|

काठमाडौं : सरकारले काठमाडौं ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरस ( कोभिड-१९) परीक्षणको लागि अनुमति दिएको छ।

उपत्यका ४ सहित ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरसको पिसिआर विधिबाट जाँच गर्न अनुमति दिइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिअनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) टेकुले मापदण्ड पुगेका काठमाडौंका ४ र बुटवल र नेपालगञ्जका २ गरी कूल ६ वटा निजी प्रयोगशालालाई कोभिड-१९ को पिसिआर परीक्षण गर्न अनुमति दिएको बताइएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताका अनुसार काठमाडौं उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पतालको प्रयोगशाला, सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाइग्नोस्टिक ल्याब (सिडिएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरको प्रयोगशाला रहेका छन्।

 यस्तै उपत्यका बाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याब र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका प्रवक्ता गुप्ताले बताए।

प्रवक्ता गुप्ताले यी प्रयोगशालामा सरकारले संकलन गरेको नमुनाहरूको परीक्षण हुने र त्यसबापत सरकारले प्रति नमूना ५ हजार ५०० को दरले सोधभर्ना गर्ने बताए। उनले भने, ‘यी प्रयोगशालाले सरकारी संकलन गरेको नमूना मात्रै परीक्षण गर्ने तरिकाले हामीले अनुमती दिएका हौँ। ’

गुप्ताले स्वीकृति पाए पनि यी प्रयोगशालामा अहिलेसम्म नमुना पुगि नसकेको जानकारी दिए । अहिले नमुना कम रहेकाले सरकारकै २५ वटा प्रयोगशालाबाट परीक्षण भइरहेको उनले बताए। ‘अहिले नमुना नै कम छ जसले गर्दा सरकारी प्रयोगाशालामा नै पुगेको छैन, तर आवश्यक परेको खण्डमा अब यी निजी क्षेत्रका प्रयोगशालामा पनि परीक्षण हुने गरी  स्वीकृति दिइएको छ', उनले भने। 

कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन्। सरकारले अझै केही प्रयोगशाला थप्ने तयारी गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.