२८ दिनमा उठ्यो २१ करोड २५ लाख

|

पर्सा : वीरगञ्ज महानगरपालिकाको चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्य नजिक पुगेको छ। कोरोना महामारीको लकडाउनको कारण तीन महिना सेवा प्रवाह रोकिए पनि राजस्व संकलनमा त्यसले खासै असर पु¥याएको छैन।

राजस्व संकलन लक्ष्य भेट्टाउन मध्यम वर्गीय करदाता ठूलो साथ रहेको छ। ठूला करदाताहरुको साथ उति नपाएको वीरगन्ज महानगरपालिकाले जनाएको छ। मध्यम वर्गीय करदाताको साथले असार १ देखि २८ सम्म २१ करोड २५ लाख राजस्व संकलन भएको छ। चालु आर्थिक वर्षको बाँकी तीन दिन पनि राजस्व बुझाउने करदाताहरुको महानगरमा गएका २८ दिन झैं चाप रहे लक्ष्य भेटिने देखिन्छ।

महानगरपालिका राजस्व व्यवस्थापन महाशाखाका प्रमुख राम दयाल यादवले भने, ‘लक्ष्यको करिब आधा जति राजस्व त गएका २८ दिनमा संकलन भएछ।’ चैतमा लकडाउन सुरु हुनु पूर्व जम्मा २४ करोड ६० लाख मात्र राजस्व संकलन भएको थियो। तर, लकडाउन खुकुलो भए यता २८ दिनमा संकलन भएको राजस्वको मद्दतले लक्ष्य नजिक पुगेको यादवले बताए।

लक्ष्य भेट्न दुई करोड ८१ लाख बाँकी 

आन्तरिक राजस्व संकलनतर्फ आर्थिक वर्ष २०७६÷७७ का लागि वीरगन्ज महानगरपालिकाले कुल ४८ करोड ६६ लाखको लक्ष्य लिएको थियो। कोरोना महामारीले चैत ११ देखि जेठभरि सेवा प्रवाह ठप्प रह्यो। लकडाउन खुकुलो भए यता संकलन भएको राजस्वले अब लक्ष्य भेट्न दुई करोड ८१ लाख रुपैयाँ मात्र बाँकी छ। 

लकडाउन खुकुलो भएपछि नियमित करदाताहरु राजस्व बुझाउन महानगरमा आइपुगेका छन्। उनीहरुको काम चाँडो सक्न कर्मचारीलाई हम्मेहम्मे परेको यादव बताउँछन्। कोरोनाबाट बच्न र बचाउन दूरी कायम गर्ने कुरामा सेवाग्राही एकै पटक धेरै आउँदा नगरप्रहरीलाई पनि निकै चुनौती थपिएको छ।

घर जग्गा रजिष्ट्रेशनबाट बढी योगदान

राजस्व संकलनमा सबैभन्दा बढी घर जग्गा रजिष्ट्रेसनको योगदान रहेको छ। घर जग्गा रजिष्ट्रेशनबाट मात्र १६ करोड ३५ लाख ६४ हजार ९८७ रुपैयाँ राजस्व संकलन भएको छ। त्यसपछि सम्पत्ति करतर्फ नौ करोड ७१ लख १७ हजार ९४६ छ । नक्सापास दस्तुर दुई करोड ७८ लाख ९९ हजार ५१, व्यवसाय रिजष्ट्रेशन दस्तुर एक करोड ९० लाख, अन्य सेवातर्फ एक करोड २७ लाख ५० हजार ७९० गरी विभिन्न शीर्षकमा राजश्व संकलन भएको छ।

ठूला करदाता अटेर, उठेन बक्यौता  

महानगरपालिका अन्तर्गतका सरकारी स्वामित्वका संस्थान र ठूला निजी कम्पनी (विग हाउस)को वक्यौता रकम खासै उठेको छैन। साविकमा झैं यो आर्थिक वर्षमा पनि त्यस्ता संस्थाहरुले बक्यौता रकम बुझाएका छैनन्। बिग हाउस कम्पनीहरुले पनि सम्पत्ति कर पनि खासौ नतिरेको महानगरपालिकाले जनाएको छ। 
 
बिग हाउसका सञ्चालकहरु भने लकडाउन देखाएर सरकारलाई गलाई विभिन्न सुविधा लिएर मात्र कर बुझाउने दाउमा रहेको महानगरपालिकाका कर्मचारीहरु बताउँछन्। बिग हाउस भनिएका निजी संस्था र सरकारी स्वामित्वका संस्थाहरुलाई बारम्बार ताकेता गर्दा समेत वास्ता गरेका छैनन्। 

त्यस्ता करदाताहरुमा विद्युत प्राधिकरणको मात्र नौ करोड ५४ लाख, कृषि सामग्री कम्पनी लिमिटेडको पाँच करोड ११ लाख, नेशनल मेडिकल कलेजको दुई वर्षदेखिको दुई करोडभन्दा बढी, सुरज हाउजिङको ५० लाख र अरु पनि ठूला निजी उद्योग तथा व्यापारिक प्रतिष्ठान बक्यौता नतिर्नेमा रहेको वीरगन्ज महानगरपालिकाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.