|

म वर्षौंदेखि आफ्नो नाम, ठेगाना, उमेर र पेशा भन्दै आइरहेको छु, जब कोही नयाँ व्यक्तिले मेरो परिचय माग्छ। शरीरमा जोडिएका पत्रहरूको व्याख्या गर्नु नित्यकर्म भइसक्यो। थाहा छैन, यो कर्म कहिले सकिने हो? बरु मलाई बोधिसत्व प्राप्त गर्नु छैन, मात्र यसको पुनरुक्ति नभइदिए हुने थियो। शरीरलाई बनाउने तन्तु, अङ्गहरूको व्याख्या अनि त्यसले व्यक्त गर्ने रागहरूको वितरण गरिरहेको छु म। मलाई यी अस्वीकृत कृत्यहरू भन्न बाध्य बनाउने तत्त्वको पहिचान गर्न नसकी भौँतारिरहेको छु, आफ्नै मोहको जङ्गलमा। मान्छेहरू उमेर बिर्सेर यौवनलाई पूजा गर्छन्, म आत्मसम्मोहनमा डुबेर स्वभ्रमण गरिरहेको छु। बाह्य जगतको मित्थ्या दर्शन साँघुरो र अपर्याप्त लाग्न थालेदेखि भित्री रूप रङमा लहसिएको छु। कति बिराट र वैभवताले भरिएको छ, आन्तरिक आलोक! यदाकदा हेरिने हलिउडका गतिला सिनेमाको कथा भन्दा गहन र मर्मस्पर्शी परावर्तन शरीरभित्रका भित्ताहरूमा हेर्न, पढ्न र सुन्न सक्छु म, जसलाई म लामो समयदेखि 'मेरो जीवन' भन्दै आइरहेको छु। यहाँ सबैलाई जित्नु छ, पैसा कुम्ल्याउनु छ, अखबारमा छापिनु छ, चलदृष्यमा ठोक्किनु छ, त्योबाहेकको सामान्य सेरोफेरो चाह गर्ने अज्ञात व्यक्तिहरूको पहिचान असंभव छ। स्वभावतः उनीहरू चुपचाप छन् र आफ्नो कर्ममा लागेका छन्।

एकपछिको अर्को विवाद, त्यो पनि अर्थविहीन, रसविहीन विवादले गलित बनाइदिएको छ। महान् आत्माहरूको जीवनी धेरैपल्ट पढेर आफ्नो जीवनको साज मिलाउन बिर्सेर म अनायास जीवनप्रतिको गाढा मोहले ग्रस्त छु। एउटा अजङ्गको घरको कुरा, आलिसान गाडीको कुरा अनि सुविधायुक्त चौडा राजमार्गमा दौडन खोज्ने आमनालीबेलीको दौडमा पुग्न सकिएन। लाग्यो, सबै कुरा भोगूँ वा भोगेर भाग्न खोजूँ- आईपर्ने निर्णय र रोजाइहरू सधैँ दोभान र सुविधाले घेरिएका छन्। सपनाहरूको मोहमा परेको कृष्णको कालातीत् गीता बिर्सिई गौमम बुद्धको आर्यसत्यको द्रष्टा बनिरहेँ, यद्यपि, जीवनमा आशातीत् चमत्कारको घटना भएन। आकस्मिक चमत्कारको खोजमा कैयौँ ग्रिककथाहरू पढेर कैयौँ रोमन भगवानहरूको शरणमा परेँ, खै कोही आएन ती विधा-विधाका दक्ष भगवानमध्ये कुनै एक पनि झुल्किएन, जीवनको किनारामा। जब सानो थिएँ, अगतिला कामहरू गरेर ख्याति कमाएँ। कसैको फलफूल चोरेर खाएँ, कसैको गोप्य सहवासलाई पहिल्याएँ र कानमार्फत् उजिल्याएँ। अत्यधिक पढन्ते सहपाठीलाई कडा चिनियाँ भिक्स आँखामा लगाइदिएँ, केही थान खसीबाख्रा, केही थान कुखुरा, परेवा, ढुकुर र गौँथलीका अज्ञात बञ्चा (अण्डा) लाई घरबारबिहीन बनाएँ। अम्बाको रूखमा बसेर, बाँसको प्रखर झाङलाई छिचोलेर साँझपख भेडा, राँगा, गोरुसँग घर फर्कंदै गरेका थारूहरूका सिरानमा बिस्ट्याउनसमेत पछि परिएन। परिवारको माया पाउन, गुलियो झोल (औषधी) खान बिरामीको नक्कल कैयौँपल्ट पालन गरेँ, तर सम्झन्छु, म आफैँलाई पिताश्रीको अनुमान भन्दा टाढा भागेर हिँड्दा जस्तो आनन्द कहिल्यै भएन।

अनपढ आमाको एकोहोरो मायाले मौलाउँदै गएको म पढाइमा अब्बल हुनथालेपछि सबैतिरको माया र चासो पाउन थालेको थिएँ। त्यही लोभमा अध्ययन गतिलो बन्दै गयो। म ज्ञानका चासो भन्दा पनि प्रेमको लोभमा यी सारा मिहिनेतहरू गरिरहेको थिएँ। त्यो पाइरहनुपर्ने हुनाले पढाइमा मन लगाए पनि ती तमाम् आफ्नाहरूको आँखा आफूतिर खिच्नलाई बाहेक अरू कुनै प्रयोजन थिएन पढ्ने। माटो खानेहरूको सँगोलमा बाँचेको मुसा, भैँसी र घोँगी खाने थारूहरूको माझमा हुर्केको मेरो पुरानो उमेरको झाङमा सङ्कलित सम्झनाका धेरै धब्बामा कहीँ कतै घमण्ड गर्न लायकको आफूलाई पाउँदिनँ। कहिले अरूको निम्ति बाँचेँ, गरेँ, कहिले आफ्नो निम्ति। मलाई त्यतिबेला थाहा थिएन कि जीवनको उत्तर्रार्द्धमा आएर कुल हिसाबकिताब खोजिन्छ! आफैँलाई हिसाब बुझाउने दिन पनि आउनेछ भन्ने चेत ममा कहिल्यै आएन।

त्यो रेखाचित्रलाई जीवन्तता दिन रङ घोलिरहेका छौँ। यो घोलको संयोजन पनि उसकै हो, हामी निमित्त बनेर आआफ्नो क्रिया गरिरहेका छौँ। रेखाचित्रमा रङ भरेपछि चित्र स्पष्ट हुनेछ र तपाईँ सहजै देख्नसक्नुहुनेछ हाम्रो सम्बन्धको पूर्ण चित्र, जहाँ रहस्यको गर्भमा कैयौँ कालखण्ड बिताई जीवन पाएर रङ्गिइरहेका रेखाहरू, गोलका काला धर्सा, सधैँ उही लयमा रहिरहन कहाँ सक्छन् र?

गणितमा कमजोर हुनुको स्वार्थ नै त्यही थियो कि म गरेका सबै कुरा बिर्सन चाहन्थेँ। टिकट सङ्कलन वा प्राचीन रूपैयाँ सङ्कलन गरेर अत्यासलाग्दो, बिना अर्थको प्रयोजनविहीन जीवनी प्रदर्शनीमा राख्नुपर्ला भन्ने मलाई लागेको थिएन। यमराजको सुन्दै आएको कथालाई उसरी नै बिर्सिएँ- कैयौँपल्ट मलामीको लामबाट भागेको छु। सम्झन्छु, त्यो ओराही खोला किनारको पहेँलो दृश्य जतिबेला जीवनमा पहिलोपल्ट लास बोक्न अघि हानिएको थिएँ र सम्मुखमा लडिरहेका गोडा निरन्तर हल्लिरहँदा मलाई एक अजीव किसिमको भयले गाँजेको थियो। लाग्यो, यी गोडाहरू जिउँदै छन्, क्षणभरमै मलाई लात लगाएर बात मार्छन्। बाल्यचेतको भूत अहिलेसम्म तरोताजा छ। खोलाछेउमा उडेको धुवाँ, खयरको आलो खरानी र सिमलका कोसाबाट छुट्टिएर त्यसैत्यसै बताससँगै बत्तिएका भुवाहरू नुहाइवरी घर फर्केको निर्जन स्मृति लाडिएर बसेको छ। म यही हुँ, यही मेरो परिभाषा भनेर सिद्धान्तमा उनिनसकेको छैन। तृष्णा र मायाका छायामा शरीर तैरिरहेको छ। अस्तित्वको रङमा रङ्गिएका रङ्गिला आत्मीयजन विनोद सोध्छन्, 'भन्नुस् न तपाईँहरूको सम्बन्ध कस्तो खालको हो? कहाँ पुग्यो?' म उनलाई के जवाफ दिऊँ, यो विराट रहस्यको लीलामा मैले उनलाई कसरी भेटेँ र उनी अहिले कहाँ छन्? फेरि पनि हातमा गन्न सकिने मित्रको उच्च ओहोदा बोकेका उनलाई खाली उत्तर कसरी दिन सक्थेँ र! भनेँ, 'यो विराट अस्तित्वले हाम्रो सम्बन्धको सुरुवात गरेको हो। तपाईँलाई अचम्म लाग्ला मेरो कुरा सुनेर तर साँचो यही हो कि हाम्रो भेट हुनुअगावै नै अस्तित्वले रेखाचित्र कोर्न सुरु गरिसकेको थियो। अहिले हामी भेटियौँ कालखण्डको यो कित्तामा र प्रयत्न गरिरहेका छौँ अस्तित्वको।

त्यो रेखाचित्रलाई जीवन्तता दिन रङ घोलिरहेका छौँ। यो घोलको संयोजन पनि उसकै हो, हामी निमित्त बनेर आआफ्नो क्रिया गरिरहेका छौँ। रेखाचित्रमा रङ भरेपछि चित्र स्पष्ट हुनेछ र तपाईँ सहजै देख्नसक्नुहुनेछ हाम्रो सम्बन्धको पूर्ण चित्र, जहाँ रहस्यको गर्भमा कैयौँ कालखण्ड बिताई जीवन पाएर रङ्गिइरहेका रेखाहरू, गोलका काला धर्सा, सधैँ उही लयमा रहिरहन कहाँ सक्छन् र? तिनको भौतिक कायाकल्प हेर्न पनि कति लामो समयको प्रतीक्षा गर्नुपर्ने रहेछ! अझ कति नामहरू होलान् रहस्यले बेरिएका तर समीपमा रहेर थाहा नपाएजस्तो गरी मौलाएका! पूर्व जीवनको खिल्ली उडाउने लौकिक लौकाहरूको जाँतोमा वर्तमान सबै त्यही विगतको फल हो भन्दा अपत्यारिलो अवैज्ञानिक भन्छन्। तिनीहरूलाई सम्झाउन बुझाउन संभव छैन। भोग्नेहरूको कथा र भुक्नेहरूको व्यथा सधैँ एकनासको कहाँ हुन्छ? आगत यतिका रहस्यले नढाकिएको भए कति निरस र खल्लो हुनेरहेछ समाजको चक्र, जीवनको घिर्नी। भन्नेहरूले सबै कुरा भगवानको जिम्मा लगाए पनि तात्त्विक कुरा अर्कै छ। अज्ञातको डरले सधैँ सन्त्रास ल्याइरहन्छ, अतिरिक्त शैलीमा बाँच्नलाई सहायता गर्छ।

यिनै बीचबाट बगेको हाम्रो सम्बन्ध थियो। सङ्कलित जन्मपात्रो मेरो हातमा छैन, त्यसैले आउने यामको किटान गर्न असमर्थ छु। अहिले जे रोप्यो, पछि त्यही फल लाग्ने कुरामा भने विश्वस्त छु। क्रियाको प्रतिक्रिया हो अथवा कर्मको फल हो, हाम्रो व्यावहारिक दर्पण हेरिरहेको छु- मित्र विनोदको जिज्ञासालाई। उनको स्वभावको सिलोटमा कतिले कैयौँ पटक लेखेँ, कोरेँ र मेटेँ तर पछिल्लो मौसममा आएको विरक्तलाग्दो उदेकको हुरीमा इमान्दारीको सुइरो रोपियो। त्यसमा कसैले रङ छर्कियो र अमीलो दल्यो, पछि त्यो ट्याटु भयो। त्यसलाई धुने प्रयासमा उनले हजार जोड किमी को यात्रा गरे र आफैँलाई आफैँदेखि परीचय गराउन थाले। उनले सोधेको प्रश्नमा म आफैँ घोत्लिरहेकोछु, के असल के खराब भन्ने कुराको मनन् गरिरहेको छु। परोपकारी एक जोर आँखाले मृत्युको दिन सम्झेर बाटो किनारमा वरपिपल रोपे तर कोही आई तिन दिनसम्म लगातार सरापिरह्यो ती रूखलाई र अन्ततः सुकेर गए ती भावी छहारी, त्यसको केही दिनमै शरीर छाडे ती प्रौढले।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.