ठेक्का लिएर पर्साका १७ सडक अलपत्र पार्‍यो, २० प्रतिशत काम, ५० प्रतिशत भुक्तानी

|
जिल्लामा सडक सञ्जाल दूरुस्त राख्न समन्वय गर्ने जिल्ला समन्वय समिति पर्साको आफ्नै हालत ।

पर्सा : निर्माण क्षेत्रमा बदनामी कमाएको पप्पु कन्स्ट्रक्सनले पर्साका १७ वटा सडक निर्माणको ठेक्का लिएको छ। सम्झौतअनुसार पप्पुले जेठ ९ गतेभित्र यी सडकको काम सम्पन्न गरिसक्नुपर्ने थियो।

अन्यत्रजस्तै यहाँ पनि पप्पुले अनेक बहाना देखाउँदै सडक निर्माण आलटाल गरिरह्यो। कुल ७३ करोड ७५ लाख ६९ हजार ९ सय २० रुपैयाँमा ठेक्का लिएको पप्पुले अहिलेसम्म ४० करोड रुपैयाँजति रकम बुझिसकेको छ। तर, अहिलेसम्म यी सडक निर्माणको काम जम्माजम्मी २० प्रतिशत मात्र सकिएको छ।  नतिजा उही हो : बर्खा लाग्यो, बाढी आयो, बाटो हिँडिसाध्य छैन। सदरमुकामसँग ग्रामिण क्षेत्रको सम्पर्क टुटेको छ। 

पप्पु कन्स्ट्रक्सन निलम्बित सांसद हरिनारायण रौनियारको हो। रौनियारको गृहजिल्ला पनि पर्सा नै हो। विवादित बनेपछि रौनियारले यो कम्पनी आफ्नै छोरा सुमित रौनियारलाई सुम्पेका थिए। सुमितले पनि निर्माण क्षेत्रमा बाबुकै बाटो पछ्याए। जतिसक्दो धेरै सडकको ठेक्का लिने, सेटिङ मिलाएर भुक्तानी लिने, काम अलपत्र पार्ने। आफ्नै गृहजिल्लामा पनि पप्पुले यस्तै गर्‍यो। 

हरपतगंज, अपौनी, कुँहुडी, घुर्मी र जसौली लगायत जिल्लाका १७ वटा सडक सञ्जालको निर्माण गर्न पप्पुले ठेक्का हात पारेको छ। तर जेठ ९ गतेसम्ममा सम्पन्न गर्नुपर्ने यी सडकमा २० प्रतिशत मात्र काम सकिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर सदरे आलमले बताए। उनी पप्पुको काम हेर्ने साइट इन्जिनियर समेत हुन्।कार्यालयका प्रमुख रन्जन कुमार दासका अनुसार आयोजना कार्यालयबाट पप्पुले अहिलेसम्म कुल ४० करोड जति रकम बुझिसकेको छ।

पप्पुका संचालक सुमित रौनियार भने सडक निर्माणका लागि जिम्मेवार निकायले साइट क्लियर नगरीदिँदा समयमा काम नसकिएको दावी गर्छन्। आयोजनाले २० प्रतिशत मात्रै काम सकिएको भनिरहँदा  उनी चाहिँ ४० प्रतिशत काम सकिएको दावी गर्छन्‌। 

जिम्मेवारी दिने निकाय र ठेकदारको लापरवाहीका कारण सडक सञ्जाल अझै जीर्ण छ। पर्साको सदरमुकामसँग ग्रामिण क्षेत्रको सम्पर्क तोडिएको छ। जिल्लाको दोस्रो सदरमुकामका रुपमा रहेको पोखरिया बाहेक सदरमुकाम जोड्ने अरु क्षेत्रका ग्रामिण सडकमा सवारी आवागमन ठप्प भएको छ।

असार लागेपछि मात्र सडक निर्माणमा जुट्ने साविककै कार्यशैली र निर्माण जिम्मेवारी लिएको ठेकेदारको चरम लापरबाही यतिखेर पर्साका सडकमा उदाङ्गो भएको छ। बर्खे हिलोमा  काम गरेको तमासा देखिएको छ। जिल्लावासी आहत भएका छन्‌।

समय छँदा ढुक्कसँग बसेको ठेकेदारले मध्ये बर्खाका बेला जिल्लाका प्रायः ग्रामीण सडक ग्राभेलिङ गर्न भन्दै माटो, बालुवा र गिटी जस्ता कच्चा पदार्थ थुपारेको छ। ती सामग्री राखेर सडक सम्याएका ठाउँमा पनि माटो, बालुवा, गिटी बसिसकेको छैन। सवारी सडकमा नै फस्नेदेखि सडक हिलाम्मे हुने र पैदल यात्रीलाई हिँड्न समेत सकस हुने गरेको छ। 

पोखरिया–मिर्जापुर सडकखण्ड पनि उस्तै 

जिल्लाको पोखरिया–मिर्जापुर सडकखण्डको लंगडी, हरपुर, भलुवहिया, मुडली र बसन्तपुर क्षेत्रका सडकको अवस्था पनि यात्रु समेत हिँड्न नसक्ने अवस्थामा छ।  यी सडक निर्माणको जिम्मा रोशन⁄रंजित र सागर जेभीले १३ करोड ५६ लाख ७७ हजार रुपैयाँमा लिएको हो। यी सडकको काम दुई वर्षभित्र काम सम्पन्न हुनुपर्ने हो। 

एकवर्ष बितिसक्दा पनि कलभर्ट बनाउने, सडकमा माटो, बालुवा र गिटी खसाउने बाहेक अरु काम गर्न भएको छैन। यी सडक बनाउन पूर्वाधार विकास कार्यालयको बजेट खर्च भइरहेको छ।

सडक सञ्जाल निर्माणका लागि जिम्मेवारी लिएका पप्पु लगायतका ठेकदार कम्पनीले समयमा नै सडक निर्माण नगरीदिँदा यो बर्खामा पनि जिल्लाबासीले पीडा भोग्नु परेको पर्सा उदयपुर घुर्मीका स्थानीयले बताएका छन्‌। ​

ठेकेदारको लापरबाहीका कारण जिल्लावासीले हरेक वर्ष बर्खाका बेला पीडा खेप्नु परेको छ। जिल्लाभित्रका सडक सञ्जालको स्तरोन्नती नभएसम्म यो क्षेत्रका राजनीतिकर्मीको असली रुप सडकमै देखिने सर्वसाधारणको बताउँछन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.