|

ओखलढुङ्गा : कोरोना संक्रमणका कारण लिखु गाउँपालिकाको एक गाउँ सिल गरिएको छ। वडा नम्बर २ को कुवापानीको विशंखे टोल सिल गरिएको हो।

असार २६ मा कोरोना संक्रमण पुष्टि भएका ७२ वर्षीय क्यान्सरपीडित वृद्धलाई थप उपचारका लागि अन्यत्र पठाउन समस्या भएकाले २५ घरधुरी सिल गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिनानाथ चौधरीले जानकारी दिए। क्यान्सरका कारण अवस्था चिन्ताजनक भएपछि काठमाडौंबाट उपचार गराएर गाउँ फर्किएका वृद्धलाई कोरोना पेजेटिभ भएपछि उनलाई उपचारका लागि अन्यत्र पठाउन नसकिएको चौधरीले बताए।

ती वृद्धको काठमाडौंमै रहँदा स्बाव संकलन गरिएको थियो। उनी गाउँ फर्किसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भइसकेपछि संक्रमित वृद्धको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा गाउँका अरुले पनि उनीसँग भेटघाट गरेको पाइएकाले गाउँलाई नै क्वारेन्टाइन बनाएर सिल गर्नु परेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए। 

गाउँलाई सिल गरिएपछि आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ। सिल गरिएको गाउँमा नेपाल प्रहरी र लिखु गाउँपालिकाका नगर प्रहरीले सुरक्षा दिइरहेका छन्। सिल गरिएको विशंखेटोलभित्र करिब १०० जना रहेको वडा नम्बर २ का अध्यक्ष रामहरि बुढाथोकीले जानकारी दिए। 

आइतबार लिखु  गाउँपालिकाले सिल गरिएको गाउँमा राहत वितरण गरेको छ। बुढाथोकीका अनुसार ३० केजीका दरले एक बोरा चामल, दाल, तेल, नुन, चिनी लगायतका खाद्यसामग्री वितरण गरिएको छ। अवस्था चिन्ताजनक भएको भनिएका क्यान्सरपीडित वृद्धलाई कोरोना संक्रमण भएपछि जिल्ला कमाण्ड पोष्टले गाउँमै राख्ने निर्णय गरेको थियो। 

जिल्ला कमाण्ड पोष्टले सिल गरिएको क्षेत्रमा असार ३१ मा स्वाब संकलन गर्ने तयारी गरेएको छ।

लिखु गाउँपालिकामा हाल पाँचजना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये तीनजनाको ओखलढुंगा सदरमुकामस्थित ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। एकजना मोरङको गोठगाउँस्थित आइसोलेसनबाट कोरोना संक्रमण मुक्त भई घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.