|

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका बस्‍ने अस्मिता अधिकारी र विजय पाण्डेबीच करिब एक वर्ष पहिले चिनजान भयो। विजयले आफूलाई विश्‍व स्वास्थ्य संगठनको कर्मचारी भनेर परिचय दिएका थिए।

नवलपरासी पूर्वी सुस्ता देउचुली नगरपालिका-१५ प्रगती नगरका उनी हाल काठमाडौंको तीनकुनेमा बस्दै आएका थिए। चिनजान भएपछि जागिरको खोजीमा रहेकी अधिकारीलाई उनले विश्‍व स्वास्थ्य संगठनमा कर्मचारी माग भएको अवस्थामा जागिर लगाई दिन्छु भनि फोन नम्बरसमेत लिए।

सुरुमा अधिकारीले विश्‍वास गरिनन्। तर, पाण्डेले विश्‍व स्वास्थ्य संगठनको कार्यालय ललितपुरमा जागिर खुलेको छ भन्दै अफर लेटर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कागजातहरु समेत दिई विश्‍वासमा पारे।

अधिकारीलाई भ्रममा पारी पाण्डेले  वैशाख ३ देखि ७ गतेसम्म पटक पटक गरी बैंक खाता तथा आइमईमार्फत जम्मा एक लाख ८२ हजार २ सय रकम पठाउन लगाए।

विश्‍व स्वास्थ्य संगठनको जागिर खाने भनेर खुशी भएकी अधिकारी तब मात्र आफू ठगिएको थाहा पाइन्, जब रकम पठाए पश्चात् पाण्डे एकाएक गायव भए।

पाण्डे गायब भएपछि अधिकारी प्रहरीकहाँ जाहेरी लिएर गइन्। अपराध महाशाखाले उनलाई मंगलबार दिउसो काठमाडौंको बानेश्वरबाट पक्राउ गर्‍यो।

पक्राउपछि पाण्डेका अन्य कर्तुत पनि पत्ता लागे उनले अन्य व्यक्तिलाई पनि ठगेका भेटियो। यता, धन बहादुर विष्टले काठमाडौंको शंखमूलमा सञ्चालन गरेको फर्निचर पसलबाट १८ लाखको फर्निचर लिन्छु भनि विश्‍वास दिलाई ५० हजार लिई ठगी गरेको खुलेको छ। 

उता चितवन जिल्ला भरतपुर महानगरपालिका बस्ने निशान बाबु घिमिरेलाई विश्‍व स्वास्थ्य संगठनको कार्यालय ललितपुरमा जागिर लगाई दिने विश्‍वास दिलाई  ३ लाख ५०, हजार लिई ठगी गरेका रहेछन्। अछाम तुर्माखाँद घर भएकी रञ्जु बुढालाई १ वर्षसम्म नक्कली कार्यालयमा काम लगाई तलब नदिई ठगी गरेका रहेछन्।

नवलपरासीतर्फ बस्ने दिपक खनाल, धन बहादुर क्षेत्री, मनाङ घर भएका काशी गुरुङ, एकिन ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरे समेतका व्यक्तिहरुलाई विश्‍व स्वास्थ्य संगठनमा जागिर लगाउने लगायतका प्रलोभनमा पारी ठगी गरेका रहेछन्।  यसरी फरक फरक व्यक्तिलाई विभिन्‍न ठाउँमा ठगी गरेका उनी अहिले प्रहरी हिरासतमा छन्।

 पाण्डेलाई  ठगी सम्बन्धी कसुरमा अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको महाशाखाले जनाएको छ। उनीबाट ठगीमा परेकाहरुलाई महानगरीय अपराध महाशाखा बानेश्‍वर र महानगरीय प्रहरी परिसर टेकुमा सम्पर्क राख्‍न भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.