कोरोना नियन्त्रणको हिसाब सार्वजनिक नगरेको आरोप

|

काठमाडौं : सुदूरपश्‍चिम प्रदेशसभाको छैटौँ अधिवेशनको आज बुधबार २३ औँ र २४ औँ दुईवटा बैठक बसे। सभामुख अर्जुनबहादुर थापाले बैठक प्रारम्भ भएको जानकारी गराउनेबित्तिकै प्रतिपक्षी दलका नेताहरुले बैठक नै अवरुद्ध गर्न खोजे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकार विरोधी नारा लगाइरहे भने सभामुखले  छलफल अघि बढाइरहे।

‘आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको अनुमान बजेटसँग सम्बन्धित सुदूरपश्‍चिम सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ हुन्छ,’ सभामुखले भने। 
सभामुखले बैठक सुरु भएको जानकारी गराएसँगै प्रतिपक्षका सांसदहरुले रोस्टम घेरे। प्रतिपक्षले नाराबाजी गरिरहँदा प्रतिपक्षलाई नाराबाजी रोक्न आग्रह नै नगरी सभामुखले सत्ता पक्षका सांसदहरुलाई विधेयकमाथि छलफलमा भाग लिन समय दिए। उता प्रतिपक्षका सांसदहरुले नारा लगाइरहे। ‘भ्रष्टाचारी सरकार मुर्दावाद’ ‘जनताको जीउ धनको सुरक्षा गर’ लगायतको नारा उनीहरुले लगाएका थिए। प्रतिपक्षले सरकारकाे विराेध गरेपछि सभामुखले सभामुखलाई सम्बाेधन गरेर आफ्नाे कुरा राख्न पनि आग्रह गरेका थिए।  

तर, सभामुखले बजेटसँग सम्बन्धित सुदूरपश्‍चिम सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे। 

के भन्छन् प्रतिपक्षी दलका नेता? 

सुदूरपश्‍चिम प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावलले कोरोनाको महामारी अवस्था भयावह भइसक्दा पनि प्रदेश सरकारले जनताको जीउ धनको सुरक्षामा ध्यान नदिएको संसदमै विरोध जनाएको बताए।

‘कोरोना महामारी भयावह रुपमा फैलिएको छ। प्रवासबाट नेपाली दाजुभाइहरु फर्किरहनु भएको छ, उहाँहरुलाई झन कोरोना सर्ने थलोमा राखियो कमसेकम व्यवस्थित क्वारेन्टाइन बनाउँ भन्दा सरकारले सुनेन,’ थाहा खबरसँगको फोन सम्पर्कमा उनले भने, ‘कोरोना नियन्त्रणको नाममा करोडौँ खर्च भइसक्यो भनिएको छ। यहाँ स्थिति दिनदिनै डरलाग्दो भइसक्यो। हामीले अहिले अरु तिर ध्यान कम दिएर कोरोना नियन्त्रणमा लागौँ भन्दा नमानेपछि आज संसदमै विरोध गर्नुपर्ने बाध्यात्मक अवस्था आयो।’

उनले सभामुख साझा नभई पार्टीको भएकोले सुदूरपश्चिमका जनताको कुरा सरकारले नसुनेको आरोप लगाए।

यसो भन्छन् सभामुख 

यता सभामुख अर्जुन बहादुर थापा भने आफूले पटक पटक सहमतिको लागि प्रयास गर्दा प्रतिपक्षी दलका सांसदहरुले अटेर गरेपछि आज पेलेरै बैठक सञ्चालन गरेको बताउँछन्। 

‘मैले सुनेसम्म प्रतिपक्षले कोरोनाको विषयमा परीक्षण पर्याप्त भएन, कोरोनाका विषयमा कति खर्च भयो त्यो सार्वजनिक गर भनेको  छ रे,’ सभामुख थापाले थाहाखबरसँग भने, ‘तर, उहाँहरुले बजेट नै ठीक छैन भन्‍ने ढंगबाट प्रस्तुत हुनु भयो। मैले उहाँहरूसँग पटक पटक छलफल गरेँ सहमतिमा ल्याउने प्रयास गरेँ, कुनै हालतमा भएन त्यसपछि पेलेरै गएँ। बजेट पनि पास भयो।’ 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.