|

गुल्मी : मालिका गाउँपालिकाका कृषकहरूलाई अबदेखि हातेट्याक्टर बिग्रिए बुटवलबाट मिस्त्री बोलाउनुपर्ने बाध्यता हटेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई गुल्मीले साना औजार मर्मतसम्बन्धी तालिम दिएपछि आफूहरूको समस्या समाधान भएको बताउँछन् तालिममा सहभागी युवा भेषराज पौडेल।

पौडेलले तालिमले सीप पनि प्रदान गरेको र समय र पैसा दुबै बचत भएको बताए। अब सामान्य औजारहरु आफूहरुले मर्मत गर्न सक्ने भएकाले बुटवलबाट औजार मर्मतका लागि मिस्त्री बोलाउनु नपर्ने सुनाए।

यस्तै तालिममा सहभागीहरुले तालिमको अबधि छोटो भए पनि उपलब्धिमूलक भएको र आगामी दिनहरुमा लामो समय अबधिको तालिम राख्नका लागि सुझाब दिएका छन्।

किसानहरुलाई औजार मात्र बितरण गरेर नहुने भन्दै उनीहरुलाई मर्मत सम्बन्धी तालिम पनि आवश्यक रहेकाले तालिम प्रदान गरिएको परियोजनाका प्रमुख नारायण काफ्लेले जानकारी दिए।

औजारहरु सामान्य रुपमा बिग्रिए पनि बुटवल लगायतका स्थानहरुबाट  मर्मतका लागि बोलाउँदा खर्च बढी लाग्ने, मर्मतका लागि मान्छे आउन पनि समय लाग्ने भएकाले ग्रामीणस्तरमै तालिमको व्‍यवस्था गरिएको काफलेले दाबी गरे।

यस्तै, मकै जोन संचालक समितिका संयोजक लोकहरी कुँवरले तालिममा सिकेको सीपलाई व्‍यवहारमा परिणत गर्न नसके तालिमको अर्थ नहुने बताए। सीपको प्रमाणपत्रलाई सजाएर राखेर मात्रै नहुने भन्दै आगामी दिनहरुमा लामो समय अवधिको तालिमको आयोजना गरिने उनले बताए। तालिममा इश्मा, मालिका र मदाने गाउँपालिकाका  १५ जना कृषकहरु सहभागी थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.