|

स्याङजा : वालिङ नगरपालिकाले पहिरोको उच्च जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालेको छ।​

अविरल वर्षाले पहिरोको उच्च जोखिममा रहेका ७ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। वालिङ नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले नगरभित्रका बाढी पहिरो तथा भूक्षय जान सक्ने संभावित बस्तीहरुको पहिचान गरी उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो।

वालिङ-८, दमाइडाँडाका सात घर परिवारलाई नजिकैको अमिलीथुम आधारभूत विद्यालयको भवनमा सारेको छ। ‘मानवीय क्षती नहोस् भन्ने उद्देश्यले उच्च जोखिममा रहेका घरपरिवार पहिचान गरी सुरक्षित स्थानमा अस्थायी व्यवस्थापन गरेका छौँ,’ नगर प्रमुख एवं विपद व्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणले भने, ‘पहिलो चरणमा मानवीय क्षति कम गर्छौँ र दोस्रो चरणमा बर्सात सकिएसँगै दीर्घकालीन व्यवस्थापनको लागि जग्गाको खोजी गर्दैछौँ।’

बर्खा शुरु भएसँगै ग्रामीण क्षेत्रका जमिन भासिने र चिरा पर्ने समस्याको कारण आफुहरु त्रसित बन्नुपरेको वालिङ ८ का प्रकाश परियारले बताए। पानी पर्दा राम्रोसँग सुत्न पनि नसकेको बताउँदै परियारले भने, ‘समस्याको पहिचान गरेर समाधान समेत गरीदिएकोमा ७ घरधुरीका ३० जना सुरक्षित भएका छौँ।’

निरन्तर पानी परेका कारण पहिरो जाने जोखिम देखिएका कारण स्थानीयवासी त्रासमा रहेका छन्। सडकमुनिको घरमा भेल पस्ने र सडक माथिको घरको जग नै पानीले खोल्ने समस्या रहेको छ।

वालिङ नगरपालिकाको वडा नं. १३ स्थित कुसुण्डेमा पनि ३२ घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले उनीहरुलाइ समेत सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ। 

पहाडी क्षेत्रको भूभाग भौगोलिक हिसाबले पनि जोखिम रहेको बताउँदै प्राकृतिक विपदको सामना गरेका परीवार पहिचान तथा सुरक्षित स्थानान्तरण गर्न लगत संकलन भैरहेको नगर उपप्रमुख कल्पना तिवारीले बताइन्। 

भिरालो जमिन र त्यही माथि अव्यवस्थित ढङ्गले खनिएका ग्रामिण सडक खण्डले स्याङजाको अधिकांश भूभाग पहिरोको उच्च जोखिममा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.