खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

|

भद्रपुर : चार दिनदेखि परेको अविरल वर्षासँगै खोलामा आएको बाढी गाउँघरमा पस्दा झापामा १७२ घरका ७५२ जना विस्थापित भएका छन्। माई खोला, कन्काई नदी र पालिया खोलामा आएको बाढीले तटीय क्षेत्र कटान गर्दै गाउँघरमा पानी पस्दा उनीहरू विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। 

उनका अनुसार माई खोलामा आएको बाढीको पानी नहर नाघेर गाउँ पस्दा गौरीगञ्ज गाउँपालिका १ स्थित झोडा बस्तीका दुई परिवार विस्थापित भएका छन्। दुई परिवारका १४ जनालाई प्रहरीले त्यहाँबाट उद्धार गरी इन्द्रेणी प्राविमा सारिएको छ। माई खोलामा आएको बाढीले तटीय क्षेत्र कटान गर्दा शिवसताक्षी नगरपालिका १० सुकुम्वासी बस्तीका चार घरपरिवारलाई त्यहाँबाट अन्यत्र सारिएको छ। 

अन्यत्र सारिएको उनीहरूलाई रेडक्रस सोसाइटी झापाले तिर्पाल दिएका छन्। त्यस्तै झापा गाउँपालिका १ कुमरखोदमा माई खोलाको पानी गाउँ पस्दा ११४ घरधुरी डुबानमा परेका छन्। ११४ घरधुरीका अन्दाजी ५ सय जनालाई गाउँपालिका २ स्थित जुडो प्राविको भवनमा सारिएको डिएसपी थापाले जानकारी दिए। कनकाई नदीमा आएको बाढीको पानी गौरीगञ्ज गाउँपालिका १ स्थित झिलझिलेमा पस्दा ४३ घरधुरी डुबानमा परेका छन्। ४३ घरधुरीका १५० जनालाई त्यहाँबाट उद्धार गरी इन्द्रेणी प्राविको भवनमा सारिएको छ। 

त्यसैगरी शिवसताक्षी नगरपालिका ६ स्थित शिवगञ्जमा माई खोलामा आएको बाढी नहर नाघेर पानी गाउँमा पस्दा ७ घरधुरी डुबानमा परेका छन्। सो घरधुरीका २९ जनालाई उनीहरूको आफन्तकोमा सारिएको छ।

मेचीनगर नगरपालिका ७ स्थित सिद्धार्थ टोलमा पालिया खोलामा आएको बाढीको पानी पस्दा ९ घरधुरीका ४२ जना विस्थापित भएका छन्। उनीहरूलाई प्यारीभिट्टा बसपार्कको भवनमा सारिएको डिएसपी थापाले जानकारी दिए। झापाका नदीहरूमा पानीको बहाव घटने क्रममा रहेको बताउँदै उनले भने, ‘अहिलेसम्म बाढीले ठुलो क्षति पुर्याएको छैन। पानी पर्ने सम्भावना रहेकोले डुबानमा परेकालाई सुरक्षित स्थानमा सारिएको हो।’ 

खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

मलामी गएका एक जनालाई शनिवार बिरिङ खोलाले बगाउँदा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीय राजेश गणेश रहेको प्रहरीले जनाएको छ। मलामी शुद्धि भन्दै नुहाउने क्रममा उनलाई बिरीङ खोलाले बगाएको थियो। उनको शव ३ किलो मिटर दुरीमा अर्थात् बाह्रदशी गाउँपालिका वडा नम्बर २ मा फेला परेको थियो। 

त्यस्तै मेची नदीमा नुहाउने क्रममा एक जना बेपत्ता भएका छन्। भद्रपुर नगरपालिका ३  महेशपुर बस्ने ३३ वर्षीय हिरण राईलाई शनिवार नदीले बगाएको हो। उनको शव अझै फेला नपरेको प्रहरी कार्यालय झापाका डिएसपी थापाले जानकारी दिए। उनको खोजी कार्य भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.