|

काठमाडौं : केही दिनयता उपत्यकामा कोरोना भाइरस (कोभिड १९) का संक्रमित ह्वातै बढेसँगै उपत्यकामा कोभिड-१९ अस्पताल भरिएका छन्। अझै संक्रमितको संख्या बढ्दै जाँदा बेड अभावले गर्दा टेकु अस्पताल र पाटन अस्पतालका आइसियुमा समेत संक्रमित राखिएको बताइएको छ।

सरकारले बताएको कोभिडको उपचार मापदण्डअनुसार उपत्यकामा संक्रमित भेटिए शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, सशस्त्र प्रहरी अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमाको आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था छ। यी अस्पतालहरूलाई सरकारले कोभिडको उपचार गर्ने लेभल टु अस्पतालका रूपमा तोकेको छ। उपत्यकाभरि संक्रमण पुष्टि भएको खण्डमा संक्रमित जहाँ भए पनि सुरुमा यी तीन अस्पतालमा रिफर गर्नुपर्ने व्यवस्था छ।

हाल टेकु अस्पतालमा कोभिड-१९ का लागि ३५ बेड मात्रै आइसोलेशन छ। आइसियु २० बेड र भेन्टिलेटर ९ वटा रहेका छन्। अस्पतालका अनुसार हाल अस्पतालमा रहेका सबै वेड भरिएका छन्।  केही दिन अघिसम्म संक्रमित धेरै भएर आइसोलेशन वेडमा नअटाएर अस्पतालको आसियुमै राखिएको थियो। अस्पतालमा सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाका अनुसार हाल संक्रमित मात्रै ३० जना अस्पतालमा उपचारारत रहेको बताए।  उनले भने, ‘अहिलेसम्म संक्रमित मात्र ३० जना छन्।’

टेकु अस्पतालका अनुसार केही शंकास्पद बिरामीसमेत आइसोलेसनमा रहेकाले हाल टेकु अस्पतालको सबै बेड भरिएका छन्। यता, पाटन अस्पतालमा ५८ जना संक्रमितको उपचार भइरहेको बताइएको छ। जसमा संक्रमितको लागि बनाइएको बेड भरिएर अस्पतालले शंकास्पदका लागि बनाइएको बेडमा संक्रमित राखेर उपचार गरिएको बताइन्छ।

पाटन अस्पतालले संक्रमितका लागि ४५ बेड आइसोलेसन बनाएको छ। शंकास्पदका लागि १५ बेड आइसोलेसन र २१ वेड आइसियु गरी जम्मा ८१ बेड छुट्याएको छ। अस्पतालमा भेन्टिलेटरको संख्या १५ छ। अस्पतालका अनुसार ८१ मध्ये संक्रमितका लागि राखिएको ४५ बेड आइसोलेसनमा ४९ जना भर्ना छन्। अस्पताल भरिएर इमर्जेन्सीमा पनि भर्ना गरिएको छ।

यता, कोभिडको उपचार गर्न छुट्याइएको अर्को बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ८३ जना संक्रमित रहेका छन्। १२० बेड कोभिडका बिरामीका लागि छुट्याएको छ। त्यस्तै २० जना शंकास्पद व्यक्तिहरु आइसोलेसनमा भर्ना छन्। अस्पतालले २० बेड आइसियु र १० वटा भेन्टिलेटर तयारी अवस्थामा राखेको जनाएको छ।

यस्तै, त्रिवि शिक्षण अस्पतालमा हाल  ६ जना संक्रमितको उपचार भइरहेको बताइएको छ। यता, ह्याम्स अस्पतालमा समेत कोभिडका केही संक्रमितको उपचार भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.