‘भोटेकोशी तटीय क्षेत्रका सबै जोखिम छन्, तत्काल सार्न सक्ने अवस्था छैन’

|

काठमाडौँ : सिन्धुपाल्चोक जिल्लावासीले पछिल्ला ६ वर्षमा हरेका साल ठुला प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ। यसवर्ष पनि बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा मानवीय क्षति भएको छ।

स्थानीय ठाडो खोलामा आएको पहिरोमा पुरिएका दुईको शव फेला परेको छ भन्ने अन्य २२ जना बेपत्ता छन्‌। यस्तै, भोटेकोशीको लार्चामा पनि एक जना बेपत्ता भएका छन्‌।

​​वर्षेनी प्राकृतिक विपत्तिले सताइरहँदा पनि भोटेकोशी तटीय क्षेत्रका स्थानीयले पुरख्यौली थलो छोड्न नचाहेकाले विपत्तिको सामना गर्नुपरेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल बताउँछन्। ‘हामीले भोटेकोशी करिडोरमा स्थानीयलाई अन्यन्त्र सार्ने बारेमा छलफल चलाएका हौँ। तर, उहाँहरु सर्न तयार हुनुभएको थिएन,’ उनले भने।

‘भौगोलिक हिसाबले पनि अनि जोखिम क्षेत्र भएकाले हामीले स्थानान्तरका लागि पहल गरेका हौँ तर, उहाँहरुले नमान्नु र हामीले उपयुक्त स्थान फेला पार्न नसक्दा समस्या परेको छ,’ उनले भने, ‘त्यसको विकल्पमा स्थानीयले हिउँदमा बजार बसेर व्यापार गर्ने र बर्खाका केही महिना बसाई सर्ने गर्नुपर्नेमा बाहेकको विकल्प देखिएका छैन।’

चीनसँगको प्रमुख व्यापरिक तातोपानी नाका त्यही बाटो भएर पर्छ। त्यसैले व्यापारीहरुले आफ्नो जिविका चलाउने आधार छोड्न नसकेको, तर बर्खाको समयमा बजार खाली गर्नु नै समस्या समाधान गर्ने आधार भएको उनी बताउँछन्‌। 

निरन्तर वर्षा भइरहेको र भोटेकोशीको बहाव बढिरहेको हुनाले तातोपानीदेखि खाडीचौरसम्मका स्थानीयलाई सुरक्षित स्थानमा जानका लागि प्रशासनले सुचना जारी गरिसकेको छ। प्रजिअ ढकालले भने, 'उहाँहरु नै यो बेलामा सचेत हुनुपर्ने देखिन्छ, जोखिम परेकालाई उद्धार गरेर राखेका छौँ। उहाँहरुलाई राहत र खाद्यान्नको व्यवस्थामा जुटिरहेका छौँ।’

‘सरकारले दीर्घकालीन र ठोस कदम चलाउनुपर्छ’

भोटेकोशी क्षेत्रको जोखिम न्यूनिकरण गर्नका लागि सरकारले दीर्घकालीन योजना अघि सानुपर्ने पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बताए। ‘भौगोलिक रुपमा पूर्णरुपमा जोखिम क्षेत्र हो, त्यसैले त्यस क्षेत्रको समाधानका लागि स्थानान्तरणको बाहेक अरु माध्यम छैन’ उनले भने, ‘त्यसैले सरकारले त्यस क्षेत्रको विषयमा गम्भीर भएर लाग्नुपर्ने देखिको छु।’

‘बजार क्षेत्रका स्थानीयको जिविका व्यापारबाट चलेको छ, अन्यको कृषिमा केन्द्रित छन्, त्यस क्षेत्रमा स्थानीयको उचित व्यवस्थापन र जिविकामा केन्द्रित हुनुपर्छ’ उनले भने, ‘भूगर्भविदहरुले भुकम्पपछि अति जोखिम क्षेत्रको रुपमा त्यो क्षेत्रलाई राखेको थिए, त्यसैले त्यहाँको स्थानीयको अन्यन्त्र बसाईसराई नभएसम्म प्रत्येक साल यस्तो विपत्तिको खेप्नुपर्छ।’

‘मुख्य गरी भुकम्पले थङथिलो पारेको क्षेत्रमा अन्धाधुन्ध डोजर चलेको छन्। बिना इन्जिनियर स्थानीय तहका नेतृत्वले डोजर लगाएर भौतिक निर्माणको नाममा विनाश निम्त्याएको छ,’ उनले भने, ‘अहिले पहिरो गएको क्षेत्रमा पनि डोजर लगाएर भौतिक संरचना निर्माण गरेको थियो। त्यही बेलामा स्थानीयले पहिरो जाने खतरा रहेको भन्दै स्थानीय म भएको ठाउँमा आएको थिएँ, अहिले पहिरो गयो।’

स्थानीय सरकार आएपछि डोजर लगाएर विनाशको नाममा विनाश निम्त्याउने काम धेरै भएकाले त्यसलाई रोक्नपर्ने, अन्यथा स्थानान्तरको विकल्प नगरेसम्म यहाँको स्थानीय सधै जोखिममा पर्ने उनी बताउँछन्‌।

पुरै पालिका स्थानान्तरण आवश्यक

प्रकृतिका प्रकोपले लपेटेपछि पुरै पालिका स्थानान्तरण गर्नुृपर्ने अवस्था देखिएको बाह्रविसे नगरपालिकाको उपप्रमुख सुशीला पाख्रिन बताउँछिन्। ‘सबै पालिका जोखिमा छन्, तत्काल सार्न सक्ने अवस्था छैन,’ उनले भनिन्। 

‘भूकम्पले हल्लिएको जमिन छ। त्यसमाथि बस्न उपयुक्त छैन भनेर भूगर्भविदहरूले भनिसकेका छन्। तर, तत्काल यहाँबाट सार्न सक्ने अवस्था छैन,’ उनले थपिन्, ‘हामीले विपद् व्यवस्थापन कोष त खडा गरेका छौँ। तर, त्यो सानो कोषले हामीले यहाँको यस्ता विपद् सामना गर्न सक्ने अवस्था छैन।’​

‘पूर्ण जोखिममा छ, स्थानान्तरको विकल्प छैन’ 

भोटेकोशी गाउँपालिका पूर्ण बाढी पहिरोको जोखिममा परेको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताउँछन्। ‘भोटेकोशी गाउँपालिका भित्र पर्ने सबै क्षेत्र पहिरोको जोखिममा छन्। त्यस क्षेत्रलाई भुगर्भविद्हरुले बस्न अयोग्य क्षेत्र भनेर नक्सा सहित हामीलाई दिनुभएको थियो,’ उनले भने। 

‘बाढी पहिरोको पूर्ण जोखिममा भएपनि स्थानीयले आफ्नो पुर्ख्यौली थलो भएकाले छोड्न चाहेका छैनन। तर, त्यहाँबाट लगेर पनि कहाँ राख्ने नजिकै राख्ने उपयुक्त ठाउँ छैन,’ उनले भने, ‘हामीले त्यस क्षेत्रका स्थानीयलाई जोखिम क्षेत्र भनेर जानकारी गराएको छौँ। तर, उहाँहरुको पनि विकल्प छैन।’

सो क्षेत्रमा पहिरो रोकथाम तथा न्युनिकरण गर्न सक्ने कुनै आधार नदेखेकाले सरकारले बेलैमा त्यस क्षेत्रको जनतालाई उपयुक्त हुने स्थानको पहिचान गरेर स्थानान्तरणको लागि पहल गनुपर्ने भएको उनले बताए। ‘जहिल्यसम्म स्थानीय यहाँ हुन्छन्। त्यहीलेसम्म यहाँका बासिन्दाले यस्तै प्रकोपको सामना गर्नुपर्ने हुन्छ,’ उनले भने।

भोटेकोशी गाउँपालिका अन्तर्गतका कोदारी क्षेत्र, तातोपानी, दुगुना गढी, लार्चा, लिस्ती, मार्मिङ, हिन्दी, बुल्कोट लगायतका अधिकांश क्षेत्र पहिरोको जोखिममा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.