नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा राष्ट्रियसभा गृहमा भएको त्यो महोत्सवमा जुन दृश्य देखिएको थियो, त्यसबाट मुग्ध नहुने कमै मानिस थिए। त्यस दिन नेपालमा भए जति कम्युनिष्ट सबै त्यही पार्टीमा गोलबन्द भएको, बाहिर अब कुनै कम्युनिष्ट बाँकी नरहेको घोषणा पनि गरियो। यो देशमा शासनको वागडोर सदा सदाकालागि यही पार्टीको जिम्मामा आएको पनि व्याख्या गरियो। त्यो कुम्भ मेलामा उपस्थिति जनाउन मारामार थियो मानिसहरुको।
कसैले सोच्दै नसोचेका दुई विपरीत दिशामा फर्किएका पार्टीलाई मिलाएर एउटा पार्टी बनाउने अद्भुत क्षमता भएका नेतृत्वको छेउमा मात्र पुग्न पनि ठुलै लडाईं जितेर आएको महशुस गर्दथे मानिस। नेताहरु माथि विगतमा लागेका आरोपहरुबाट उनीहरुले एकै धक्कामा उन्मुक्ति पाए जस्तो देखिन्थ्यो। उनीहरुका निधारमा विगतमा लागेका दाग धोएर सनक्कै सफा भए जस्तो भान हुन्थ्यो।
नेताहरुको भाषण सुन्दा त यो घटना उनीहरुको विश्व विजयको अभियान सुरु भएको हो कि जस्तो लाग्दथ्यो। विश्व कम्युनिष्ट आन्दोलनले धक्का खाएको बेलामा नेपालमा यस्तो उभार आउनु आश्चर्यजनक परिघटना भएको व्याख्या नेताहरुबाट हुँदा त्यहाँ उपस्थित हुनेहरुले धरती छाडेर माथि माथि उडेको अनुभूत गरिरहेका थिए।
एउटा नेताले नेकपालाई विश्वकै सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी समेत भन्न भ्याएका थिए। आफ्नो पार्टी सदस्यको संख्या भन्दा सयौं गुना धेरै चीन कम्युनिष्ट पार्टीको छ भन्ने समेत उनले बिर्सिन पुगे छन्।
एक जना वरिष्ठ नेताले पार्टीमा दुई अध्यक्षको व्यवस्थालाई “हामी अब टेम्पो चलाउने ड्राइभर हौं र हामी त जेट प्लेन उडाउने पाइलट हौं ” भनिरहँदा तालीको गड्गडाहट्ले झण्डै सभा भवन नै जुरुक्क उठ्ने होकि जस्तो भएको थियो। तर उनीहरुले त्यतीखेर गरेका उद्घोषले उनीहरु माथि नै आज उपहास गरिरहेको जस्तो देखिदैछ। कैयौं दशकसम्म यही पार्टीले राज्य संचालन गर्छ भनेर भविष्यवाणी गरेका थिए, नेताहरुले।
त्यतीमात्र होइन, एउटै पार्टीको सरकार बनेपछि नेपालमा स्थिरता र स्थायीत्वले जरो गाड्ने र यो संविधान र व्यवस्था युगौं युग सम्म कायम रहने भन्ने विश्वास व्यक्त गरिरहेका थिए। जुनकुरा उनीहरुले अहिले बिर्सिइसकेका छन्।
दुर्दशाको कारण
पाँचबर्षका लागि खुला निर्वाचनबाट जनादेश पाएको आधा समय बित्दा नबित्दै प्रधानमन्त्रीको राजीनामाको माग जबर्जस्त किसिमले आइसकेको छ। प्रतिपक्षबाट र जनताबाट मात्र भए पनि हुन्थ्यो सरकार संचालन र नेतृत्व गरिरहेको नेकपाकै शिर्ष नेतृत्व पंक्तीबाट यो माग बैठकमै आइरहेको छ।
पार्टीको शिर्ष नेतृत्व टिमले नै किन ओली समक्ष प्रधानमन्त्री र पार्टी अध्यक्षको पदबाट राजीनामाको माग गरिरहेको छ ? जिम्मेवार पार्टी कमिटीहरु – स्थायी समिति र सचिवालयका बहुमतबाट नै किन प्रधानमन्त्रीको पद त्याग्न मत जाहेर भैरहेको छ ? जेट प्लेनको पाइलट क्याप्टेन पद छाडि देउ भन्ने आवाज किन उठिरहेको छ, अर्को पाइलट बाटै ? यसको कारण के हो ? यो धेरैको चासोको विषय बनेको छ।
यसका कारण धेरै छन् र हुन सक्छन्। यसको व्याख्या यो छोटो आलेखमा सम्भव छैन तर यसका केही प्रमुख कारणबारे यहाँ चर्चा गरिने छ।
विवादको जरो एक – पार्टी एकताको आधारका विषयमा भएको गल्ती वा कमजोरी। यो पार्टी एकताको मुख्य एकताको आधार विचार, सिद्धान्त, नीति, कार्यदिशा, रणनीति आदिलाई बनाइएन। ती सबै कुरा एकता भैसकेपछि छलफल गरिने विषयका रुपमा छाडियो। मुख्य आधार बनाइयो संसदीय चुनावमा बहुमत ल्याउने, शासनको बागडोर हातमा लिने, पद, पैसा चाहिए जति आर्जन गर्ने र आगामी चुनाव पनि जित्दै जाने इत्यादि। प्रतिपक्षलाई अस्तित्व धान्नै नसक्ने गरि भित्तैमा पु-याइदिने। चुनाव जित्दा सम्म कुनै समस्या भएन अभुतपूर्व एकता नै देखियो।
झण्डै दुई तिहाई सीट जिते पछि त्यसले उनीहरुको दम्भ खपी नसक्ने गरी बढ्यो। जब शासन संचालन गर्ने, पद प्रतिष्ठा र धन सोहोर्ने बेला भयो, अनि शुरु भयो घमासान। यी सबै चिज मुख्य नेताहरु आफैंलाई,आफ्नै परिवारलाई र उनका नजिकका मानिसको हातमा सबै चाहिएको छ। त्यसैले, शुरु भएको यो घमासान अझै बढ्दै जानेछ।
पार्टी फुटको घोषणा अहिले नै होला वा नहोला भन्न सकिन्न तर यो किचलो कायमै रहन्छ। यसमा कसैले शंका नगरे हुन्छ।
विवादको जरो दुई – प्रधानमन्त्री र पार्टी अध्यक्ष को कति समय बन्ने भन्ने विषयमा कुनै जिम्मेवार पार्टी समितिले निर्णय शुरुमा नगर्नुले समस्या ल्याएको हो।
पार्टी फुट्ने हो कि होइन भन्ने विषयको मुख्य आधार २०७५ साल जेठ २ गतेको संझौता र मंसिर ४ गतेको संझौतालाई बनाउने गरिएको छ। प्रचण्डले जेठ २ गतेको सम्झौताका आधारमा प्रधानमन्त्री आलोपालो गर्ने भनेका छन् भने ओलीले मंसिर ४ गतेको सम्झौताका आधारमा आफुले प्रधानमन्त्री ५ वर्ष सम्म चलाउने दावी गरेका छन्। तर, विचित्रको कुरा के हो भने ती दुबै सम्झौता कुर्नै आधारभुत पार्टी कमिटीमा छलफल नै भएको देखिदैन।
अनि त यस्तो खिचलो किन नहोस् ? यो विषयमा कतिपय सचिवालयका नेता पनि अनविज्ञ छन्। त्यो संझौता केवल प्रचण्ड र ओलीका बीचमा मात्र भएको छ। अहिले यो उनीहरुको निजी सम्झौता र स्वार्थ नेकपाका कार्यकर्ताको समुहिक चिन्ताको बिषय बनेको छ। के यो पार्टीलाई व्यक्तीको नीजी जिम्दारी बनाएको भएन र ?
विवादको जरो तीन –
जो कसैसँग वार्ता गर्ने भन्ने पार्टीको जिम्मेवारी भएकाले पार्टीको कुनै कमिटीलाई नै यसको जिम्मेवारी दिइने सामान्य नियम हो। तर, यसैपाली ओलीले प्रधानमन्त्रीबाट र पार्टी अध्यक्षबाट पनि राजीनामा दिनु पर्ने कि नपर्ने ? भन्ने विषयको टुंगो लगाउने पनि उनै ओली र प्रचण्डले, छोड्ने र पाउनेको वार्ता टोलीले टुंगो लगाउने ! पार्टीको कुनै पनि कमिटीको भूमिका नै छैन। नेकपा त यस्तो पार्टी बनेको रहेछ। ओली र प्रचण्डको मर्जीमा बाँच्ने र मर्जीमा सिद्धिने रहेछ। उनीहरुकै मर्जिमा फुट्ने वा जुट्ने रहेछ। आठ लाख पार्टी सदस्य भएको भनेर दावी गरिएको पार्टी यती निरीह होला जस्तो सायद मानिसहरुले कल्पना गरेका थिएनन् होला ?
विवादका सकारात्मक कुराहरु
राजनीतिक बिषय- नेकपा भित्र अहिले जुन अन्तर्संघर्ष चलिरहेको छ, त्यसमा निर्णायक विषय नभए पनि राजनीतिक विषय पनि सामेल छ यो एउटा सकारात्मक कुरा हो। त्यो विषय हो एम् सी सी संझौता। यसरी राजनीतिक विषयमा अन्तर्संघर्ष हुनु नराम्रो कुरा होइन, राम्रो कुरा हो। साँच्चै भन्ने हो भने यसले त नेकपाको इज्जत र प्रतिष्ठा नै बढाएको छ। अन्यथा अरु कसैलाई चासो नै नभएको फगत आन्तरिक झगडा र खिचलोको रुपमा यसलाई लिइने थियो।
यसमा के देखिएको छ भने ओलीजीले नेतृत्वको सरकार, ओलीजीलाई समर्थन गर्ने नेता, कार्यकर्ताहरु एम् सी सी संझौतालाई जस्ताको तस्तै संसदबाट चाँडो भन्दा चाँडो अनुमोदन गरिनु पर्छ भन्ने पक्षमा देखिएका छन् भने अन्य सबै नेता र कार्यकर्ता एम् सी सी संझौता यसै अवस्थामा पारित गर्नु हुँदैन भन्ने पक्षमा उभिएका छन्। यो राम्रो पक्ष हो। राष्ट्रिय स्वाधीनता सम्वन्धी यस्तो गम्भीर विषयमा त अझ एकमत भएको राम्रो हुने थियो।
गुट समात्ने प्रवत्ति कम -नेकपाको अन्तर्संघर्षमा राम्रो पक्ष पनि देखा परेको छ। चाहै त्यो एम् सी सी सम्झौताका विषयमा होस् चाहे अन्य विषयमा त्यहाँ पूर्व गुटमा फर्कने प्रवृत्ती कम देखा परेको छ।
चाहे त्यो केन्द्रीय समितिमा होस् चाहे, स्थायी समिति वा सचिवालय सबै तिर नेताहरुले आफ्नो पूर्व गुटतिर फर्कने काम कम गरेको पाइएको छ। पूर्व एमाले एकातिर, पूर्व माओवादी केन्द्र अर्कातिर को स्थिति देखापरेको छैन। छ्यासमिस् भएको छ। यसले वास्तवमा त्यहाँ भित्र एक किसिमको ध्रुविकरण पैदा हुने सम्भावना देखापरेको छ। यसलाई सकारात्मक रुपमा लिनु पर्छ।
स्वाभाविक अन्तर्संघर्ष- पार्टी भित्र अन्तर्संघर्ष हुनु नराम्रो कुरा होइन, राम्रो कुरा हो। माओले त “पार्टी आफैं एउटा अन्तर्विरोध हो” भन्नु भएको छ। अन्तर्संघर्षको वैज्ञानिक पद्धति एकता–संघर्ष–रुपान्तरण हो। तर कतिपय अवस्थामा अन्तर्संघर्षका दौरान मिल्दै नमिल्ने पक्ष देखा पर्ने अवस्था सिर्जना हुन सक्छ। मिल्दै नमिल्ने प्रवृत्तीलाई पनि मिलाएकै हुनुपर्छ भन्ने बल गरेर पनि काम लाग्दैन। त्यस्तो अवस्थामा भने त्यसले फुट सम्म पनि पु-याउन सक्छ।
संसारमा फुट नब्यहोरेको कुनै पार्टी, कुनै आन्दोलन नै पाइँदैन। संसारका सबै पार्टी एकता र फुटका बीचबाट नै अघि बढेका हुन्छन्। तर नेकपामा फुटलाई फोबिया वा आतंकका रुपमा बुझ्ने र बुझाउने गरिन्छ। यही स्थिति देखा प-यो भने फुटको धम्की दिएर भएपनि दोहन गर्ने र नीतिलाई नै प्रभावित गर्ने संभावना छ। नेकपामा भएको कलहमा यसले धेरै ठुलो भूमिका खेल्ने देखिन्छ।
फुट र एकताको द्वन्द्ववाद के हो भने गलत पक्षसँग फुट नभैकन सहि पक्षसँग एकता नै हुँदैन। नेकपाका नेता, कार्यकर्तामा फूटबाट आवश्यकता भन्दा बढी डराउने र फोबियाको शिकार हुनु एउटा कमजोरीका रुपमा देखिएको छ। यसको कारण नेकपाका नेता वा कार्यकर्ताको राज्यको ढिकुटी वा साधनहरुको अत्यधिक उपयोग गर्ने बानी परेकाले यो मोज, मस्ती, सुविधा, हैकम खोसिने चिन्ताले पनि काम गरेको हुन सक्छ। यस्ता चिजलाई, नीजी फाइदालाई केन्द्रमा राखेर संघर्षका कुरा गर्नुको कुनै तुक रहँदैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।