारका लागि सन्तुलित कार्यक्रम हुनुपर्ने जस्ता बिषय उठाएका थिए।

वडास्तरीय योजनाको एकीकृत प्रारुपबारे वडालाई जानकारी हुनुपर्ने, वडा भवनका लागि जग्गा प्राप्त हुनुपर्ने, सडक तथा ढल निर्माण र खानेपानी प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने, विद्युतीय शवदाह गृह निर्माण, परम्परागत चिहानको सुधार र स्तरोन्नति, सिँढी, पर्खाल निर्माण, कालोपत्रे र ढलानका योजनालाई पनि समावेश गर्नुपर्ने कुरालाई नगर सभा सदस्यहरुले प्राथमिकताका साथ उठाएका थिए ।

प्रमुख शाक्यले अन्तिम बैठकमा सम्वोधन गर्दै सकेसम्म बजेटको सिलिङ तलमाथि नपर्ने गरी नगर सभा सदस्यहरुको भावनालाई समेट्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.