|

काठमाडौं :  मनसुन सक्रिय भएसँगै देशका विभिन्‍न स्थानमा बिहीबार दिउँसोदेखि वर्षा भइरहेको छ। अविरल वर्षापछिको बाढी पहिरोले सिन्धुपाल्चोक, कास्की, जाजरकोट, म्याग्दी, गुल्मी, पश्चिम रुकुमलगायत विभिन्न जिल्लाहरूमा धनजनको ठूलो क्षति गरेको छ।

गडण्की प्रदेशमा सबैभन्दा धेरै वर्षा

जल तथा मौसम पूर्वानुमान माहाशाखाका अनुसार हाल देशभरको मौसममा बदली आएर वर्षा भइरहे पनि माहाशाखाको विवरणअनुसार गत २४ घन्टामा सबैभन्दा धेरै वर्षा गडण्की प्रदेशमा भएको छ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको र त्यसको असरले गर्दा देशका तराईदेखि पहाडी भेगमा समेत भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।

माहाशाखाको विवरणअनुसार २४ घन्टामा गण्डकी प्रदेशको राजधानी पोखरामा सबैभन्दा धेरै वर्षा भएको छ।  गत २४ घन्टाको विवरणअनुसार पोखरामा २५०.९ मिलिमिटर पानी परेको छ। मौसम पूर्वामानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यो वर्ष हालसम्मको विवरणअनुसार पोखरामा धेरै वर्षा भएको छ।  'हालसम्मको विवरणअनुसार पोखरामा धेरै वर्षा भएको छ, पोखरामा २५०.९ मिलिमिटर पानी पर्नु भनेको एकदम धेरै वर्षा भएको हो यो क्रम अझै बढ्ने देखिन्छ' उनले भने, 'गत सालहरूको तुलनामा कति वर्षा भयो भन्नको लागि अझै केही समय कुर्नुपर्छ यो वर्षको वर्षा भर्खरै सुरु भएको छ।'

यस्तै, पोखरापछि २४ घन्टामा सबैभन्दा धेरै वर्षा पाँच नम्बर प्रदेशको भैरहवामा परेको छ। भैरहवामा १३४.३ मिलिमिटर,  यस्तै सिमरामा १२८.४ मिलिमिटर, यस्तै विराटनगरमा ३७.८ मिलिमिटर, नेपालगन्जमा ७६ मिलिमिटर पानी परेको छ।

 तीन दिनसम्म वर्षा हुने अनुमान

माहाशाखाले अझै तीन दिनसम्म देशभर भारी वर्षा हुने हुँदा सतर्कता अपनाउनुपर्ने बताएको छ। प्रदेश १ र प्रदेश २ का  थोरै स्थानहरूमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एकदुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको बताइएको छ। मौसमविद् अर्यालले भने, ‘यो वर्षा अझै केही दिनसम्म नै रहन्छ।‘

तीन दिनसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको माहाशाखाले जनाएको छ। वर्षापछि बाढी, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागको अनुरोध छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.