|

भद्रपुर (झापा) : सरकारले लकडाउन खुकुलो बनाएसँगै झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भिड ह्वतै बढेको छ। यातायात व्यवस्था कार्यालय झापामा सवारी कर तिर्न आउने सेवाग्राहीको अत्यधिक भिड बढेसँगै कोरोना भाइरसको संक्रमण फैलिने त्रास समेत बढेको छ।

आइतबारबाट सरकारले सबै किसिमका सवारीसाधनको नवीकरण शुल्क तिर्न भन्दै निर्देशन जारी गरेपछि यातायात कार्यालयले पनि सूचना जारी गर्दै सेवा खुलाएको हो। यातायातमा सेवा खुलेपछि कर तिर्न यातायात कार्यालय परिसरमा दैनिक सयौँ सेवाग्राही लाइनमा बसेर सेवा लिइरहेका छन्। लाइनमा एक आपसमा टाँसिएर स्वास्थ्य सुरक्षाका उपाय नअपनाएर सेवा लिन बाध्य बनेका छन्।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सेवाग्राहीले आक्रोश पोखेका छन्। कर तिर्न बाध्य पार्ने तर स्वास्थ्य सुरक्षाको प्रबन्ध नमिलाउने सरकारको लापरबाहीले त्रास बढेको उनीहरूले बताए। 

‘सवारीको कर तिर्न आएको हो, तर यातायात कार्यालयको अवस्था हेर्दा नेपालमा कोरोनाको जोखिम नै छैन जस्तो लाग्न थालिसक्यो,’ उदय मैनालीले भने, ‘लाइनमा बसेर सेवा लिनुपर्ने, यहाँ कहाँ छ सामाजिक दूरी?’

त्यस्तै, कार्यालयमा आएका केही सेवाग्राहीले त अझ मास्क समेत लगाएका छैनन्। जसका कारण कर्मचारी र सेवाग्राही दुवै संक्रमणको जोखिममा रहेका छन्। बिनातयारी हचुवाका भरमा कर असुल्न खोजेकाले त्रास बढेको सेवाग्राही रोशन राजवंशीले बताए।

शुक्रवारसम्म सबै मोटरसाइकलको कर बापतको शुल्क तिरी नवीकरण गर्न कार्यालयले सूचना जारी गरेकाले अत्यधिक भिड बढेको कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताए। पूर्वतयारी बिना सूचना निकालिएकाले थाम्नै नसक्ने भिड जम्मा भएको र सामाजिक दूरीसम्म पनि कायम गराउन नसकिने वातावरण बनेको उनले स्वीकारे। तर, अब कार्यालयले यसलाई व्यवस्थापन गर्न टोकन प्रणाली लागु गरिसकेको उनको भनाइ छ।

उनका अनुसार आइतबार, सोमबार र मंगलबार तीन र चारपाङ्ग्रे तथा बुधबार, बिहीबार र शुक्रबार दुई पाङ्ग्रे सवारी साधनका धनीलाई सेवा प्रवाह गरिने छ। कार्यालयको फाँटमा सवारी धनीले आफ्नो कर लाग्ने मूल्य यकिन गरी टोकन लिएर नेपाल इन्भेस्टमेन्ट बैंकमा गएपछि भौचर भरेर रसिद अभिलेख गर्न सेवाग्राहीलाई उनले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.