|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन्। 

पृथ्वीनारायण शाहले अनेक राज्यलाई एक बनाएर गरेको नेपाल एकीकरणमा लागि आदिकवि आचार्यले भाषा साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उनले बताएका छन्। 

भानु जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले नेपाली भाषा, साहित्यको माध्यमबाट राष्ट्रको एकीकरण गर्ने एक अभियन्ता भानुभक्त आचार्य रहेको बताए।  

‘पृथ्वी नारायण शाहले अनेक समूहमा रहेका राज्यलाई एक बनाएका थिए। भूगोलको एकीकरणमात्र राष्ट्रको एकीकरण हुँदैन, भाषा साहित्य पनि त्यसको महत्वपूर्ण पक्ष हो', उनले भने, 'नेपाली भाषा र साहित्यको माध्यमबाट राष्ट्रको एकीकरण गर्ने अभियन्ता भानुभक्त आचार्य हुन्।’

भाषा र साहित्य कुनै एक समुदाय, जात र धर्मको मात्रै हुने नभई समग्र मानव सभ्यताको प्रतिनिधित्व गर्ने उनले जनाए। प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्य पर्यटनलाई मुलुकको समृद्धिसँग जोडेर अगाडी बढ्नुपर्ने बताए। आदिकवि आचार्यसँग जोडिएका विभिन्न ठाउँहरूलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडी बढ्न सके मुलुकको समृद्धिमा त्यसले सहयोग पुर्‍याउने उने उनको भनाइ। 

जन्म जयन्तीका अवसरमा रानीपोखरी नजिकको भानुको सालिकमा माल्यार्पण गरेर भानुको सम्मान गरिएको छ। देश तथा नेपाली भाषीहरुको बाहुल्यता रहेका देश बाहिरका क्षेत्रमा समेत आदिकवि आचार्यको २०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ। 

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा जन्मिएका भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा मनाइन्छ । सोमबार नै नेपाली बृहत शब्दकोषको मोबाइल एप समेत सार्वजनिक गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.