|

काठमाडौं : साविक समयमा यात्रु कोचाकोच गर्ने र भाडामा मनलाग्दी गर्ने यातायात व्यवसायीले कोरोना महामारीकै बीच सरकारसामु एकपछि अर्को माग राख्न थालेका छन्‌। 

सवारीसाधन चलाउन नदिँदा मर्का परेको बताएपछि असार २३ गते मंगलबार बसेको मन्त्रीपरिषद्‌ बैठकले साविकको भाडामा ५० प्रतिशत वृद्धि गरी छोटो दुरीमा यातायात सञ्‍चालन गर्न दिने निर्णय गरेको थियो। तर सो निर्णयलगत्तै यातायात व्यवसायीहरूले सरकारसँग एकपछि अर्को माग तेर्स्याउन थालेका हुन्‌। 

व्यवसायीले यातायात क्षेत्रमा आवद्ध श्रमिकको समस्या सम्बोधन गर्ने खालका भन्दा पनि आफैंलाई राहत हुने खालका माग राखेका छन्‌। लकडाउन अवधिको किस्ता तिर्न समय पाउनुपर्ने, नवीकरण अवधि थप र ब्याजमा पुर्नविचार गर्नुपर्ने जस्ता केही माग स्वाभाविक देखिएपनि घर र ग्यारेजमा राखिएको सवारीसाधनलाई मर्मत गर्नलाई ५० हजार देखि ५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउनुपर्नेसम्मका माग व्यवसायीले राखेका हुन्‌। 

शुक्रबार बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकमार्फत यातायात व्यवसायीहरूले बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग राखेका छन्‌। सरकारले यी माग पूरा नगरेमा सार्वजनिक यातायातका सवारीसाधन नै नचलाउने उनीहरूले बताएका छन्‌।

​अधिकांश स‌ंघ/संस्थाले कर्मचारीहरुको कोरोना बीमा आफैंले गरिरहँदा यातायात व्यवसायी यो जिम्मेवारी पनि सरकारतिर पन्छाएर आफू अलग्गिन खोजेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.