|

कपिलवस्तु : कपिलवस्तुको तौलिहवा र अर्घाखाँचीको सन्धीखर्कमा करदाता सेवा कार्यालय स्थापना भएका छन्। 

आन्तरिक राजस्व कार्यालय कृष्णनगरको माताहतमा सञ्चालन हुने यी कार्यालय साउनदेखि सञ्चालनमा आउने छन्। राजस्व कार्यालयले सञ्चालन तयारी गरे पनि विभागले कर्मचारी नपठाउँदा  कसरी सञ्चालन भन्ने अन्योल छ। 

यसअघि यी दुई जिल्लाको काम राजस्व कार्यालय कृष्णनगरमा भइरहेको थियो। सेवाग्राहीको चाप अत्यधिक थियो। सेवा विस्तार भएपछि दुवै जिल्लाका करदातालाई सजिलो हुने भएको छ।

‘सेवा सञ्चालनका लागि आतुर रहेका छौँ। तर विभागले कर्मचारीको व्यवस्थापनको हुन केही ढिला हुन सक्ने जनाएको छ। करारका कर्मचारीबाट सञ्चालन गर्न विभागसँग अनुमति मागे पनि राख्न नमिल्ने बताइएको छ,’  आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख पूर्णप्रसाद न्यौपानेले भने, ‘थप भएका दुई कार्यालयबाट सेवा दिन सकिने अवस्था छैन। जेनतेन एउटा कार्यालय सञ्चालन गर्न सकिन्छ। कर्मचारीको सङ्ख्या कम हुँदा वैकल्पिक व्यवस्था गर्न समेत सहज छैन।’

सेवा कार्यालयमा छजनाको दरबन्दी हुने व्यवस्था रहेको छ। कर अधिकृत प्रमुख हुने गरी दुईजना नायव सुब्बा, एकजना कम्प्युटर अपरेटर, एकजना सवारी चालक र दुई कार्यालय सहयोगी हुन्छन्। दुई कार्यालयका लागि १२ जना कर्मचारी आवश्यक पर्छन्। तर राजस्व कार्यालय कृष्णनगरमा १३ कर्मचारीबाट सेवा प्रदान गरिएको छ। कार्यालयमा पाँचजना अधिकृत, तीन नायब सुब्बा, दुई सवारी चालक र तीनजना कार्यालय सहयोगी रहेका छन्।

सन्धिखर्कमा स्थापना भएको कार्यालयले अर्घाखाँची जिल्ला र तौलिहवाको कार्यालयले बुद्धभुमि नगरपालिका, कपिलवस्तु नगरपालिका, वाणंगगा नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका हेर्ने कर अधिकृत पीताम्बर खनालले बताए। 

यता करदाता सेवा कार्यालय स्थापना भएपछि सेवाग्राही खुसी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.