|

बारा (सिमरा) : नदी उत्खनन् र राजस्व हिनामिनाका विषयमा समाचार लेखेको भन्दै थाहा खबरकी बारा (सिमरा) संवाददाता शारदा पोखरेललाई श्रेष्ठ बिल्डर्सका सञ्चालक लाल श्रेष्ठले धम्क्याउँदै दुर्व्यवहार गरेका छन्‌। 

जितपुर सिमरा उपमहानगरको राजस्व हिनामिना, ठेकदारको घाटगद्दी शिल गर्न प्रहरी परिचालन शीर्षकको समाचार लेखेपछि थाहाकर्मी पोखरेललाई श्रेष्ठले आगामी दिनमा नदिजन्य उत्खननको समाचार नलेख्न धम्की दिएका हुन्‌।

​ठेकदार श्रेष्ठले माघ मसान्तभित्र बुझाउनुपर्ने नदिजन्य उत्खननको दोस्रो किस्ताको सवा करोड राजस्व रकम बाउन्स चेक बुझाएर नगरपालिकालाई झुक्याएका थिए। पोखरेलले पसाहा, बालगंगा र दुधौर नदी उत्खनन्‌ गरिरहेका ठेकेदारले पनि चैत मसान्तमा बुझाउनुपर्ने झण्डै ५ करोड रकम नबुझाएको समाचार लेखेकी थिइन्‌।

पत्रकारलाई पोखरेलमाथि दुर्व्यवहार भएको घटनाप्रति ​नेपाल पत्रकार महासंघ बारा जिल्ला शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ। ‘नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएको छलफलमा गुण्डागर्दी शैलीमा ठेकदार श्रेष्ठले महिला सञ्चारकर्मीमाथि यस किसिमको दुर्व्यवहार र गालीगलौज गर्नु प्रेस स्वतन्त्रता विरोधी काम हो, सञ्चारकर्मी पोखरेलमाथि भएको दुर्व्यवहारको कडा शब्दमा भर्त्सना गर्दछ,’ महासंघको विज्ञप्तिमा उल्लेख छ।

महासंघले घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन तथा यस्ता अराजक गतिविधि नियन्त्रणमा कडा कदम चाली पत्रकारलाई सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन सम्वन्धित निकायसँग माग गरेको छ। 

बारामा नदिजन्य निर्माण सामग्री उत्खनन् गरिरहेका ठेकेदारहरूले प्रारम्भिक र  विस्तृत वातावरणीय प्रभाव मुल्यांकन विपरित जथाभावी उत्खनन् गरिरहेका छन्‌। उनीहरूले राजस्वबापत बुझाउनुपर्ने करोडौं रकम बुझाउन समेत आलटाल गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.