|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काठमाडौंमा शारीरिक रुपमा अशक्तहरुले ह्विल चियरमा बसेर जुलुस निकालेका छन्। 

राजधानी काठमाडौं गोंगबु र चाबहिलसहितका स्थानमा शारीरिक रुपमा अशक्तहरुले ओली सरकारलाई हटाउन पाइँदैन भन्दै ह्‍विल चियरमा बसेर सडकमा प्रदर्शन गरेका हुन्। उक्त प्रदर्शनमा शारीरिक रुपमा अशक्तसहित सयौँ सहभागी थिए। 

प्रधानमन्त्री ओलीलाई पार्टी भित्रैबाट राजीनामा दिन दबाब आएपछि ओली समर्थक नेता कार्यकर्ताहरूले राजधानी काठमाडौंसहित देशका विभिन्‍न ठाउँमा प्रदर्शन गरेका हुन्। 

ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी समितिका सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो। 

सरकार आफैले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन निर्देशन दिँदै, कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भनेपनि ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिएका छन्। 

बुधबार उपत्यकाको कोटेश्वर, चाबहिल, गोंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनखेलमा लगायतका ठाउँमा प्रदर्शन भएको छ। अत्यावश्यक सेवा क्षेत्र खुला भएपनि लक डाउन पुरै खुलेको छैन। 

प्रदर्शनमा सहभागीहरुले ‘पार्टी एकता जिन्दाबाद’, आइएम वीथ केपी ओली’, ‘राष्ट्रवादी सरकार जिन्दावाद’, ‘जनताको चाहाना, सरकार परिवर्तन गर्न पाइँदैन’, ‘भारतीय हस्तक्षेप बन्द गर, सरकार ढाल्न पाइँदैन’, ‘मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ जस्ता नारा लगाएका प्लेकार्ड बोक्दै नारा लगाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.