|
राजधानीको चाबहिलमा ओलीको समर्थनमा निस्किएको जुलुस

काठमाडौं : कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको लक डाउनको उलंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा विभिन्‍न ठाउँमा प्रदर्शन भएको छ। 

प्रधानमन्त्री ओलीलाई पार्टी भित्रैबाट राजीनामा दिन दबाब आएपछि ओली समर्थक नेता कार्यकर्ताहरूले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन्। 

ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी समितिका सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो। 

सरकार आफैले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन निर्देशन दिँदै, कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भनेपनि ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिएका छन्। 

बुधबार उपत्यकाको कोटेश्वर, चाबहिल, गोंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनखेलमा लगायतका ठाउँमा प्रदर्शन भएको छ। अत्यावश्यक सेवा क्षेत्र खुला भएपनि लक डाउन पुरै खुलेको छैन। 

पछिल्लो समय उपत्यकामा संक्रमणको जोखिम बढे पनि सडकमा प्रदर्शनकारीहरूको भिड देख्‍न सकिन्छ। प्रदर्शनमा सहभागीहरुले ‘पार्टी एकता जिन्दाबाद’, आइएम वीथ केपी ओली’, ‘राष्ट्रवादी सरकार जिन्दावाद’, ‘जनताको चाहाना, सरकार परिवर्तन गर्न पाइँदैन’, ‘भारतीय हस्तक्षेप बन्द गर, सरकार ढाल्न पाइँदैन’, ‘मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ जस्ता नारा लगाएका प्लेकार्ड बोक्दै नारा लगाएका छन्। 

पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको छ। आजका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विवाद समाधानका लागि निरन्तर वार्तामा बसिरहेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.