रित्तो गोजी र भोको पेटले ज्ञान बाँड्न सकिन्‍न

|

आशा हराएका शिक्षक

आफ्ना सन्तानलाई अंग्रेजी शिक्षा दिने उद्देश्यले जङ्गबहादुर राणाले विस १९१० मा दरबार स्कुल स्थापना गरेदेखि नै नेपालमा औपचारिक शिक्षाको शुरुवात भएको हो। दरबार स्कुलको प्रथम प्रधानाध्यापक मिस्टर क्यानिङ्ग थिए भने त्यसबेलाको सुपरिवेक्षणको जिम्मा मिस्टर रोजलाई दिइएको थियो। त्यति बेलादेखि नै शिक्षकको आवश्यक्ता शुरु भएको हो। सामान्यता शिक्षा दिने वा विद्यालयमा पढाउने व्‍यक्ति, अध्यापकलाई शिक्षक भनिन्छ शिक्षक शब्द गुरु शब्दसँग समान अर्थ राख्दछ।

​ जोन  एडम्सले शिक्षकलाई मानवको निर्माता मानेका छन्। प्लेटोले शिक्षकलाई विद्यार्थीको प्रकृति थाहा पाउने व्‍यक्ति भनेका छन्।  जोन डिबेले शिक्षकलाई बालबालिकालाई जीवनको जटिल क्षणमा निर्देशन दिने व्‍यक्तिको रुपमा हेरेका छन्। उनी भन्छन शिक्षक एउटा असल मित्र हो, एक दार्शनिक हो र एक पथ प्रदर्शक हो। अल्वर्ट आइन्स्टिनले भनेका छन् आफ्ना विद्यार्थीमा सिर्जनात्मक भावना र ज्ञानको आनन्द जगाउनु नै एक महत्वपूर्ण गुण हो।

एउटा असल शिक्षक हुनु सबैभन्दा जटिल काम हो। किनकि शिक्षकसँ आशा, विश्वास र अपेक्षा गरिएको हुन्छ। शिक्षक त्यो हो जसले सिकाइका लागि प्रेरणा दिने, बाटो देखाउने, हौसला प्रदान गर्ने र ज्ञानलाई माया गर्ने गर्दछ। शिक्षकलाई आफू जलेर अरूलाई उज्यालो बनाउने बत्तीसँग तुलना गर्ने गरिन्छ।

नेपालमा शिक्षाको अवस्था

नेपालमा शिक्षकलाई वर्गीकरण गरेर हेर्ने चलन छ। सरकारी शिक्षक र निजी संस्थाका शिक्षक। सरकारी विद्यालयमा २०५२ देखि २०६९ सम्म शिक्षकको खुला प्रतिस्पर्धा नै भएन। शिक्षक सेवा आयोगले ०६९ मा खोलेको खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ४३ शिक्षक छान्न दुई वर्ष लगायो। ०५२ देखि ०६९ सम्म शिक्षकको खुला प्रतिस्पर्धा नै नहुनाले शिक्षण पेशामा रुचि राख्ने व्‍यक्तिहरु गैरसरकारी शिक्षण सस्थामा जोडिन बाध्य भए। त्यसो त अपवादमा केही सरकारी जागिर छोडेर निजी विद्यालयमा रमाउने शिक्षक पनि छन्।

देशभरिका राहत शिक्षकले बेला बेलामा ऊर्जाशील जीवन शिक्षणमा बिताएको भन्दै स्थानीयको माग गर्दै प्रदर्शन गर्ने गरेका छन्। कोरोना अगाडि पनि शिक्षकको समस्या नभएको चाहिँ होइन। कोरोना भाइरसले सर्वत्र प्रभाव पारेको अवस्थामा शिक्षकहरु पनि प्रभावित भएका छन्।

अहिलेको विषम परिस्थितिमा निजी शैक्षिक संस्थाको शिक्षकहरु तलब नपाएर मारमा परेका छन्। केही ठाउँमा शिक्षकहरुले आन्दोलन नै गरे। सरकारी र गैरसरकारी शिक्षण संस्थाहरुमा गरेर करिब दश लाख व्‍यक्तिहरु शिक्षण पेशामा आबद्द भएको पाइन्छ। यसले नेपालको सन्दर्भमा सबैभन्दा धेरै पेशाकर्मी भएको पेशा शिक्षण हो भनेर सजिलै अनुमान गर्न सकिन्छ। बिडम्बना त्यही शिक्षकहरुको घरको चुल्हो नबल्दा न राज्य बोल्छ, न त शिक्षकहरुको हकहितको लागि भनेर खुलेका संघ संगठन बोल्छ? 

शिक्षामा दोहोरो नीति रहेसम्म शिक्षा विकासमा ठोस कार्य हुन त सक्दै सक्दैन संकटको समयमा कोही शिक्षक भोकै रहँदा, कोही डकारिरहन्छन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्र, शिक्षक सेवा आयोग, शिक्षा विकास  निर्देशानलय, शिक्षा बिकास तथा समन्वय एकाइ, स्रोतकेन्द्र, विद्यालय, विद्यालय व्यवस्थापन समितिको रूपमा नेपालको शैक्षिक प्रशासन सञ्‍चालित छन्। स्थानीय तहको निर्वाचनपश्चात भने माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको जिम्मामा छ। कोरोना महामारी र लकडाउनका कारण वर्तमान परिस्थितिमा गैरसरकारी शैक्षिक संस्था र सरकारी विद्यालयकै निजी स्रोतका शिक्षकहरूले तलब नपाउँदा किन जिम्मेवार बन्न सक्दैन स्थानीय सरकार?

अत्याधिक शुल्क लिएर सन्चालन मा ल्याइएका केहि निजी विद्यालयहरु मुनाफा कमाउने उदेश्यबाट प्रेरित छन भने केही विद्यालयहरुले सामान्य शुल्क लिएर पनि गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ। तर पनि एउटा देशमा दुईखाले विद्यालयहरु अस्तित्वमा छन्। धनीले पढ्ने र गरीबले पढ्ने विद्यालयको रुपमा यी विद्यालयलाई हेर्ने गरिन्छ। शिक्षा दुई खेमामा विभक्त देखिन्छ। तर, सोचनीय कुरा के छ भने सरकार समान शिक्षाको अवसर प्रदान गर्न चुकिरहेछ।

शिक्षामा दोहोरो नीति रहेसम्म शिक्षा विकासमा ठोस कार्य हुन त सक्दै सक्दैन संकटको समयमा कोही शिक्षक भोकै रहँदा, कोही डकारिरहन्छन्।

युनेस्कोका अनुसार नेपालमा झण्डै ९० लाख विद्यार्थीमा कोभिड-१९ का कारण बन्दको प्रभाव परेको छ। यो महामारीले नेपालमा शैक्षिक क्षेत्रलगायत मानव जीवनको सबै पक्षलाई नराम्रो प्रभाव पारेको छ। नेपालका शैक्षिक संस्थाले सूचना प्रविधिमार्फत दूरशिक्षाको कार्यक्रमहरु सञ्‍चालन गरिरहेका छन्। भोको पेटमा पढाइरहेका शिक्षकहरुको रोजीरोटी निजी शैक्षिक संस्था सञ्‍चालक, अभिभावक र विद्यार्थी संगगठनको दबाबको कारण चपेटामा परेको छ।

हरेक वर्ष अक्टोबर महिनाको ५ तारिकमा विश्व शिक्षक दिवस मनाउने गरिन्छ। यो सन् १९९४ बाट मनाउन शुरु गरिएको हो। त्यो दिन गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई स्थानीय एवं अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउन मद्दत गर्ने शिक्षकहरुको सम्‍मान गरिन्छ।

आमाले जन्म दिन्छिन् र उक्त बालबालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन्। तर त्यही शिक्षक लाई भर्खर गएको शिक्षा दिवसले छोएन। न राज्य बोल्यो, न सञ्‍चालक बोल्यो, यस्तै भए शिक्षक कक्षा कोठामा कसरी बोल्न सक्ला भविष्यमा?

निजी विद्यालयका सञ्‍चालकहरुले नाफा गर्दा कहिल्यै  शिक्षकहरुलाई अतिरिक्त बोनस रकम भनेर दिए त?  अहिल्यै ४ महिना नपुग्दै कोलाहल किन गरेका होलान्।पहिले गरेको नाफाले आफ्नो पारिवारिक सदस्य शिक्षकको मुहारमा खुशी ल्याएर विद्यालय सञ्‍चालन गर्न सक्दैन। एउटा प्राज्ञिक र मर्यादित शिक्षण सस्थाको छाता संगठन प्याप्सन, एन्प्याप्सन जस्तो संस्थाले मालिकको मात्र स्वार्थ हेर्न मिल्छ? व्‍यापार गर्ने सञ्‍चालक अनि घाटा तिर्ने अभिभावक?

रगत पसिना बगाएर तपाईंको व्‍यापार धान्ने शिक्षक रित्तो हात हुँदा सञ्‍चालक यो र त्यो बहनामा पन्छिन मिल्दैन। शिक्षक भोकाउनु भनेको सुन्दर नानीहरुको भविष्यमा कुपोषणको संकेत देखिनु हो। भविष्यको राष्ट्रका गहनामा दाग लाग्ने सम्भावना बढ्नु हो।

रित्तो गोजी भोको पेटले दिने ज्ञान कुनै महान गुरुले दिन सक्छ र? वर्षौं वर्ष निजी शैक्षिक संस्था हाँकेका  शिक्षकहरूलाई सञ्‍चालक तलब खुवाउन यति हिच्किचाउछ रु घरको सन्तान बिरामी पर्दा वा आपतमा पर्दा अभिभावकले उपचार गर्दैन र? त्यसैगरी निजी शैक्षिक संस्थाले बिना शर्त आफ्नो पारिवारिक सदस्य शिक्षकहरूलाई तलब खुवाउन पर्दैन र?  यस्तो विषम परिस्थिति सधैँ पर्छ र?  शिक्षकले हात झिके भने निजी शैक्षिक संस्था सधैँ रहन्छ र?

अरू मुलुकको उदाहरण हेर्ने हो भने पनि कैयौँ देशमा प्रतिष्ठित पेशाको रुपमा दर्ज छ शिक्षक। लक्जम्बर्गमा वार्षिक करिब ९० लाख नेपाली रुपैयाँ कमाउँछन्। स्विजरल्यान्डमा वार्षिक करिब ७९ लाख तलब थाप्छन् शिक्षक। जर्मनीमा वार्षिक करिब ७० लाख, नर्बेमा वार्षिक करिब ५४ लाख, डेनमार्कमा वार्षिक करिब ५३ लाख कमाउँछन् शिक्षक। तर, नेपालमा त घरको चुलो बलेन भन्या त हुन्। के शिक्षक आम मानिस होइन र? सर्वसाधारण पनि होइन र?

कुनै बेलाका शिक्षकहरू नेपाल ल क्याम्पसका शिक्षक सुबास नेम्वाङ पूर्व-सभामुख, जागृति मावि सिन्धुपाल्चोकका शिक्षक अग्निप्रसाद सापकोटा सभामुख, गल्कोट माविका शिक्षक झलनाथ खनाल भीमोदय मावि गोरखाका शिक्षक पुष्पकमल दाहा प्रधानमन्त्री भइसके। प्रदप ज्ञवाली जनवोध निमावी गुल्मीका शिक्षक, र्षमान पुन बालउदय मावि रोल्पाका शिक्षक, रामबहादुर थापा शारदा मावि काभ्रेका शिक्षक, दिनानाथ शर्मा  त्रिभुवन मावि वाग्लुङका शिक्षक, नारायणकाजी श्रेष्ठ सिद्धार्थ वनस्थलीका शिक्षकहरू पटकपटक मन्त्री भइसके। यिनीहरु किन शिक्षकको समस्या टुलुटुलु हेरेर बस्छन्

भनिन्छ शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ, शिक्षक दौडियो भने विद्यार्थी हिँड्छ, शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ, शिक्षक बस्यो भने विद्यार्थी सुत्छ, शिक्षक सुत्यो भने विद्यार्थी मर्छ। तर, यहाँ त शिक्षक नै मरिरहेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.