निष्कर्षविहीन वार्ताको शृंखला, दुवैले छाडेनन् अडान

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादभित्रको विवाद अझै साम्य हुन सकेको छैन। पार्टीभित्रको विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहालबीच चलेको वार्ताको श्रृंखलाले अझै निचोड दिएको छैन।

प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल बीचको शक्ति संघर्षको कारणले पार्टी फुटको संघारमा पुगेको छ। यस्तो अवस्थामा दोस्रो र तेस्रो तहका नेताहरूले दुई अध्यक्षमाथि दबाब बढाइरहेका छन्। 

‘वार्तामा अध्यक्षद्वयले आआफ्नो अडानबाट पछि हट्नु भएको देखिएन। त्यसैले कसरी समाधान खोज्ने भन्नेबारेमा आन्तरिक गृहकार्यमा हुनुहुन्छ,’ नेकपा एक स्थायी कमिटी सदस्यले भने, ‘प्रधानमन्त्री ओलीले अहिले दुवै पद नछोड्ने अडानमै रहनुभएको छ। तर, अध्यक्ष दाहाल  पछिल्ला दिनमा एक पद मात्रै भए पनि छोडाउने रणनीतिमा पुगेको देखियो।’

तर, पार्टीभित्रको विवादले विभाजनको अवस्थमा परेको बेलामा प्रधानमन्त्री ओली अल्पमतमा रहेको बताइन्छ। ‘अध्यक्ष दाहाललाई नेता नेपालले पनि सघाएका छन्। तर, प्रधानमन्त्री ओलीलाई नेता नेपाल सहित केही नेता दुवै पद छोडाउने पक्षमा उभिएका छन्। पार्टीभित्रको विवाद सहमतिमै समाधान गराउनका लागि अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई एक पदमा सहमति गरौँ भन्ने प्रस्ताव गर्नुभएको बुझिएको’ ती नेताले बताए। 

विवादले पार्टीभित्र फुटको सँघारसम्म पुगेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल सहमतिका नाममा हरेक दिन जसो भेट गरिरहेका छन्। वार्ता सकारात्मक भएको बताए पनि यसअघि पटकपटक भएको वार्तामा ओली–दाहालको आ-आफ्नो अडानको कारणले सहमतिमा पुग्न नसकेको हो। 

विवाद समाधानका लागि अध्यक्ष दाहाल ०७५ जेठ २ गतेको सहमतिअनुसार अघि बढ्नु पर्ने अडानमा छन्। तर, ओलीले २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न गरेको प्रस्तावमा छन्। ओलीको प्रस्तावमा अध्यक्ष दाहाल सहमत छैनन्। 

मंसिर ४ को सहमतिअनुसार ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी अध्यक्ष चलाउने निर्णय भएको थियो। पार्टीभित्रको विवादको कारणले असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित भइरहेको छ। शिर्ष नेताहरूको अडान यथावत भइरहेको कारणले भोलिको लागि बोलाइएको स्थायी कमिटी बैठक बस्ने नबस्ने भन्नेबारेमा अझै टुंगो लाग्न सकेको छैन। 

ओली दाहाल छलफलको चक्र

पार्टीभित्रको विवादको कारणले असार १० गतेबाट जारी स्थायी कमिटीको बैठक स्थगित गरेर असार २१ छलफलमा जुटे। सहमति जुटाउन लागि बैठकमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल सहभागी थिए। दाहाल पक्षबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र वर्षमान पुन सहभागी भएका थिए।

बैठकको सुरुमा दुवै केही आक्रमक रुपमा प्रस्तुत भएको भएपनि छलफलपछि विवादमा केही सहमति खोज्ने सहमति पुगे। बैठकबाट निस्केपछि स्थायी कमिटी सदस्य जनार्दन शर्माले बैठक सकारात्मक भएको तर्क गरे। त्यसपछि समस्या समाधानको जिम्मा यिनै दोस्रो तहको नेतालाई दिइयो। तर, असार २२ गते पुग्दा प्रधानमन्त्रीको चाहाना भन्दै दुईजनाको मात्रै भेट कुराकानी भयो।

वार्तामा प्रधानमन्त्री ओलीले आफ्ना कुरा राख्नै दुवै पद नछाड्ने अडान दोहोर्‍याए। असार २३ गते पुग ओली र दाहाल बीचको छलफल चल्यो। अघिल्लो दिन प्रधानमन्त्रीले आफ्ना कुरा राखेपछि अध्यक्ष दाहालले आफ्नो कुरा राखे। दुवै पदमध्ये सरकार असफल भएको जन आवाज उठ्न थालिसकेको भन्दै प्रधानमन्त्रीबाट हट्नुपर्ने जिकिर गरे। तर, प्रधानमन्त्रीले आफ्नो अडान फेरेनन्।

बुधबार पुनः आरोप प्रत्यारोप

सोमबार र मंगलबार आआफ्नो भनाई राखेका प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बुधबारको बैठकमा पुनः बिमति सिर्जना भयो। ‘अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई देशभर भैरहेको प्रदर्शन रोक्न आग्रह गर्नुभएको रहेछ। तर, प्रधानमन्त्री ओलीले प्रदर्शन नरोक्ने बताउनुभएछ’ अध्यक्ष दाहाल निकट ती नेताले भने, ‘तपाईंहरू बहुमतको आधारमा जे पनि गर्न सक्छु भन्नेमा लाग्नुभएको होला। तर, त्यसरी हुन्‍न।’ 

यद्यपि, प्रधानमन्त्री ओलीले आफूनिकट युवा तथा विद्यार्थीलाई बालुवाटारमा बोलाएर आफ्नो पक्षमा लाग्न  निर्देशन दिएको समेत आरोप लाग्दै आएको छ। बुधबार बिहान कोरोनाको संकटको बेलामा सडक आन्दोलनले अर्कै रुप लिन सक्ने भएकाले अध्यक्ष दाहालले महासचिव बिष्णु पौडेललाई फोन गरेर प्रदर्शन रोक्न आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीको अडानपछि अध्यक्ष दाहालले अध्यादेशको बिषयलाई जोड्दै एक पदबाट तत्कालै हटेर पार्टीभित्रको विवाद समाधान गर्नुमा जोड दिनुपर्ने बताएको ती नेताले बताए।शीर्ष नेताहरुको अडान यथावत भइरहेको कारणले भोलिको लागि बोलाइएको स्थायी कमिटी बैठक बस्ने नबस्ने भन्नेबारेमा अझै टुंगो लाग्न सकेको छैन।
 

‘अध्यक्षद्वयको सहमतिको खोजीमा छौँ’

पार्टीभित्र देखिएको समस्या समाधानका लागि सहमतिको विकल्पको बारेमा छलफल भइरहेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन्। ‘हामी पार्टी एकता जोगाउनुपर्छ भन्नेमा छौँ। त्यसैले अध्यक्षहरूको छलफलपछि केही निकास निस्केला’  उनले भने, ‘सहमतिमा नै पार्टी र सरकार सञ्चालन गरेर अघि बढ्नुपर्छ भन्‍ने हाम्रो मत हो।’

पार्टीभित्र आन्तरिक रुपमा देखिएको समस्या भएकाले प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बसेर छलफल भएपछि समस्या समाधान हुने संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बताउँछन्। ‘उहाँहरूबीच केही दिन यता छलफल चलिरहेको छ। बैठक सकारात्मक भएको बुझिएको छ। त्यसैले पार्टीभित्रको समस्या समाधान हुन्छ’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.