|

तिब्बतलाई विभाजन गर्न निकै अघिदेखि प्रयासरत अमेरिकालाई चीनले कडा जवाफ फर्काएको छ। पछिल्लोपटक दुई देशबीच विभिन्न असहमति चुलिँदै जाँदा अमेरिकाले तिब्बत मामिला उछालिरहेको छ। यसैक्रममा चिनियाँ अधिकारीहरुलाई प्रवेशाज्ञा (भिसा) नदिने निर्णय गरेपछि चीनले पनि अमेरिकाविरुद्ध उस्तै कदम चालेको हो।

अमेरिकाले एकदिन पहिले तिब्बत मामिलालाई लिएर केही चिनियाँ अधिकारीहरुविरुद्ध प्रतिबन्ध घोषणा गरेको थियो। यसको जवाफमा चीनले पनि बुधबार तिब्बत मामिलामा संलग्न रहेका भनिएका अमेरिकी अधिकारीहरुलाई प्रवेशाज्ञा प्रतिबन्ध घोषणा गरेको हो।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले मंगलबार नयाँ अमेरिकी कानुनअनुसार चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। आफ्ना अधिकारीहरुलाई चीनको पश्चिमी इलाकामा जान दिन अमेरिकाले माग गर्दै आएको छ।

दक्षिण चीन सागरमा अमेरिकी एअरक्राफ्ट क्यारियर, तनाव बढ्यो

यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले पछिल्लो अमेरिकी कदमको विरोध गरेका छन्। उनले भनेका छन्, 'गलत कदम चालेको अमेरिकालाई जवाफ दिन चीनले पनि अमेरिकी अधिकारीहरुमाथि प्रवेशाज्ञा प्रतिबन्ध लगाउने फैसला गरेको छ।' तिब्बतसम्बन्धी मुद्दालाई लिएर चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेइजिङले ह्वाइटहाउसलाई सुझाएको छ। 

अमेरिकाले यसअघि हङ्गकङ्ग मामिलामा चिनियाँ अधिकारीहरुमाथि प्रवेशाज्ञा प्रतिबन्ध लगाएको थियो। साथै उहिगुर मुसलमान समुदायमाथि गरेको भनिएको दमनलाई लिएर पनि यस्तै कदम चालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.