|

काठमाडाैं : युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि आवश्यक योग्यता पुगेकाले आवेदन दिन सक्ने भएका छन्। खेलकुद मन्त्रालयले शुक्रबार एक सुचना जारी गर्दै ७ दिनभित्र दरखास्त दिन भनेको छ।

मन्त्रालयले सुचना निकालेसँगै अब औपचारिक रुपमा सदस्यसचिव नियुक्तिको बाटो खुलेको छ। जारी सूचनामा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (२) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको उल्लेख छ।

खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै राखेपका सदस्य सचिव रमेश कुमार सिलवाल सहितका पदाधिकारीको नियुक्ति खारेज भएको थियो। यस्तै मन्त्रालयले भक्तबहादुर ढकाललाई कार्यवाहक सदस्य सचिवको जिम्मेवारी दिएको थियो।

थपलियाको नेतृत्वमा समिति 

खेलकुद विकास ऐन २०७७ अनुसार नयाँ सदस्य सचिव नियुक्तिका लागि खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा  तीन सदस्यीय सिफारिस समितिलाई पूर्णता दिएको छ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शुक्रबार रिम रानाभाट र इन्दिरा निरौलाको नाम समेट्दै सचिव थपलियाको संयोजकत्व रहने सिफारिस समितिलाई पूर्णता दिएका हुन्। अब समितिले नै सदस्य सचिवमा एक महिला सहित तीनजनाको नाम मन्त्रालयलाई सिफारिस गर्ने छ।

मन्त्रालयले त्यसमध्येबाट सदस्य सचिवको नियुक्त गर्न मन्त्री परिषद् बैठकमा पेश गर्ने छ। मन्त्रिपरिषदले एक जनालाई सदस्य सचिव नियुक्त गर्ने छ। सदस्यसचिवको कार्यकाल ४ वर्षको हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.