|
फाइल फाेटाे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको​महाधिवेशन नजिकिँदै छ। आगामी फागुन ७, ८, ९ र १० को लागि केन्द्रीय अधिवेशन गर्ने गरी त्यसअघि नै तल्लो तहको अधिवेशन सक्न तालिका सार्वजनिक भइसकेको छ।

तर अधिवेशनमा होमिइसकेको कांग्रेसले २६ जिल्लामा आन्तरिक समायोजन टुङ्ग्याउनै सकेको छैन। केही जिल्लामा नयाँ सदस्यता र नवीकरणसमेत काम सुरु भइसकेको अवस्थामा सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, प्रमुख सचेतक वालकृष्ण खाँण लगायत शीर्ष नेताको जिल्लामै समायोजन हुन सकेकाे छैन। 

संघीयताअनुरुप नै पार्टीको संगठन संरचना निर्माणलाई कांग्रेसले आन्तरिक संरचना निर्माण भन्दै आएको छ। गत वर्षको साउन २६ गतेको केन्द्रीय समितिको बैठकले स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम व्यवस्था निर्देशिका २०७६ लागु गरेको थियो। 

सभापति देउवाको गृहजिल्ला डडेल्धुरा, उपसभापति विजयकुमार गच्छदारको जिल्ला सुनसरी, विमलेन्द्र निधिको धनुषा, महामन्त्री पूर्णबहादुर खड्काको सुर्खेत, कोषाध्यक्ष सीता यादवको सिरहा, सहमहामन्त्री डा.प्रकाशशरण महतको नुवाकोट, प्रमुख सचेतक खाँणको रुपन्देहीमा आन्तरिक संरचना समायोजन अझै भएको छैन। शेखर कोइरालाको जिल्ला मोरङमा समायोजनको काम आधा मात्रै भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। काठमाडौंमा पनि आन्तरिक समायोजन हुन सकेको छैन।  

डडेल्धुरा, काठमाडौं, खोटाङ, सोलुखुम्बु, मोरङ, सुनसरी, पर्सा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, मुस्ताङ, रुपन्देही, दाङ, डोल्पा, सुर्खेत, बैतडी, रसुवा, नुवाकोट, धादिङमा समायोजनको काम सुरु हुन सकेको छैन।

गत सोमबार बसेको केन्द्रीय समिति बैठकले आगामी साउन १० गतेभित्र समायोजनका काम सकेर केन्द्रमा जानकारी दिन र क्रियाशील सदस्यताका प्रक्रिया सुरु गर्न समायोजन नसकेका जिल्लाका पार्टी सभापतिहरूलाई निर्देशन दिएको कांग्रेसले जनाएको छ। 

‘केन्द्रीय समितिको बैठकमा २६ जिल्लामा समायोजन नभएको विवरण आए पनि यो बीचमा केही जिल्लामा काम सुरु भइसकेको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल भन्छन्, ‘अब रोकिएका जिल्लामा पनि द्रुत गतिमा काम अघि बढाउन केन्द्रीय समितिले निर्देशन दिएको छ।’ 

उनले ५० वटा जिल्लाको वडाहरूमा पनि क्रियाशील सदस्यताको फारमहरु पुगिसकेको बताए। अन्तरिम संरचनाको समायोजन सम्पन्न गरेका जिल्लाका सभापतिलाई मात्रै कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यताको फारम उपलब्ध गराएको पौडेलले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.