प्रचण्डले पार्टी चलाउनु हुन्छ, यही बेला नेतृत्व फेर्दा प्रतिक्रान्ति निम्तिन्छ

|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्था राजीनामा दिन नहुने बताएका छन्। राष्ट्रियसभामा नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईसहितका केही सांसदहरुसँग मंगलबार कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।

'प्रधानमन्त्री ओलीले पूरै कार्यकाल यो सरकार चलाउनुहुन्छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नु हुन्छ', गृहमन्त्री थापालाई उद्धृत गर्दै सचेतक भट्टराईले भने, 'अहिलेको अवस्थामा पार्टीभित्रको विवाद समाधानको विकल्प यही नै हो।'

वैशाख २० गते भएको यही सहमति कार्यन्वयन गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्। 'अहिलेको अवस्थामा सरकार र पार्टीको दुवै नेतृत्व परिवर्तन हुन सक्दैन', उनले भने, 'अहिलेको अवस्थामा सरकार र पार्टी दुवैतिर नेतृत्व परिवर्तन गर्ने कुरा ठीक होइन। यसो गर्दा पार्टी एकताको भावना र मर्मविपरीत हुन्छ। यसले प्रतिक्रान्तिको अवस्था पनि निम्त्याउन सक्छ।'

एकता गम्भीर जोखिममा

थापाले पार्टी एकता गम्भीर जोखिममा परेको समेत बताएका छन्। 'पार्टी एकता गम्भीर जोखिमा परेको छ। एकतालाई जोगाउन अध्यक्षद्वयले केही 'कम्प्रमाइज' गर्नुपर्छ', उनले थपे, 'अहिलेको जस्तै दुवैजनाको अडानले पार्टी विभाजन हुन्छ। त्यसैले अहिले पार्टी विभाजनबाट रोक्न गुटबन्दीको अन्त्य गर्नुपर्छ।'

अगेनोमा जाँदा कु-प्रचार गरियो

अध्यक्ष दाहालको नेतृत्वमा भएको ललितपुरको झम्सिखेलस्थित अगेनो रेस्टुरेन्टको भेलामा आफूले बोल्दै नबोलेको कुरालाई पनि प्रचार गरिएको उनले गुनासो गरेका छन्।

उनले आफूले बोल्दै नबोलेको विषय उठाएर गुटबन्दी सक्रिय बनाउन कु-प्रचार गरेको आरोप लगाएका छन्। 'म प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल दुवैले बोलाएको भेलामा जान्छु', उनले भनेका छन्, 'तर, गुटबन्दी सक्रिय बनाउन कु-प्रचार गरियो, यो कुनै कोणबाट उचित छैन।'

उनले स्थायी कमिटीमा पनि वैशाख २० को सहमति उठाउने बताए। 'नेकपा स्थायी कमिटीको बैठकमा पनि वैशाख २० को सहमति कार्यान्वयन गरेर अघि बढ्नुपर्ने  कुरा राख्छु', उनले भने, 'झम्सिखेल भेलामा मैले नराखेको कुराको प्रचार किन गरियो भनेर जवाफ पनि माग्छु।'

विवादको चुरो

यसअघि प्रधानमन्त्री ओलीले असार १४ गते नेपाल-भारत सीमा विवादको बिषयलाई लिएर सरकार ढाल्न रणनीति बनाउने काम भएको बताएका थिए। त्यही अभिव्यक्तिलाई लिएर पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको घेराबन्दीमा ओली परेका छन्। 

यतिबेला सचिवालय र स्थायी कमिटीको बैठकमा समेत ओली अल्पमतमा देखिएका छन्। स्थायी कमिटीमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेता, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत दाहाल-नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्।

यस्तोमा अहिले नेकपामा देखिएको विवादमा निर्णायक पात्रमध्ये एक हुन् बादल। अर्का निर्णायक पात्रका रुपमा रहेका छन् वामदेव गौतम। यी दुवै नेतालाई दुवै समूहले आफ्नो तिर तान्‍न कसर गरिरहेको सन्दर्भमा बादलले यस्तो बताएका हुन्। 

बादल पार्टीमा गम्भीर संकट निम्तिँदा निर्णायक अवस्थामा मात्रै खुल्छन्। यसअघि पनि नेकपामा देखिएको विवादका क्रममा उनले आफ्ना कुरा निर्णायक अवस्थामा मात्रै राख्‍ने गरेका थिए।

मंगलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता पनि निचोडमा पुगेको थिए। दुई अध्यक्षबीच समझदारी कायम नभएको अवस्थामा बुधबार स्थायी कमिटी बैठक बस्दैछ। स्थायी कमिटी बैठकअघि नेकपाका प्रभावशालीमध्ये एक बादलको धारणा आएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.