|

गुल्मी : पहिरोका कारण जोखिममा रहेका स्थानहरुको स्थलगत अध्ययन गर्न भूगर्भविद् टोली गुल्मी आउने भएको छ।

जिल्लाको इश्मा गाउँपालिका वडा नं १ , ४ र ६ नं वडाका १९४ घरपरिवार र मुसिकोट नगरपालिकाका ५४ घरपरिवार हालै गएको पहिरोबाट विस्थापित छन्। १८ गते आएको पहिरोका कारण जोखिममा रहेकाले त्यस क्षेत्रमा बस्न योग्य हुने वा नहुने भन्ने बारेको अध्ययनका लागि भूगर्भविद्‌ टोली आउने जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ।

पहिरोग्रस्त क्षेत्रमा बसोबास गर्न हुने/नहुनेबारे अध्ययन गर्न भूगर्भविद्‌ पठाइदिन गृह मन्त्रालयलाई आग्रह गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए। 

१८ गते आएको पहिरोका कारण इश्मा मल्दीका १८ महिने बालक सिजन सारु र ७ वर्षकी बालिका अपेक्षा खत्रीको मृत्यु भएको थियो। पहिरोमा परी घाइते भएका ५ जनाको अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

सोही दिन चलेको पहिरोका कारण मुसिकोट नगरपालिका वडा २ का ५५ वर्षका भागीरथ घिमिरे बेपत्ता भएका छन्। उनी हालसम्म पनि फेला परेका छैनन्। उनको खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीहरु परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए। 

जोखिममा रहेकाहरुलाई स्थानीय विद्यालयमा राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। 

गत बर्ष साउन ७ गते सत्यवती गाउँपालिकाको ठुलोलुम्पेक र लिम्घामा गएको पहिरोमा पुरिँदा १३ जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.