बाढी पहिरोका कारण बाँकी ल्याउन समस्या

|

काठमाडौं : एसइई परीक्षाको आन्तरिक मूल्यांकनको लागि देशभरका निजी तथा सामुदायिक विद्यालयहरूबाट दुई लाख ७५ हजार विद्यार्थीको डाटा आएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुर (कक्षा १०) का परीक्षा नियन्त्रक राम राजन खकुरेलले यसबारे जानकारी दिएका हुन्।

खकुरेलका अनुसार यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनका लागि डाटा आउनुपर्ने छ। ‘एसइईको आन्तरिक मूल्यांकनका लागि चार लाख ८३ हजार विद्यार्थी मध्ये अहिले सम्म करिब दुई लाख ७५ हजार विद्यार्थीहरुको डाटा हामीसँग आएको छ,’उनले थाहाखबरसँग भने,‘स्कुलहरूले मूल्यांकन गरेर पठाउने काम धमाधम गर्दै छन।’ सफ्टवेयरबाट आउने भएकाले अहिलेसम्म कति विद्यालयले मूल्यांकनको विवरण पठाएको छ भनी यकिन तथ्यांक नभएको उनले जानकारी दिए। ​

बाढी पहिरोले आन्तरिक मूल्यांकनको हार्ड कपी ल्याउन समस्या

वर्षासँगै विभिन्न ठाउँमा आएको बाढीपहिरोको कारण विद्यार्थीको आन्तरिक मूल्यांकनको हार्ड कपी ल्याउन समस्या भएको उनले बताए। उनका अनुसार अनलाइनबाट मूल्यांकनको डाटा पठाएर मात्रै हुँदैन। त्यसको हार्ड कपी पनि चाहिन्छ। ‘हार्ड कपीबिना विद्यार्थीको परिणामको मुल्यांकन रुजु गर्न मिल्दैन,’उनले भने,‘हार्ड कपी ल्याएपछि मात्रै रुजु गर्नुपर्छ। अहिले जताततै बाढी पहिरोले बाटो बन्द छ। त्यसैले हार्ड कपी हामीकहाँ ल्याउन जिल्लाहरुको स्कुललाई समस्या भएको छ।’

बाढी पहिरोकै कारणले एसइईको सबै काम सम्पन्न गर्न अझै समय लाग्ने उनको अनुमान छ। उनले भने,‘छिट्टै सबै एसइईको काम सकाउने हाम्रो लक्ष्य थियो। यस्तै विपदले ढिलाई हुने भयो। कहिले सबै काम सकिन्छ भन्ने अहिले भन्न सकिन्न।’ उनका अनुसार ग्रामीण भेगमा दक्ष प्राविधिक जनशक्ति नहुँदा मूल्यांकनको काम गरी अनलाइनमार्फत पठाउन पनि विद्यालयमा समस्या भएको छ। सरकारले कोरोना महामारीका कारण यस वर्षको एसइई परीक्षा नगराई आन्तरिक मूल्यांकनबाट गराउने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.