|

काठमाडौं : संविधान संशोधन प्रस्ताव र चुनावको प्रक्रिया सँगसँगै अघि बढाउने सरकारको प्रस्तावलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्वीकार गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटामा भएको बैठकमा संशोधन प्रस्ताव र चुनावी प्रक्रिया सँगसँगै अघि बढाउने सरकारको प्रस्तावलाई मोर्चाले अस्वीकार गर्दै आन्दोलनको चेतावनी दिएको छ।

बिहान पौने ११ बजेदेखि २ घण्टा चलेको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउँदै लैजाऔं चुनावको प्रक्रिया पनि अगाडि बढाउने प्रस्ताव गरेका थिए। उनले संविधान संशोधन विधेयक अगाडि बढाउँदा एमालेले बाधक बन्दिन भनेको र संशोधनपछि मात्र चुनावको तयारी गर्दा ढिलो हुने भएकाले सँगसँगै अघि बढाउन प्रस्ताव गरेका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बताए।

तर मधेसी मोर्चाले भने संशोधन विधेयक पारित नगरी निर्वाचनको घोषणा गरे आन्दोलनमा जाने चेतावनी दिएको छ। मधेसी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले पहिले संशोधन विधेयक पारित गरेर मात्र चुनावमा जानुपर्ने अडान लिए।

चुनावको मिति घोषणा गर्नुअघि मधेसी मोर्चासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले मोर्चाको असहमतिपछि चुनाव घोषणा गर्ने वा नगर्ने अन्यौल बढेको छ। आइतबार बस्ने मन्त्रिपरिषद बैठकबाट चुनाव घोषणा गर्ने सरकारको तयारी छ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको संरचना नै प्रष्ट नभएकाले अहिले चुनाव गर्छु भन्नु मुलुकलाई द्वन्द्वमा लैजान खोज्नुमात्र भएको बताए। बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै यादवले 'स्थानीय तहको निर्वाचन केन्द्रले तोक्ने प्रचलन संघीयताको विपरीत हो र यसरी निर्वाचन घोषणा गर्ने हो भने मुलुक द्वन्द्वतिर जान्छ।'

बैठकपछि आक्रोशित देखिएका उनले नेपालको राजनीतिमा संघीयता र गणतन्त्र पक्षधर र संघीयता र गणतन्त्र विरोधीमा ध्रुवीकरण हुने सम्भावना देखिएको दावी गरे। बैठकमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, कांग्रेस महामन्त्री डा. शशांक कोइराला लगायत सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.