|

विराटनगर : नेपालबाट भारत हुँदै जापान लैजान लागेको ५१ किलोग्राम चरेससहित पाँच जना विराटनगरको एक होटलबाट पक्राउ परेका छन्। विशेष सुराकीले दिएको सूचनाको आधारमा विराटनगर–१५ मा रहेको न्यू शान्ति होटलबाट चार वटा सुटकेसभित्र फल्स बटम बनाई राखिएको चरेस शुक्रबार राती प्रहरीले पक्राउ गरेको हो।

चरेससहित पक्राउ पर्नेहरुमा मकवानपुरको टिष्टुङ–५ का १८ वर्षीय प्रताव सिंह गोले, १९ वर्षीय बुद्ध बम्जन, काभ्रेपलान्चोक नयाँगाउँ–४ का १८ वर्षीय राम गुरुङ र १७ वर्षीय अरुण गुरुङ र धादिङ भुमेस्थान १ का १८ वर्षीय मिलन राउतलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकाहरुलाई शुक्रबार लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको मोरङका एसपी सन्दीपराज भण्डारीले जानकारी दिए। चरेसहित पक्राउ परेकाहरु चरेसको कारोबारी रहेको एसपी भण्डारीले बताए।

उनीहरुले काठमाडौंबाट चरेस खरिद गरेर विराटनगर हुँदै भारतसम्म पुर्‍याउने र भारतका चरेस कारोबारीहरुसँग मिलेर जापान पुर्‍याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी भण्डारीको भनाइ छ।

भारतमा भन्दा जापानमा चरेसको मुल्य बढी पाउने भएकाले त्यही अनुरुप चरेस जापान लान खोजिएको देखिने गरेको प्रहरीले बताएको छ। भारतमा चरेस प्रतिकेजी ३ देखि ४० हजार रुपैयाँ रहेको भने जापनमा प्रतिकिलो ३० लाख रुपैयाँमा कारोबार हुने गरेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.