|

बैतडी : पहिरोका कारण जिल्लाका एक परिवार विस्थापित भएका छन्। दोगडाकेदार गाउँपालिका ४ कपिन्नास्थित दमथला टोलका देवदत्त भट्टको परिवार विस्थापित भएको हो।महाकाली करिडोरअन्तर्गत निर्माण भएको सडकले पहिरो खसेपछि भट्टको परिवारलाई तत्कालका लागि अर्को घरमा स्थानान्तरण गरेका गाउँपालिका ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए। पहिरोले घरको आँगनसमेत भत्काएपछि भट्ट परिवारलाई स्थानान्तरण गरिएको हो।

पहिरो खसेको ठाउँमा महाकाली करिडोरका इन्जिनियर दिनेश रैखोलाको टोलीले अनुगमनसमेत गरेको छ। टोलीको अनुगमनपछि समस्यामा परेको परिवारलाई स्थानान्तरण गरिएको हो। सो ठाउँमा अन्य ७ परिवार पनि पहिरोको जोखिममा परेका छन् भने मकै लगाएको खेत पनि पहिरोले बगाउँदै लगेको वडाध्यक्ष भट्टले जानकारी दिए। 

पहिरो खसेको ठाउँमा महाकाली कोरडोर आयोजनाले भाद्र महिनादेखि पर्खाल लगाउने सहमति समेत भएको छ। यस्तै कोरिडोरका कारण भत्किएको पानीको कुवा र बाटो निर्माण गरिने जनाइएको छ।

स्वास्थ्य केन्द्र भवनमा पनि क्षति 

सुर्नया गाउँपालिका–८ मा निर्माणाधिन सामुदायिक स्वास्थ्य केन्द्रको भवनमा पहिरोले क्षति पुर्याएको छ। ३७ लाखको लागतमा उदयदेव भूमिराज निर्माण सेवा कम्पनीले निर्माण गरिरहेको स्वास्थ्य केन्द्रको भवनमा माथिबाट खसेको पहिरोले क्षति पुर्याएको वडा नं ८ का वडाध्यक्ष आनन्दसिंह बोहराले बताए। वडा नं ८ मा स्वास्थ्यचौकी नहुँदा स्वास्थ्य केन्द्र भवन निर्माणको काम भइरहेकोमा पहिरोले काममा बाधा पुर्याएको छ।

पहिरोले निर्माणाधीन भवनमा १५ लाख बढीको क्षति पुर्याएको अनुमान गरिएको छ। पहिरोले त्यहाँका १५ घरजति जोखिममा समेत परेको वडाध्यक्ष बोहराले जानकारी दिए। बस्ती तलतिर पहिरो खसेपछि माथि रहेका घरहरु जोखिममा परेका हुन्। गत वर्ष पनि सुर्नया गाउँपालिका–८ को मल्लोढोलेमा पहिरोले ६ घरपरिवार विस्थापित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.