विचार

भानुभक्तको आदिकविमा मतान्तरको राजनीति

असार २९, २०७७

    वि सं १९४८ सालको कुरो हो, भानुभक्तलाई मोतीरामले ‘कवि भानुभक्तको जीवन चरित्र’ कृतिमार्फत सर्वप्रथम आदिकवि भनेर पूरा पूर चिनाए। तर, यसबारे कतै कुनै प्रतिवाद र तर्क वितर्क भएन।

    रघुनाथ पोखरेलको ‘रामायण’को ‘सुन्दर काण्ड’ दोस्रो सँस्करणको मुखबन्ध (भूमिका : १९८९)मा दीनानाथ सापकोटाले भानुभक्त आदिकवि होइन, रघुनाथ हुन् भनेर लेखिदिए। त्यस बेहोराले केही भ्रम सिर्जना पनि गरेको थियो, तापनि वि सं १९९७ सालमा श्री ३ प्रधानमन्त्री (प्राइममिनिस्टर) जुद्ध शमशेरबाट ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुमप्रमाङ्गी भयो।

    त्यसबेला श्री ३ जुद्ध शमशेर राणाले भारत दार्जिलिङको नेपाली साहित्य सम्मेलनलाई ‘भानुभक्त स्मारक’ ग्रन्थका प्रकाशनका सन्दर्भमा प्रदान गरेको उक्त स्मारक ग्रन्थमा प्रकाशित सन्देशमा भनेका थिए- 'सगुण स्वरूप भगवान् श्री रामचन्द्रको पवित्र चरित्र व्याख्यान भएको ‘अध्यात्म रामायण’लाई सरल नेपाली भाषामा श्लोक बद्ध गरी उतारी राम रस फैलाउने कवि भानुभक्ताचार्य नेपाली भाषाका आदिकवि हुन् भने पनि हुन्छ, त्यस्ता चिरस्मरणीय व्यक्तिको स्मारक ग्रन्थ नेपाली साहित्य सम्मेलनले प्रकाश गर्न लागेको बहुतै बढिया हो।'

    यसबारेको २००३ सालदेखि इतिहास शिरोमणि बाबुराम आचार्यलगायत त्यसपछि विभिन्‍न विद्वानहरू हुँदै महासमालोचक प्राध्यापक डा.वासुदेव त्रिपाठीले र त्यसपछि पनि अरूहरूले प्रकट गरेका बेहोरामा सही थप्दै ठाकुर पराजुलीले ‘आदिकवि’को परिभाषा यसरी प्रस्तुत गरेका छन्- 'भानुभक्तलाई ‘आदिकवि’ भनिन्छ।

    जुद्ध शमशेरबाट घुमाउरो तालमा हुकुम भए तापनि यस कुराले राजकीय मान्यता पनि प्राप्त गर्‍यो। त्यसपछि नेपाली जातिका माझमा भानुभक्तलाई सहज रूपमा ‘आदिकवि’ भनेर चिनाउन थालियो।

    अनि क्रमशः उनको त्यो ‘आदिकवि’को सम्मानले नेपालका डाँडापाखा र नेपाली संसारलाई ढाक्न थाल्यो। भानुभक्तको आदिकवि उपाधिबारे मत मतान्तर पनि देखिएका छन्। तर, नेपाली भाषाका प्रायः सम्पूर्ण विज्ञजनहरूले भानुभक्तलाई ‘आदिकवि’ नै भनेर चिन्ने गर्छन्।

    यस बारेमा वि सं २००३ सालदेखि इतिहास शिरोमणि बाबुराम आचार्यलगायत त्यसपछि विभिन्‍न विद्वानहरू हुँदै महासमालोचक प्राध्यापक डा.वासुदेव त्रिपाठीले र त्यसपछि पनि अरूहरूले प्रकट गरेका बेहोरामा सही थप्दै ठाकुर पराजुलीले ‘आदिकवि’को परिभाषा यसरी प्रस्तुत गरेका छन्- 'भानुभक्तलाई ‘आदिकवि’ भनिन्छ।

    यो उनको उपाधि या विशेषण मात्र नभएर उनको समकालीन नेपाली कविताकै साङ्केतिक नाम हो। त्यस युग भरि भानुभक्त सर्वत्र छाएका छन्। एकप्रकारले उनी प्राचीन नेपाली साहित्यका पर्याय नै भए। जनताको दिललाई नछोएसम्म र त्यसको स्पन्दनसँग नमिसिएसम्म कविताले आफ्नो अस्तित्व प्रमाणित गर्न सक्तैन भन्ने कुरा भानुभक्तले त्यहाँ देखाइदिए।

    भानुभक्त पूर्वका टुटे फुटेका अभिव्यक्तिमा रचिएका र सीमित परिधि ओगटेका रचनाले कविताको सग्लो अनुहार प्रस्तुत गर्न सकेका थिएनन्। त्यस्तो बेलामा भानुभक्त आएर काव्य रचनाको सही पहिचान गराए।

    त्यति मात्र होइन, त्यसमा उनले युगीन चाहना बुझेर नेपालीपनको मर्मसमेत थपे। नेपाली काव्य यात्राको यो सही चेष्टा थियो। ‘आदिकवित्व’लाई प्रश्नचिन्ह लगाउने पण्डितहरू प्रायः यस उपाधि वा विशेषणलाई अभिधेय अर्थमा व्याख्या गर्ने व्यर्थको चेष्टा गर्छन्।

    अभिधेय अर्थबाट साहित्यमा फट्याइँ गर्ने हजारौं बखेडा निकाल्न त सकिन्छ तर त्यसबाट व्यञ्जित अभिप्राय पहिल्याउन त किमार्थ सकिँदैन। वाल्मीकिलाई ‘आदिकवि’ भनिन्छ र उनको काव्यलाई ‘आदिकाव्य’ मानिन्छ।

    यसको अर्थ वाल्मीकिभन्दा पहिले कुनै कवि थिएनन् भन्न खोजेको होइन। वाल्मीकिभन्दा सयाैँ वर्ष अगाडि ‘ऋग्वेद’ जस्तो विश्व प्रसिद्ध कविता-भण्डार तयार भइसकेको थियो। भानुभक्तका सम्बन्धमा पनि यही कुरा लागू हुन्छ। साथै भानुभक्तलाई आदिकवि मानेर नेपाल सरकारले नेपालको राष्ट्रिय विभूतिको सम्मान दिएको छ।

    भानुभक्तको आदिकविको महिमा गाउन भारतीय नेपालीले नेपालवासीलाई सिकाएको बेहोरा बिर्सन हुँदैन। भारतको दार्जिलिङमा त सरकारी विदासहित जनस्तरमा भानु जयन्तीको परम्परा व्यापक बनिसक्यो।

    भारतीय नेपाली भाषाको सिक्किम, असम आदि र अरू अरू बस्तीबस्तीमा पनि भानु जयन्तीको महिमा बढ्दो छ। भारतको दार्जिलिङमा सन् १९४६ मा पहिलो भानु जयन्ती मनाइएको थियो। फाट्टफुट्ट वार्षिक भानुजयन्ती मनाउने कार्य नेपालमा २००३ सालतिरैदेखि र राजधानी काठमाडौँमा २०१० सालदेखि थालिएको भेटिन्छ।

    सर्वप्रथम भानुभक्तको सालिक २००६ सालमा दार्जिलिङको चौरस्तामा स्थापना गरिएको थियो। अनि त्यसको १० वर्षपछि मात्र अर्थात् २०१६ सालमा काठमाडौंको दरबार हाइस्कुलको पर्खालमा टाँसेर भानुभक्तको सालिक निर्माण गरियो। त्यसपछि भानुभक्तका सालिक देशका विभिन्न भूभाग र विदेशमा पनि प्रतिस्थापित हुन थाले।​


    भानुभक्तको नाउँमा विभिन्न ठाउँमा पुरस्कार, सम्मान, जन संस्था, शिक्षण संस्था, पुस्तकालय आदि पनि निर्माण भएका छन्। देशविदेशका विभिन्न क्षेत्रका नगर, गाउँ आदिका अनेक ठाउँ, चोक आदिको नामकरणसँग भानु जोडिन पुगेका छन्। भानुभक्तको सम्मानमा नेपाल सरकारबाट हुलाक टिकट र नेपाल राष्ट्र बैङ्कबाट सिक्कासमेत निकालिएको छ।

    यादव खरेलको अत्यन्तै दूरदर्शि सोचका कारण उनैको पहल, सक्रियता र निर्देशनमा ‘आदिकवि भानुभक्त’ शीर्षकको चलचित्रसमेत निर्माण भयो। नेपाली परिवेशमा चाहे सरकारका तर्फबाट होस् र चाहे जनताका तर्फबाट होस्; भानुभक्तलाई दिइए जति उच्च सम्मान अन्य कुनै साहित्यकारले पाएका छैनन्। वास्तवमा उनलाई नेपाली जाति र भाषाको एकता सूत्र र आदिकविका रूपमा नै ग्रहण गरिन्छ।

    भानुभक्त भनेका ‘आदिकवि’ र आदिकवि भनेका ‘भानुभक्त’ भन्ने पर्याय नेपाली बृहत् संसारमा सुपरिचित भयो। ‘नेपाली बृहत् शब्दकोश’मा नै आदिकविको अर्थ परम्परा स्थापित गर्ने प्रारम्भका कवि (संस्कृतका वाल्मीकि, नेपालीका भानुभक्त, अङ्ग्रेजीका चौसर इ.) लेखिएको छ।

नरेन्द्रराज प्रसाई

नरेन्द्रराज प्रसाई लेखक तथा साहित्यकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]