|

गुल्मी :  गुल्मीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका बजेटबाट विकासका कामले तीव्रता पाएका छन्। जिल्लाका स्थानीय तहमा यस कार्यक्रमबाट हेलिप्याड निर्माणदेखि सडक सुधारसम्मका कामहरु भएका छन्। सरकारले बेरोजगार युवाहरुलाई न्यूनतम रोजगारी दिने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरेको हो।

इस्माका प्रत्येक वडामा हेलिप्याड

इस्मा गाउँपालिकाले प्रत्येक वडामा हेलिप्याड निर्माण गरेको छ। गाउँपालिकाभरि ६ वटा हेलिप्याड निर्माण गरिएको निमित्त प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए।

चन्द्रकोटमा विद्यालयको एककाेठे भवन निर्माण

चन्द्रकोट गाउँपालिकाले किसिकोट प्राथमिक विद्यालयमा सो कार्यक्रममार्फत एककोठे भवन निर्माणसँगै गाउँपालिका परिसरमा फूलबारी निर्माण गरेको अध्यक्ष द्रोण खत्रीले बताए। 
यस्तै ससना कुलो, गोरेटे बाटो निर्माण गरिएको, र श्रमिकहरुको अनिवार्य रुपमा बैंक खाता खोली बैंकमार्फतै भुक्तानी दिइएको गाउँपालिकाले जनाएको छ। 

मदानेमा वडा कार्यालयमा सिँढी निर्माण  

मदाने गाउँपालिकाले भने र मलागिरि वडामा जाने सिँढी निर्माण गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए। यस्तै सडकका विभिन्न स्थानहरुमा पर्खाल लगाउने लगायत ससना भौतिक पूर्वाधारका काम भएका भण्डारीले बताए। 

रुरुमा श्रङ्गेश्वर तपोभूमिमा जाने पैदल मार्ग निर्माण

रुरुमा भने श्रङ्गेश्वर तपोभूमिमा जाने पैदल मार्ग निर्माण सँगै परिसर वरपर सरसफाइ गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए।यस्तै पोखरी संरक्षण, गोरेटा बाटाहरु निर्माणका काममा सो बजेट खर्च गरिएको गाउँपालिकाले जनाएको छ।

कालिगण्डकीमा गाउँघर स्वास्थ्य क्लिनिक बनाइयो 

गाउँपालिकाले वडा नं ४ पुर्तिघाट डाँडामा (हेल्थ हट) गाउँघर स्वास्थ्य क्लिनिक निर्माण गरेको छ। त्यस्तै सिँचाइका लागि पोखरी निर्माण, कुलोमर्मत लगायत सडकका नाली बनाइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए। 

यस्तै वडा नं २ को अर्बेनीको प्रवेशद्वारमा गेट निर्माण, ससना भौतिक पूर्वाधारका कार्यक्रममा रकम खर्च गरिएको गाउँपालिकाले जनाएको छ। यस्तै मालिका गाउँपालिकाले पानीका मुहान सरसफाइ, मालिका मन्दिरमा जाने पैदल मार्ग निर्माणमा बजेट खर्च गरेको गाउँपालिकाका प्रवक्ता शोभाकर गिरीले जानकारी दिए। यस्तै सडकहरुमा नाली निर्माण गर्ने, पँधेराहरु निर्माण गर्ने कार्यमा रकम खर्च गरिएको उनले जनाए।

गुल्मी दरबारमा पहिरो पन्छाउने काममा बजेट खर्च

गुल्मी दरबारमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पहिरो पन्छाउने काममा बजेट खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए। सडकमा झरेका पहिरोलाई पन्छाउने र सामान्य पूर्वाधारका काममा श्रमिकहरु लगाइएको गाउँपालिकाले जनाएको छ।

धुर्कोटमा प्रतीक्षालय र वृक्षरोपण

धुर्कोट गाउँपालिकाले प्रतीक्षालय बनाउने काम र वृक्षरोपण कार्यक्रमको बजेट खर्चिएको जनाएको छ। सँगै गाउँपालिकाले पोखरी बनाउने, चौपारी निर्माण, गोरेटो बाटोजस्ता काममा रकम खर्च गरेको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताए। 

मुसिकोटमा 'लेन्थ वर्कर'का रुपमा काम

मुसिकोट नगरपालिकाले भने ९३ जनालाई रोजगार दिएको छ। नगरपालिकाले ९३ जनालाई ‘लेन्थ वर्कर’को रुपमा  सडकका काममा लगाइएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए।

नगरपालिका भित्रका विपन्न र रोजगारी नपाएकालाई काम दिएको सापकोटाले दाबी गरे। रेसुंगा नगरपालिकाले पार्क निर्माण, पानीका मुहान संरक्षण, नालाहरू बनाउने, सोलिङ गर्नेजस्ता काममा रकम खर्च गरेको प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए। 


  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.