|

काठमाडौं : स्थायी कमिटी बैठक पटक पटक स्थगित भइरहेको अवस्थामा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता सुरु भएको छ।

दिउँसो ४ बजेदेखि सुरु हुने भनिएको अध्यक्षद्वयको छलफल करिब एक घण्टा ढिलो गरी बेलुकी ५ बजेबाट सुरु भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए। प्रधानमन्त्री ओलीसँगको छलफलका लागि प्रचण्ड ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दुईजना अध्यक्ष वान टु वान वार्ताका लागि बसेका हुन्। आज बस्‍ने भनिएको स्थायी कमिटी बैठकसमेत दुई अध्यक्षबीच चर्किएको विवादका कारण स्थगित भएको थियो। पार्टीमा देखिएको विवाद समाधानका लागि पछिल्लो केहिदिन यता अध्यक्षद्वयबीच भइरहेको छलफललाई निष्कर्षमा पुर्याउने गरी वार्ता सुरु भएको सापकोटाले बताए।

स्थायी कमिटी बैठक दुई दिन पर धकेलेर दुई अध्यक्ष वार्तामा बसेका हुन्। यसअघि पटक पटक भएको वार्तामा उनीहरु आफ्नै अडानमा कायम छन्। प्रधानमन्त्रीसमेत रहेका ओली दुवै पदबाट राजीनामा नदिने अड्डी कसेर बसेका छन्। अर्कातिर दाहाल ओलीलाई दुवै पदबाट विदा गर्ने रणनीतिमा जुटेका छन्। 

वरिष्ठ नेता माधवकुमार नेपालको समेत साथ पाएका दाहालले यो पटक ओलीलाई गलाएरै छाड्ने रणनीति बनाएका छन्। तर ओली आगामी महाधिवेशनसम्म अध्यक्षबाट र अबको दुई वर्षसम्म सरकारबाट टसमस नहुने रणनीतिमा छन्। 

यसअघि हिजोसम्म भएको छलफलमा ओलीले २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न गरेको प्रस्तावमा प्रचण्ड सहमत नभएपछि बैठक निष्कर्षविहीन हुँदै आएको थियो। मंसिर ४ को सहमतिअनुसार ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी अध्यक्ष चलाउने उल्लेख छ ।

तर प्रचण्ड भने गत जेठ २ गतेको सहमतिअनुसार अघि बढ्नु पर्ने अडानमा छन्। उक्त सहमतिमा आलोपालो सरकार चलाउने उल्लेख छ। यसअघि ओलीलाई दुवै पदबाट राजीनामा गराउने रणनीतिका साथ अघि बढेको प्रचण्डपक्ष अहिले भने प्रधानमन्त्री पद मात्र फुत्काउने प्रयत्नमा लागेको बताइएको छ।

तर ओली दुवै पद नछाड्ने बरु अध्यक्ष पदमा प्रचण्डलाई बढी भूमिका दिएर थम्थम्याउने प्रयासमा रहेको बुझिएको छ। दुई अध्यक्षले आ–आफ्नो अडानबाहेक अन्य विकल्प के हुनसक्छ भन्ने गरी छलफल भइरहेको बताइएको छ। शीर्ष नेताहरुबीचको विवाद समाधान नभएकाले आजका लागि तय भएको स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.