को हुन यीनीहरु– जसले जनताको सेवा गर्न बसेको भन्छन् सरकारी तलव थाप्दैनन्?

|

काठमाडौं : ताहाचलमा रहेको श्रम विभागमा सरकारी काममा हुने ढिलासुस्ती रोक्न भनेर सरकारले श्रम स्वीकृति लिने व्यवस्था अनलाइनमार्फत दिने व्यवस्था सुरु गर्‍यो। गएको माघ १९ देखि कार्यान्वयनमा आएको यो व्यवस्थाको फाइदा सेवाग्राही भन्दा बढी दलाल र कर्मचारीहरुले उठाएका छन्। सेवाग्राहीले भने अनलाइन प्रणालीकै कारण थप कष्ट र खर्च ब्यहोर्नुपरेको छ।

श्रम स्वीकृतिका लागि सेवाग्राहीले भर्नुपर्ने फारम श्रम विभागले वेवसाइटमा नै राखिदिएको छ। यो फारम डाउनलोड गरेर सेवाग्राहीले आफै भरेर पनि बुझाउन पाउनुपर्ने हो। तर सेवाग्राहीले आफै भरेको फारममा कर्मचारीले नै विभिन्न समस्या र झञ्झट देखाउने गरेकाले यसमा विचौलियाको सहायता नलिई सुखै छैन। 

फारम भर्नको लागि श्रम विभाग बाहिर थुप्रै पसलहरु छन्। अनलाइन फारम भरेको कति रुपैयाँ लिने भन्ने तोकिएको छैन। त्यसैले सेवाग्राहीसँग मनलाग्दी रकम उठाउने गरिएको छ। अनलाइन फारम भरेको उनीहरुले ७५० देखि २ हजार रुपैयाँसम्म लिने गरेका छन्। 

सेवाग्राहीको अनलाइन फारम पनि भर्ने गरेको गुराँस लाइफ इन्स्योरेन्सले फारम भरेको ५ सय, जिमेल अकाउण्ट खोलेको २ सय ५० रुपैयाँ तोकेको छ। त्यसबाहेक पनि २ सयदेखि ७ सय रुपैयाँ समेत लिने गरेको छ। मंगलबार थाहाखबर संवाददातासँग इन्स्योरेन्सका कर्मचारीले भने 'फर्म भएको ५ सय, जिमेल अकाउण्टको २ सय ५० हो त्यस बाहेक स्वेच्छाले जति दिन्छन् त्यति लिएका छौं।' 

अनलाइन फारम भर्न श्रम विभाग बाहिर झण्डै २० वटा पसलहरु छन्। बिभिन्न विमा कम्पनीका कार्यालयहरुले पनि अनलाइन फारम भर्ने गरेका छन्। तर ती पसलहरुले फारम भरेको कति शुल्क लिनुपर्ने हो यकीन छैन। 

यस्तो छ झञ्झट

अनलाइन प्रविधिबाट श्रम स्वीकृति दिन थालेपछि श्रम विभागका कर्मचारीहरुको कामको लोड त घटेको छ। तर सेवाग्राहीले समयमै श्रम स्वीकृति पाउन सकेका छैनन्। 

रोजगारीका लागि दुबई जान लागेका गोरखाका ओमबहादुर थपा गत आइतबार श्रम स्वीकृति लिन श्रम विभाग पुगे। उनको पहिलो दिन बैंकको भौचर काट्न, म्यादी विमा र अनलाई फर्म भर्दैमा बित्यो। अर्को दिन बिहान कार्यालय खोलेसंगै विभागमा पुगेका उनले सोमबार पनि श्रम स्वीकृति पाउन सकेनन्। सोमबार झण्डै ९ घण्टा लाइनमै लाइनमै बिताए। गेटबाहिर ६ घण्टा र गेटभित्र ५ घण्टा लाइन लागेका उनले मंगलबार दिउँसो २ बजे मात्रै स्वीकृति पाए। 'श्रम स्वीकृति हात पाउँदा पनि युद्ध जितेजस्तै भयो'।

थापा मात्रै होइन गुल्मीका विष्णु कार्की र खोटाङका प्रेम तामाङको पीडा पनि थापाको भन्दा कम छैन। 'अनलाइनबाट श्रम स्वीकृति पाउने भनिएपनि श्रम विभाग नगई स्वीकृति हुँदो रहेनछ यहाँको प्रकिया र अदक्ष कर्मचारीको कारण निकै दुख पाइयो' मलेसिया जान लागेका गुल्मीका विष्णु कार्कीले भने। त्यस्तै अनलाइन फर्म भोर्दा पनि उस्तै सास्ती खेप्नु परेको सेवाग्राहीको गुनासो छ। 

बैंकको उस्तै समस्या

श्रम विभागले वैदेशिक रोजगार कल्याणकारी कोषको लागि रकम जम्मा गर्न छ वटा बैंकलाई अनुमति दिएको छ। तर विभागले अनुमति दिएका धेरै बैंक श्रम विभाग कार्यालय नजिक नहुदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। विभागले लक्ष्मी बैंक, ग्लोवल आइएमई बैंक, सानिमा बैंक, प्रभु बैंक, सेन्चुरी कमर्सियल बैंक र सिद्धार्थ बैंकलाई कामदार कल्याणकारी कोष रकम जम्मा गर्नको लागि अनमुति दिएको छ। तर त्यहाँ नजिकै प्रभु बैंक मात्र रहेको हुँदा अत्याधिक भीड हुन्छ। 'बैंकमा पैसा जम्मा गर्नको लागि मात्रै ३/४ घण्टा लाइन बस्दा समेत काम सकिदैन' एक सेवाग्राहीले भने। 

श्रम विभाग नजिकै धेरै विमा कम्पनीहरुले शाखा कार्यालय खोलेका छन्। विभागले म्यादी विमाको लागि पनि छ वटा विमा कम्पनीलाई अनुमति दिएको छ। प्राइम लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र एलआइसी इन्स्योरेन्सलाई विमा गर्नको लागि अनुमति दिएको छ।

दैनिक २/३ घण्टा मात्रै काम

अनलाइनबाट श्रम स्वीकृति दिन थालेपछि श्रम विभागका कर्मचारीहरुले विभागमा बिताउनुपर्ने समय बढेको छ। तर उनीहरुले दिनको २/३ घण्टा भन्दा काम गर्दैनन्। दिनभर खाली हुन्छन् कुर्चीहरु।

कारण पटक पटक सफ्टवेयर बन्द हुने र इन्टरनेट नचल्ने गर्दा काम गर्न नपाएको विभागका निर्देशक प्रेम दिसाल बताउँछन्। 'सेवाग्राहीलाई छिटै सेवा दिनको लागि हामी खटिएका छौ, नेटले काम गर्दैन, सफ्टवेयर बन्द हुन्छ काम गर्नै सकिएको छैन' दिसालले थाहाखबरसँग भने 'आज पनि (मंगलबार दिउसो २ बजे) सम्म मात्रै नेट र सफ्टवेयरले काम नगर्दा डेढ घण्टा पनि काम गर्न सकेका छैनौं, सुधारको काम भइरहेको छ।'

सेवाग्राही भने इन्टरनेट नचलेको र सफ्टवेयरले काम नगरेको बाहनामा कर्मचारीले काम नगरेको गुनासो गर्छन्। 'नेट छैन भन्दै घाम ताप्न निस्कन्छन् कि चिया खाना निस्कन्छन, कुर्ची दिनभर खाली हुन्छ, हामीलाई जे भने पनि भयो' गुल्मीका विष्णु कार्कीले भने। 

आधा घण्टामा काम गर्ने अफर

श्रम विभागभित्र एक दर्जन भन्दा बढी व्यक्तिहरु जनताको सेवा गर्न भन्दै बसेका छन्। उनीहरु न सरकारी कर्मचारी हुन् न कुनै निकायबाट खटिएका। उनीहरुले छिटो काम गरिदिने नाममा सेवाग्राहीसँग मनपरी पैसा असुल्छन्। उनीहरुले श्रम स्वीकृतिका लागि लाइन बसेकाहरुसँग आधा घण्टामा काम गरिदिने भन्दै पैसा माग्छन्। दुई दिन लाइनमा बस्दा पनि काम नभएका सेवाग्राही पैसा तिरेर उनीहरुको सहयोग लिन बाध्य हुन्छन्। 

'मलाई ५ हजार दिनु आधा घण्टामा काम गरिदिन्छु भनेर ३/४ पटक एक जना आए, त्यो भन्दा पनि छिटो गर्दा १० हजार, अनि एक घण्टा गरेको कामको ३ हजार रुपैयाँ रेट नै हो अरे' एक सेवाग्राहीले भने। तर विभागका निर्देशक पैसा बुझाएको कारण काम छिटो नहुने दावी गर्छन्। 'कर्मचारी भन्दा बाहिरको मान्छेको विश्‍वास नगर्नुस् यदि कसैले पैसा बुझाएको कारण छिटो काम गर्दिन्छु भन्यो भने जो कोहीलाई कारबाही गर्छौं' निर्देशक दिसालले भने।

घटे श्रम स्वीकृति लिने

एक महिना अघिसम्म दिनको १३/१४ सय जनाले श्रम स्वीकृति लिनेमा अहिले श्रम विभागबाट दैनिक ३/४ सय जनाले मात्रै स्वीकृति लिँदै आएका छन्। तर यो श्रम स्वीकृति लिनेको संख्या घटेर होइन, विभागमा भएको कामको ढिलाईको कारण हो।

स्वीकृति लिन आउनेको लाइन प्रत्येक दिन बढ्दै गएको छ, सफ्टवेयरको कारण चाहेजतिलाई स्वीकृति दिन सकिएको छैन' निर्देशक दिसालले सुनाए। उनले छिटो जानेहरुलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र काम नसिकदा बेलुका ७/८ बजेसम्म पनि विभागमा काम हुने गरेको दाबी गरे। पछिल्ला दिनहरुमा बढी श्रम स्वीकृत हुँदा दैनिक ५ सय र कम हुँदा ३ सय जनासम्मको हुने गरेको छ। सफ्टवेयरलाई अपग्रेड गर्दैछौँ केही दिनमा यो समस्या हट्ने छ' निर्देशक दिसालले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.